कैलाली । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भीड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् ।
सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानीका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । कैलाली मालपोतमा पनि एक जना कर्मचारी संक्रमित भएका छन् ।
मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन् । असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भीड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि कैलाली मालपोत त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।
सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आंकलन भइरहेपनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्राण भन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन् ।
मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत स्यानिटाइजर कै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् ।
कार्यालयका एक जनामा संक्रमण देखिएपछि तीन दिन कार्यालय शिल गरेका कारण पनि सेवाग्राहीको भिडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए । भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख केसीले बताए ।
अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको लागी सेवाग्राही आउने गरेका छन् । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ । कोरोना महामारीको संक्रमण बढीहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ ।
संक्रमण जोखिम कम गर्न सेवादिने कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवाग्राहीलाई समेत त्यसको पालना गर्न सचेत बनाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ असोज २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन