– रमेश प्रभात
वीरगञ्जको मारवाडी समुदायका हालसम्मका एकमात्र स्रष्टा गणेशप्रसाद लाठ (२०२२) नेपाली साहित्यका गद्य विधाअन्तर्गत उपन्यास र कथामा सफलतापूर्वक कलम चलाउने स्रष्टा हुन् । कृतिगत रूपमा हालसम्म यिनका अनुराधा भवन उपन्यास (२०७१), छमिया कथासङ्ग्रह (२०७४) र अघटित उपन्यास (२०७६) प्रकाशित भएका छन् । पेसाले उद्योगपति भएर पनि यिनले नेपाली साहित्यमा राम्रो उपस्थिति जनाएका छन् । सबैभन्दा पछिल्लोचोटि मञ्जरी प्रकाशनबाट प्रकाशित यिनको दोस्रो उपन्यास अघटितलाई उनी स्वयम्ले व्यङ्ग्य उपन्यास भनेका छन् । नेपाली समाज भएका र हुनेगरेका सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, नैतिकजस्ता विविध पक्षको व्यङ्ग्य गर्नुमा यो उपन्यासको ध्यान गएको छ ।
व्यङ्ग्यसम्बन्धी अवधारणा
जब कुनै एक व्यक्तिलाई अर्को व्यक्तिसँग रीस उठ्छ, तब उसले एक्लै हुँदा गाली गर्छ भने भेटेको खण्डमा झगडा गर्छ । यस्तै सत्ता वा शक्तिसँग रीस उठेको खण्डमा विरोध, विद्रोह वा आन्दोलन हुन्छ । यस्तो विरोध प्रत्यक्ष खालको हुन्छ । साहित्यमा त्यस्तो विरोध परोक्ष रूपमा आउँछ । साहित्यमा प्रयोग हुने त्यस्तो विरोधलाई व्यङ्ग्यका नामले पनि चिनिन्छ । यसरी साहित्यमा प्रयोग हुने व्यङ्ग्य सार्वजनीन खालको हुन्छ । कतिपय अवस्थामा जसलाई व्यङ्ग्य गरिएको हो, उसले पनि आनन्द मानेर उक्त साहित्य पढ्छ वा सुन्छ । पढिसकेपछि वा सुनिसकेपछि ऊ झल्याँस्स हुन्छ र थाहा पाउँछ, यो त मलाई पो भनिएको हो । साहित्यका अन्य विधाजस्तै व्यङ्ग्य छुट्टै विधा नभएर यो गद्य र पद्यका विभिन्न भेदमा मिसिएर आउँछ । साहित्यमा चित्रित व्यङ्ग्यको अध्ययन गर्नका लागि विशिष्ट उपकरणको विकास भएको छैन । यसर्थ अघटित उपन्यासमा चित्रित व्यङ्ग्यको अध्ययनका लागि उपन्यासका कथानक, चरित्र, परिवेश, भाषाशैलीजस्ता प्रमुख तŒवलाई हेरेर विश्लेषण गर्नु उपयुक्त देखिन्छ ।
‘अघटित’ मा व्यङ्ग्य
उपन्यास आख्यान विधाअन्तर्गतको लामो खालको विधा हो । यसले एउटा सिङ्गो जीवनलाई चित्रण गर्न सक्छ । यसमा एक वा एकभन्दा बढी पात्रले विकसित हुने अवसर पाउँछ । उपन्यासलाई विभिन्न तरिकाले समीक्षा गर्न सकिन्छ । उपन्यासमा चित्रित व्यङ्ग्यको अध्ययन गर्नका लागि विशिष्ट उपकरणको विकास नभएकाले यहाँ उपन्यासका प्रमुख तŒव कथानक, चरित्र, परिवेश, भाषाशैलीलाई हेरेर विश्लेषण गरिएको छ । यहाँ अघटित उपन्यासमा प्रयुक्त व्यङ्ग्यलाई निम्न उपशीर्षकमा समीक्षा गरिएको छ :
कथानक
‘अघटित’ उपन्यासमा नेपाली समाजमा हुँदै गएको धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक विचलनलाई एउटै आधारमा समेटेर प्रस्तुत गरिएको छ । यसको कथानक रैखिक ढाँचामा अगाडि बढेको भए पनि बीच–बीचमा नेपाल, सुरिनाम, नेदरल्याण्डजस्ता स्थान एकाएक देखापरेको छ । यसको प्रारम्भमा अम्बानीको प्रसङ्गलाई पुुष्टि गर्न खोजिएको भए पनि पछाडि गएर उसलाई छायामा पारेर गुरुदेव अर्थात् मर्यादा पुरुषोत्तमलाई अग्रभाग ल्याइएको छ । त्यस्तै गरी अन्तमा मात्मालाई नायक बनाएर कथाको अन्त्य गरिएको छ ।
यस उपन्यासको कथानकमा प्रयुक्त धर्म–संस्कृतिसम्बन्धी व्यङ्ग्यको एउटा नमुना हेरौँ :
कुन सनातन धर्मको कुरो गर्नुभयो हजुरले ? उपल्लो जात र तल्लो जात भनेर भेदभाव गर्ने धर्म ? असल आमा–बालाई लत्याउँदै हिँड्ने र चारखुट्टे पशुलाई आमा मानेर खुट्टा ढोग्ने संस्कृति ? अनि मान्छेको मलमूत्र छुन पनि घिन लाग्ने, तर जन्तुको मलमूत्रलाई शुद्ध र साŒिवक मान्दै घरको आगनमा लेपन गर्ने परम्परा ? छ्या ।” (अघटित, पृ. २०१)
लेखक नेपाली समाजमा विभिन्न निहुँमा फैलिँदै गएको अन्तर्राष्ट्रियकरणप्रति चिन्तित देखिन्छन् । यसलाई उनले व्यङ्ग्यात्मक रूपमा यसरी प्रस्तुत गरेका छन् ः
“तिमीहरूले पसल थाप्न पाउँदैनौ भनेर यी आयातित सम्प्रदायका अगुवाहरूलनई कुन मुखले भनूँ म ? खुलेर कुरो गर्ने हो भने यिनीहरू बडो उदारमना छन् । गत चुनावमा हाम्रो पार्टीलाई नोट र भोट दुबैमा सघाएका थिए । अन्तर्राष्ट्रिय मञ्चमा समेत हामीलाई स्थापित गराउने उनीहरू नै हुन् । बरु हजुर पनि उनीहरूलाई सघाउनुहोस् ।” (अघटित, पृ. २०३)
राजनीति देश सुधारका लागि हुनुपर्नेमा यसको विपरीत देशभित्र फैलिँदै गएको राजनैतिक बेथितिलाई निशाना बनाउँदै लेखकले कथानकमा यसरी व्यङ्ग्य पस्केका छन् :
“देशका लिडर लिडर भए । नेता अभिनेता भए । र, अभिनेता भए नेता । राजनीतिज्ञ लागे व्यापारमा र व्यापारी लागे राजनीतिमा । समाज दुर्बल हुँदै गयो, व्यक्तिविशेष बलियो । ढुङ्गा देउता भए र स्वयमे मान्छे भए ढुङ्गा । यही बेथितिको सिकार भयो मेरो निर्दोष छोरो अम्बानी पनि ।” यति भनिसकेर ऊ हिक्कहिक्क गरी रुन थाल्यो । (अघटित, पृ. २०३)
देशभित्र शिक्षाजस्तो पवित्र कुरा पनि विकृत बन्दै गएको अवस्थाप्रति सचेत बन्दै यसबाट देशलाई मुक्त राख्न नसकिएको चिन्ता व्यक्त गर्दै लेखकले कथानकमा यस्तो व्यङ्ग्यको नमुना प्रस्तुत गरेका छन् ः
उता पान चपाउँदै एक जना स्थानीय बखान गर्दै थिए– “हिजो चिट चोरिएको आरोपमा थुप्रै बच्चाहरू समातिएका छन् । चिट चोर्न सघाउन आएका केही अभिभावकहरू पनि तात्तातै समातिएका रहेछन् । संयोगवस, समातिएकामध्ये एकजना त क्रान्तिकारी अभिभावक दलको जिल्ला सभापति नै परे । सरकारबाट ठूलै मूर्खतापूर्ण कार्य भएको भएको छ । किनकि चिट चोर्नु विद्यार्थीहरूको सार्वभौम अधिकार हो । आजदेखि हो र, परापूर्वकालदेखि चल्दै आएको अभ्यास हो भन्दै अभिभावकहरूले सरकारको दमनकारी नीतिका विरुद्ध कठोर आन्दोलन सुरु गरेका छन् । बच्चाहरू पनि जोसिएर ताण्डव नृत्य प्रदर्शनमा ओर्लिएका छन् ।” (अघटित, पृ. २८१)
भविष्यमा देश कतै अरुका हातमा पर्ने त हैन भन्ने चिन्तालाई लेखकले कथानकमा यसरी व्यङ्ग्यात्मक पाराले पस्केका छन् :
अम्बानीले प्रस्ट्यायो– “अचेल पशुपतिनाथ क्षेत्र व्यवस्थापनको जिम्मा ग्लोबल टेन्डरमा परेको कम्पनीलाई मात्र दिइन्छ । प्रत्येक वर्ष पारदर्शी पारामा टेन्डर आह्वान गरिन्छ । पारदर्शी पारामै छनौट गरिन्छ । गोलमाल हुने ठाउँ नै छैन ।” (अघटित, पृ. १९१)
देशमा वि.सं. २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धलाई प्रतीकात्मक रूपले चित्रण गर्दै नेपालमा वनविनाश तीब्र रूपमा भएको कुरालाई यसरी व्यङ्ग्य गरिएको छ :
हामी जङ्गलराजको घोर विरोधी हाँै, जङ्गलबाट केके हानि हुन्छ त्यसको अनुभव हामीसँग छ । राजनीति गर्नेहरू जङ्गल पसे भने देशको सर्वनाश हुने रहेछ भन्ने हाम्रो अनुभव सुरिनामका लागि पनि ग्राह्य हुनेछ । हेर्नोस्, त्यही भएर हामीले जङ्गल सफाया अभियान चलाएका छौँ । (अघटित, पृ. २८१)
नेपालका छिमेकी मुलुकहरूको सीमासम्बन्धी हेपाहा प्रवृत्ति र त्यसका विरुद्ध छिमेकीसँग नेपालले केही बोल्न नसकेको अवस्थालाई लेखकले यसरी व्यङ्ग्य गरेका छन् :
हामीले दक्षिण, पूर्व र पश्चिम सिमानामा भारत र उ्रत्तरमा चीन पाएका छौँ । तिम्रा तीनटै छिमेकीभन्दा जग्गा मिच्ने मामिलामा हाम्रा छिमेकी उदारवादी । जसले जति जग्गा मिच्ने मामिलामा उदारता देखायो, हामी उतिउति आभार प्रकट गर्छौँ । (अघटित, पृ. १८४)
यसरी प्रस्तुत ‘अघटित’ उपन्यासको कथानकमा मिसिएर विविध खालका व्यङ्ग्य यत्रतत्र घुलेको पाइन्छ । कथावस्तुलाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेकाले कथानकका कोणबाट यो उपन्यास व्यङ्ग्य उपन्यास बनेको छ ।
चरित्रचित्रण
पात्र वा चरित्रका दृष्टिले ‘अघटित’ उपन्यास बहुल चरित्र भएको उपन्यास हो । यसमा पुरुष पात्र बढी छ भने स्त्री पात्र केही कम छ । पात्रका नाममा पनि लेखकले व्यङ्ग्य मिसाएका छन् । पुरुषको नाम अम्बानी, कुटिलदेव, दयानन्द, कृपादेव, महात्माभक्त, पुण्यप्रसाद, स्वामी घण्टालदेव, मर्यादापुरुषोत्तम आदि राखेर उनीहरूका कर्तुतहरू देखाएर व्यङ्ग्य गरेका छन् । त्यस्तै मङ्गु, श्यामप्यारे, धमिराजस्ता सुन्दै हाँसो उठ्दो नाम राखे पनि व्यङ्ग्य गरेका छन् । त्यस्तै थोरै मात्र नारी पात्र भएको यो उपन्यासका केही नारी पात्र जस्तो मल्ली, जलेबी आदिका नामबाटै व्यङ्ग्य पस्कने काम लेखलके गरेका छन् ।
गरिबीमा जीवन बाँचेका मङ्गु र मल्लीको चरित्रचित्रण गर्दै लेखकले यसरी व्यङ्ग्य पस्कने काम गरेका छन् ः
विष्णुमती खोलाछेउमा जेनतेन ठड्याइएको टहरामा बस्थे उनीहरू । उदारमना टाठाबाठाहरूले जताततै विसर्जन गरेका बोतल, बोरा, बिर्को, बट्टा, कागज, कचौरा, प्लास्टिक, सिसा आदि इत्यादि टिपेर आफ्नो टहरासम्म ल्याउँथे । त्यहाँ उपलब्ध मगमग बास्नाको निःशुल्क लाभ लिँदै । (अघटित, पृ. १२)
पहिलो भेटमै आफ्ना सारा कुरा खोलेर बताउने नेपाली चरित्रका अम्बानीको चरित्रचित्रण गर्दै मनमा कुरा राख्न नसक्ने नेपाली प्रवृत्तिमाथि यसरी व्यङ्ग्य गरेका छन् ः
“कस्तो सोमत नभएको केटो, पहिलो भेटमै आन्द्राभुँडी खोतल्न खोज्दै छ, चिन्नु त जान्नु ।” मात्माले मनमनै अम्बानीलाई गाली ग¥यो । (अघटित, पृ. ११३)
हतारका बेला सबै कुरा बिर्सने नेपाली प्रवृत्तिको चित्रण गर्दै त्यसलाई सरकार ढल्न लागेको अवस्थासँग तुलना गरी मात्माका माध्यमबाट लेखकले यसरी व्यङ्ग्य गरेका छन् ः
हतारहतार ऊ बाहिर आयो, कम्मरमा गम्छा बेर्ने होस रहेन । उसको प्रतिष्ठा वित्ताभरको कछाडको भरोसामा जेनतेन टिकेको थियो । अल्पमतको एम्बुसमा परेर ढल्नै लागेको सत्तापक्ष पार्टीको प्रतिष्ठा ठ्याक्क कुनै एक निर्दलीय सांसदको भरोसामा जेनतेन टिकेको जस्तो । (अघटित, पृ. २९१)
यसरी प्रस्तुत ‘अघटित’ उपन्यासले चरित्रचित्रण यथेष्ट व्यङ्ग्य मिसाएको छ । चरित्रलाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेकाले चरित्रचित्रणका कोणबाट समेत यो उपन्यास व्यङ्ग्य उपन्यास बन्न पुगेको छ ।
परिवेशचित्रण
‘अघटित’ उपन्यास मूलतः नेपालको काठमाडौँ शहर परिवेश बनेर आएको छ भने अंशतः नेपालका धादिङ, पोखरा, निजगढजस्ता स्थान आएका छन् । नेपालबाहिरका भारतीय भूमि, थाइल्याण्ड, सिङ्गापुर, हङकङ, सुरिनाम, नेदरल्याण्डजस्ता देशका विभिन्न ठाउँहरूमा चित्रण गरिएका छन् । समय स्पष्ट नभए पनि करिब चार दशकको समय आएको कुरा वृद्ध अमन र उसको उन्तीस वर्षको छोरो मात्मालाई हेरेर भन्न सकिन्छ । यो उपन्यासले विगतलाई मात्र नभएर भविष्यलाई समेत व्यङ्ग्यात्मक रूपले चित्रण गरेको छ ।
बढ्दो शहरीकरणले फोहरको उत्पादन गर्ने गरेको र त्यसको असरस्वरूप काठमाडौँ शहरमा फोहरको डङ्गुर बढेको कुरालाई उपन्यासमा यसरी व्यङ्ग्य गरिएको छ ः
फोहोरको डुङ्गुरमा जताततै फालिएका शिशु तथा प्रौढहरूको युज एन्ड थ्रो कछाड, सेनेटरी पैड, युवाहरूले फालेका गर्भनिरोधक बैलुन, त्यस्तै भिन्नभिन्न चरित्र बोकेका काला, सेता, पहेँला, राता पोकापन्तराको सुरक्षा घेरामा एक कालो प्लास्टिकको थैलोभित्र गोरो नवजात शिशु भेटियो । (अघटित, पृ. १७)
देशमा विकास हुनुको सट्टा युवाजमातमा बढ्दो लागूपदार्थको दुव्र्यसनी बढ्दै गएको अवस्थाप्रति चिन्ता गर्दै लेखकले यस्तो व्व्यङ्ग्य गरेका छन् ः
बाहिर गेटनेर नै एकजना पाको मान्छे उभिएको थियो । ‘चरस, हसिस, मर्फिन– केही चाहियो भने भन्नुहोला है, एकदम ओरिजिनल, झकास माल छ मसँग ।’ बाटे छेक्दै ङिच्च हाँस्दै आफ्नो हाते झोलाति इङ्गित गर्दै मसिनो स्वरमा अवगत गरायो । (अघटित, पृ. १५०)
कामको खोजीमा देशका युवा विदेशिने र देशभित्र कामदार विदेशबाट आयात गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति लेखकले विमति राख्दै यस्तो व्यङ्ग्य गरेका छन् ः
“हरे ! अहिले नेपालमा भित्रिन मात्र पाएका छौ तिमीहरू । नेपालको गाडी विदेशीले चलाउन नपाउने नियम कडा भएर पो ड्राइभरको सिटमा नेपाली अनुहार देख्ने अवसर जु¥यो । अन्यथा गेटको गार्ड मात्र होइन, यहाँ घरमा कुचो लगाउने, खाना पकाउने, तरकारी बेच्ने, ज्यामे, सिकर्मी, डकर्मी, नकर्मी, कुकर्मी, अधर्मी– सबै छिमेकी मुलुकबाट आयात गर्नुपरेको छ हाम्लाई ।” (अघटित, पृ. १६५)
देश भविष्यमा कतै अन्तर्राष्ट्रिय आतङ्कवादको अखडा बन्ने त हैन भन्ने चिन्तालाई लेखकले यसरी व्यङ्ग्यात्मक रूपले चित्रण गरेका छन् :
कारण सोध्दा– “अन्तर्राष्ट्रिय आतङ्कवादी गिरोहका नामुद सदस्यहरू ठूलो मात्रामा विस्फोटक सामग्रीसहित नेपालमा भेला हुँदै छन्, छिमेकी राष्ट्रमा ठूलै रक्तपात मच्चाउने उनीहरूको योजना छ भनेर खुफिया रिर्पोट आएको छ, उसले चिन्तित स्वरमा भन्यो– “भोलि कुनै दुर्घटना घट्यो भने नेपालमाथि ठूलै अवगाल आइलाग्नेछ भनेर माथिका हाकिमहरू त झनै तनावमा छन् ।” (अघटित, पृ. २८४)
देशमा विस्फोटक रूपमा जनसङ्ख्या बढ्दै गएकोमा चिन्ता गर्दै भविष्यमा अझै भयावह स्थिति बन्न सक्ने कुराप्रति लेखकले यसरी व्यङ्ग्य गरेका छन् ः
“अँ हामी पनि उत्तरी सीमामै पर्छौ, तर दक्षिण अमेरिकाको होइन, दक्षिण एसियाको । सन्तान उत्पादनको मामिलामा हामी त तपाईंहरूभन्दा धेरै अगाडि भयौँ । कुल पाँच करोड जनसङ्ख्या भएको साह्रै पाको देश हो नेपाल– ऊर्जावान्, उदीयमान र उर्वर ।” यसो भन्दै मानकीले गर्वले नाक फुलाई । (अघटित, पृ. १८३)
यसरी प्रस्तुत ‘अघटित’ उपन्यासले परिवेशचित्रण यथेष्ट व्यङ्ग्य मिसाएको छ । यसको सबैभन्दा सशक्त पक्ष भनेको परिवेशचित्रण हो । परिवेशचित्रणलाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेकाले परिवेशचित्रणका कोणबाट समेत यो उपन्यास व्यङ्ग्य उपन्यास बन्न पुगेको छ ।
द्वन्द्व
द्वन्द्व आख्यानका लागि आवश्यक तŒव हो । यसले आख्यानलाई पठनीय बनाउँछ । यसका पनि मनोद्वन्द्व र बाह्यद्वन्द्व गरी दुई भेद हुन्छन् । अमनोद्वन्द्वभन्दा बाह्यद्वन्द्व बढी पाइन्छ । यसमा पाइने एउटा मनोद्वन्द्वलाई हेरौँ :
अमनमा अचेल एउटा असाध्यै राम्रो–नराम्रे बानी पलाएको छ । उनी कुन बेला सामान्य कुरालाई कटाक्ष गर्ने पारामा भनिदिन्छन्, ठेगान नै हुँदैन । अनि उनको कुरालाई अथ्र्याउन केहीबेरसम्म मगज खियाउनुपर्ने हुन्छ । (अघटित, पृ. ५७)
अमन र उसको छोरा मात्माका बीचमा भनाभन हुने गरेको कुरालाई उपन्यासमा मार्मिक रूपले चित्रण गरिएको छ । महात्मा गान्धकीको प्रसङ्गलाई लिएर उनीहरूका बीचमा चलेको व्यङ्ग्यात्मक संवादका कारण उत्पन्न बाह्यद्वन्द्वको एउटा नमुना हेरौँ :
मात्मा पनि के कम । ऊ बूढापाकजस्तो गम्भीर मुख बनाउँदै भन्थ्यो– “नेपालमा असाध्यै चिसो ठाउँ भएर होला पप्पा । बूढा मान्छे नाङ्गो जीउ लिएर नेपालमा कसरी घुम्न सक्थे ? सम्भव नै छैन नि । बरु सुरिनाम आउन सक्थे होलान् । वर्षैभरि तातो रहने ठाउँ ।” अनि कुकुर, बिरालो, गधा, सुँगुरजस्ता चौपायाहरूको नामले मात्माको अलङ्करण सुरु हुन्थ्यो । अनि मात्मा लुसुक्क हिँड्थ्यो त्यहाँबाट । (अघटित, पृ. ५७)
नेपालमा हुने गरेको गुटबन्दी साना–ठूला सबै खाले नागरिकमा पाइन्छ भन्ने कुरालाई यो उपन्यासले उतारेको छ । यस्ता गुटबन्दीले बाह्यद्वन्द्वको सिर्जना गर्छ भन्ने कुरालाई तलका उदाहरणहरूले प्रष्ट पारेको छ :
१. “यो हाम्रो राज्य हो, बाँच्नु छ भने हाम्रो गुटको अधीनमा बस्नुपर्छ, हाम्रो ग्याङको सदस्य बन्नुपर्छ । हामीले भनेजस्तै गनुपर्छ, आम्दमानीको आधा रकम सुरक्षा करबापत तिर्नुपर्छ । कतै उजुरीसुजुरी गर्न गइस् भने तेरो काम तमाम हुनेछ । यस क्षेत्रको प्रहरी इन्चार्ज हाम्रो मामाका सानिमाका नातिका साथी हुन्, बुझिस् ।” यस्तै धम्क्याउँदै फर्कन्थे उनीहरू । (अघटित, पृ. १०७)
२. केहीबेरसम्म दोहोरो भिडन्त चलिरह्यो । दुईतर्फी टाउको फुटाफुट र लुछालुछ व्यापकै भयो । रामे–श्यामेलाई अझै बाँधेर राख्न सम्भव भएन । उनीहरूलाई मुक्त गरियो । (अघटित, पृ. २०२)
प्रस्तुत ‘अघटित’ उपन्यास व्यङ्ग्य उपन्यास भएकाले यस्ता बाह्यद्वन्द्वको प्रस्तुति धेरै ठाउँमा पाइन्छ । यस्ता बाह्यद्वन्द्वको अधिक चित्रण भएकाले द्वन्द्वका कोणबाट पनि यो उपन्यास व्यङ्ग्यात्मक बनेको देखिन्छ ।
भाषाशैली
एउटा कृतिलाई अर्कोबाट पृथक् बनाउने काम भाषाशैलीले गर्छ । यस्तै पृथकता लिएको ‘अघटित’ उपन्यासको भाषाशैलीमा प्रशस्त व्यङ्ग्यको नमुना पाइन्छ । विगतको चित्रण गर्दै मङ्गु र मल्ली नामक एउटा गरिब परिवारको वर्णन गर्नका लागि लेखकले यस्तो भाषाको प्रयोग गरेका छन् :
निठुरी परमात्माको जङ्गे आदेश पाएर उनीहरूले गरिब प्रजातिका मनुष्यको जुनी धारण गरेर यस भवसंसारमा खुट्टा टेकेका थिए । झुट, लुट, कपट र फुटको शताब्दीमा जन्मिएर पनि साह्रै सोझासोझा अर्थात् मूर्ख दम्पती थिए तिनीहरू । (अघटित, पृ. ११)
त्यस्तै गरी लेखकले भविष्यको नेपालको कल्पना गर्दै त्यतिबेलाको नेपालमा परदेशमा मरेका व्यक्तिको लास बुझ्नका लागि समेत सरकारलाई एक हजार डलर ट्याक्स बुझाउनुपर्ने अवस्थाको चित्रण यस्तो व्यङ्ग्यात्मक रूपले गरेका छन् :
“यो कस्तो काउन्टर हो ?” मात्माले अचम्म मान्दै सोध्यो ।
“सुनौलो भविष्यको खोजीमा विदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सङ्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्हरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो ।” फिस्स हाँस्दै अम्बानीले जवाफ फर्कायो । उसको हाँसोमा अनौठो तिक्तता थियो । (अघटित, पृ. १४५)
उपन्यासकारले नयाँ नेपालमा व्यक्ति जे–जस्तो भए पनि प्रवृत्ति उस्तै हुनेगरेको कुरालाई यसरी व्यङ्ग्यग्यात्मक रूपले प्रस्तुत गरेका छन् :
कुनै सर्पले आफूलाई अजिङ्गरनाथ भनोस् वा नागराज । अथवा गोमनदेव नै किन नभनोस् । के फरक पर्छ श्र सबेका चालामाला उस्तै त हुन् । (अघटित, पृ. २७७)
त्यस्तै गरी लेखकले संवादमा पनि व्यङ्ग्यको छनक भरेका छन् । यसको नमुना हेरौँ :
“घाटामा चलेका जहाजलाई झन्झनै टाट पल्टिने गरी घाटा गराएर चलाउनु केको बठ्याइँ ? मेडल थाप्न नसक्ने तर सपिङ र घुमघाम मोजमस्ती गर्ने खेलाडीउपर कुन मुखले गौरव गर्नु ?” उसले थप्यो ।
“धत् ! कस्तो नबुझेको ! नाफा–नोक्सानजस्तो बहियात कुराका लागि मरिमेट्नु त छुच्चो व्यापारीको काम हो, मनका धनीहरूको होइन । नेपाली झन्डालाई विश्व आकाशमा चिनाउनुलाई गौरवशाली काम नभन्ने हो भने केलाई भन्ने त !” बूढाको तर्क सुनेर युवक जड भयो । (अघटित, पृ. १३५)
लेखकले उखान–टुक्कामा समेत नयाँपन भर्दै यसरी व्यङ्ग्य गरेका छन् :
स्कुलमा छँदा पढेको थिएँ– हरियो वन नेपालको धन । अचेल नयाँ नारा चलेको छ– चाहिएन पर्यावरण, मास वन कमाऊ धन । (अघटित, पृ. १८९)
व्यङग्यका साथमा कताकति हास्यको पनि प्रयोग उपन्यासकारले गरेका छन् । भोक लागेको अवस्थालाई उनले नेपालका संसदीय बैठकसँग तुलना गर्दै हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा यसरी प्रस्तुत गरेका छन् ः
“कता हराएका थियौ ? लु, खाना खान हिँडौँ, पेटमा संसदीय बहस सुरु भयो ।” पुण्यप्रसादले भन्यो । (अघटित, पृ. २८९)
मूलतः व्यङ्ग्यलाई स्थान दिएर पनि कताकति हास्यसमेत मिसिएको यो उपन्यासभरि यस्ता भाषाशैलीगत व्यङ्ग्यका नमुना प्रशस्त पाइन्छन् । यसर्थ भाषाशैलीका कोणबाट ‘अघटित’ उपन्यास व्यङ्ग्य उपन्यास बनेको छ ।
उपसंहार
आख्यानकार गणेशप्रसाद लाठको उपन्यास ‘अघटित’ले नेपाली समाजमा हिजो, आज र भोलि समेत गरी हुनेगरेका र हुनसक्ने खालका विविध खालका सामाजिक घटनाको आँकलन गरी तयार पारिएको सामाजिक उपन्यास हो । यसमा मर्यादापुरुषोत्तम, उसको छोरो अमन र नाति मात्मा अर्थात् महात्माभक्तको जीवन चित्रण गरिएको छ । तीनपुस्ताको चित्रण भएको उपन्यासमा उनीहरूका जीवनका कमीकमजोरीको चित्रण बढी गएिको पाइन्छ । मूलतः परिवेशचित्रणमा ध्यान दिइएको उपन्यासमा देश र वातावरण प्रष्ट रूपमा आएको भए पनि काल वा समयले घरि अगाडि घरि पछाडि फड्को मारेको छ । दशवर्षे जनयुद्धलाई एक ठाउँमा संवादका क्रममा सम्झनुबाहेक अन्यत्र उतारिएको छैन । लेखकले एउटा सिङ्गो समयलाई यसरी फड्को मार्नु कतै आफैँप्रति व्यङग्य त होइन ? जे होस्, यो उपन्यासले समाजमा हुनेगरेका कमीकमजोरीका त्यस्ता घटनालाई यथार्थपरक नभई व्यङ्ग्यात्मक तबरले चित्रण गरेको छ । त्यसैल ‘अघटित’ उपन्यास व्यङ्ग्य उपन्यास भनिन लायक छ ।
(समीक्षक वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा कार्यरत उपप्राध्यापक हुन् ।)
प्रतिक्रिया दिनुहोस