कर्फ्यूबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरू

रासस

शुक्रबार, १९ भदौ २०७७, १४ : ३३
कर्फ्यूबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरू

ललितपुर । ललितपुरमा रातो मच्छिन्द्रनाथको क्षमापूजा सुरू भएको छ । महानगरमा लगाइएको कर्फ्यूबीच आज शुक्रबार क्षमापूजा सुरु भएको हो ।

निशेधाज्ञा तोड्दै रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । त्यही बैठकले सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

कार्यदलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ । त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ । सम्भवत ः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ । त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ ।

यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ । मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन । त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन । जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन ।

बुंगद्यलाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको स्थानीय बताउँछन् ।

हिजो बिहीबार जात्रा सञ्चालन गर्ने नाममा धार्मिक सद्भावमा खलल पुर्‍याउने, स्थानीयको भावनामा चोट पुर्‍याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने काम भएको भन्दै सम्भावित खतरा रोक्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस