अबुजा । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो ।
हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताए ।
उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् । घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए ।
अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिए । हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारबालाहरूले बताएका छन् ।
हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाडै नियन्त्रण हुने अपेक्षा गरिएको बताएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस