चितवन । चितवनमा युरिया मलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गरे । युरियामल जिल्लाका कुनै पनि स्थानमा पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट टे«डिङ र आफूहरुसँग युरियामल नभएको उनले बताए ।
उनका अनुसार जिल्लामा युरियामल मात्र तत्काल तीन हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएकोे कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन युरियामल बिक्री गरेको थियो । अहिले दुबै संस्थामा मल नभएको प्रमुख गौतमले बताए।
उनले भने, “धान रोप्ने समयमा नभए पनि गोड्ने समयसम्म आउँछ कि भनेको त्यो पनि बाटो कुर्नु मात्र भयो ।” लकडाउनले आउनुपर्ने मल रोकिएको हो । लकडाउन खुलेसँगै आपूर्ति सहज भए पनि मल आउन अझै समय लाग्ने उनको भनाइ छ ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल अभाव अझै केही समय हुने बताए । मल हाल्ने समय भए पनि युरियामल उपलब्ध नहुँदा विकल्पका रूपमा चिनी मल प्रयोग गर्न सकिने उनले जानकारी दिए । अनुदानमा आउने मल सहकारीमार्फत र अनुदान नपाउने मल निजी क्षेत्रमार्फत बिक्री गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ साउन २०७७, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद