कीराले धान सुक्यो, किसानको मन फुट्यो

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १७ : ५५
कीराले धान सुक्यो, किसानको मन फुट्यो

फाइल फोटो

चितवन । पसाउने बेलाको धानबालीमा कीरा लागेपछि यतिबेला चितवनका किसानलाई पर्नुसम्मको पिर परेको छ । पहिले धानमा हाल्ने मल नपाउँदा पिर, अहिले कीरा र रोगको पिर । एकातिर लगातारको बाढी, अर्कोतिर मल अभाव, पसाउने बेलाको धानमा कीराको प्रकोप बढेपछि किसानको मन यतिबेला कुँडिएको छ । 

‘रोप्नेबित्तिकै धानलाई बाढीले लता¥यो, लतारेको धान बल्लबल्ल उठेको थियो, पर्याप्त मल पाएन । मलको अभाव भएपछि हरियो भएको थियो, अहिले कीरा लागेर सुकाइदिएको छ’ भरतपुर महानगरपालिका ६ का किसान कृष्णप्रसाद दाहालले भने, ‘किसानलाई जति पिर यो वर्ष कसलाई पो छ र ? आफू बाँचेर अर्कालाई बचाउने किसानल आफैँ बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । कीराले धान सोत्तर पारेको छ ।’ 

उनका अनुसार धानमा फड्के कीरा, धोर्के कीरा, सेतो कीरालगायतको प्रकोप बढेको छ । जसले गर्दा धान खेतमै सुकेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले चितवनमा जताततै कीराको प्रकोप रहेको बताउँछन् । उनी भन्छन्, ‘चितवनका सातै पालिकाको धानमा कीराको प्रकोप छ, धान सुकेको छ ।’

चितवनका फाँटहरूमा यतिखेर धानमा बाला लाग्ने बेला भएको छ । पसाउने बेलाको धानमा गबारो, फड्के र धोक्रे कीराले सोत्तर पारेको ढकाल बताउँछन् । कीराको प्रकोपले  बालामा अन्न नलाग्नेदेखि बोट कुहिने, पात सुक्ने, बोट मर्ने, नबढ्ने, नपसाउनेजस्ता समस्या देखिन्छन् । धान बालीमा देखिएका कीरा, रोग किसानका लागि नयाँ भने होइनन् । तर यसपालि विगतमा भन्दा बढी क्षति हुन थालेपछि किसानमा पिर थपिएको छ । ढकालका अनुसार चितवनका धान बालीमा गबारोको प्रकोप बढी छ, फड्के कीरा छ, सेतो झिँगो छ ।

प्रधनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले किसानहरुले जसोतसो मल त धानमा पु¥याएको तर कीराले नोक्सान गरेको बताउँछन् । अत्याधिक वर्षाका कारण खेतमा पानी जम्ने र तत्कालै घाम लागिहाल्दा तातो बढी हुने भएका कारण कीराहरूको प्रकोप बढेको उनी बताउँछन् ।  

‘जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको धानमा यसपालि गबारोले क्षति पु¥याएको छ’, उनले भने, ‘गबारोजतिकै क्षति पु¥याउनेमा अरु कीराहरु पनि छन् । यस वर्ष किसान समस्यैसमस्यामा परेका छन् । एकातिर समयमै मल आएन, अर्कोतिर बाढीले सतायो, अहिले कीराले सतायो ।’

चितवनमा गत वर्ष २७ हजार ४४५ हेक्टर जमिनमा प्रति हेक्टर ३.८१ प्रतिशत धान उत्पादन भएको थियो ।  कृषि ज्ञान केन्द्रका अनुसार यस पटक चितवनमा तरकारी छाडेर धान रोपिएको क्षेत्र २०० हेक्टरभन्दा बढी छ । 

कुन कीरा कस्ता ? कसरी क्षति गर्छन् ?

१. फड्के कीरा   
यी कीराहरु खैरा हरिया पिठ्युँ भएका हुन्छन् । यस्ता किराहरु फुत्तफुत्त उफ्रिने खालका हुन्छन् । यी किराहरुले करिब १२४ वटा अन्डाका थुप्राहरु बनाउँछ र हरेक थुप्रोमा २०११ वटा अन्डाहरु हुन्छन् । अन्डा लाम्चो हुन्छ र त्यस्मा २ वटा कालो थोप्लो पनि हुन्छ ।

यसले पात चुसेर खान्छ जसको कारणले धानको बिरुवा सुकेर मर्दछन् । बिरुवाहरु गाँजिन र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई सुकेर ढल्छ ।

२. गवारो   
यी कीराहरु वयस्क अवस्थामा विभिन्न आकारका पुतली जस्ता देखिन्छन् । भाले जाती भन्द पोथी थोरै ठुलो हुन्छ र पखेटामा भएको कालो धब्बाले पोथी जाती जनाउँछ । यसका फुलहरु खैरा मसिना झुसहरुले ढाकिएका हुन्छन् ।

विरुवाको कलिलो अवस्थामा क्षति पुराएको खन्डमा मृत गावा देखिन्छन्। यदि फूल फुल्ने अवस्थामा आक्रमण भएमा सेतो वाला देखिन्छन् । यस्तो अवस्थामा वालामा दाना लाग्दैन ।

३. पतेरो (गन्धी किरा)
त्रिकोण आकारको टाउको भएको यो किरा लामो खुट्टा भएको अनि समात्दा नराम्रो गन्ध छोडने खालका हुन्छन् । यो वयस्क अवस्थामा खैरोमा हरियो मिसिएको हुन्छ । पातमा बढी आक्रमण भएमा वोट नै पहेँलिने हुन्छ । यसले धानको दाना बाट रस चुस्ने भएकाले दानामा खैरो दाग देखिन्छ र खाली पैयाहरु मात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस