काठमाडौँ । नेपाल सरकारले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको प्रस्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ताले आज आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनु भएको थियो ।’
परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहा जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ ।
‘यो कुरा शंका र विवादभन्दा पर छ त्यसैले यो बहसको विषय हुन सक्दैन । सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार छ,’ परराष्ट्रले भनेको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भएको थियो । भारतीय विदेश मन्त्री एस। जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा शनिबार आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । जयशंकरले आफ्नो सम्बोधनको क्रममा भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुईजनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ साउन २०७७, १८ : ३४
लेखकबाट थप