पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १४ : २७
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्विर

कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा. अर्जुन आचार्यले जानकारी दिए । 

डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए । 

परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए ।

सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए । निको हुनेको संख्या १२ सय १ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस