कञ्चनपुर । भारतबाट मलखाद ल्याउन पाउनुपर्ने माग गर्दै सीमावर्ती क्षेत्रका किसान आन्दोलित बनेका छन् । भारतबाट दोधारा चाँदनीमा भित्रिएको मलखाद झोलुंगे पुल भएर ल्याउन पाउनुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । किसानले मंगलबार मल ल्याउन पाउनुपर्ने भन्दै झोलुंगे पुलमा प्रदर्शन गरे ।
उनीहरूले करिब दुई घण्टा पुलमा आवागमनसमेत बन्द गराए । प्रहरी र जनप्रतिनिधिले दोधारा चाँदनीबाट व्यावहारिक रूपमा मल ल्याउन दिइने बताएपछि पुलको आवागमन खुला भएको हो । रोपाइँ गर्ने बेला डीएपी अभाव झेलेका किसानले यतिबेला युरियाको पनि अभाव भएका कारण दोधारा चाँदनीबाट ल्याउन पाउनुपर्ने माग गरेका हुन् । ‘यता मल आउँदैन, भारतबाट आएको पनि हामीले प्रयोग गर्न पाउँदैनौं,’ भीमदत्त नगरपालिका–१३ बडैपुरकी जानकी धामीले भनिन्, ‘भारतबाट आएको मल दोधाराका गोदाममा भरिएको छ, त्यहाँबाट हामीलाई ल्याउन दिनुपर्छ भन्ने हाम्रो माग हो ।’
युरियाका लागि दोधारा पुगेका किसानलाई प्रहरीले ल्याउन नदिएपछि त्यहाँबाट फर्केर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले साइकलसमेत पुलमा राखेर आवातजावत बन्द गरेका थिए । ‘भारतबाट लुकीछिपी ल्याएर दोधारामा राखेका मलसमेत हामीले ल्याउन नपाइने, खेतीपातीका बेला जहिल्यै मलको अभाव किन गरिन्छ,’ भीमदत्त नगरपालिका–१३ बडैपुरका उत्तम नेगीले भने, ‘न यताबाट मल पाइन्छ, न त भारतबाट भित्रिएको ल्याउन पाइन्छ ।’ उनले असार पहिलो साता रोपाइँ सकेका थिए । त्यति बेला पनि डीएपी पाएनन् । अहिले युरिया हाल्ने बेलासमेत अभाव भएको उनले बताए ।
कञ्चनपुरमा प्रायः असार पहिलो साताभित्रै रोपाइँ गरिन्छ । प्रायः क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएकाले अन्य क्षेत्रको तुलनामा चाँडै रोपाइँ हुने गरेको छ । यहाँ रासायनिक मल भने कहिल्यै समयमा उपलब्ध हुँदैन । किसानले जहिल्यै अभाव झल्दै आएका छन् । सीमा क्षेत्रका किसानले विगतमा पनि भारतबाटै लुकीछिपी रासायनिक मल ल्याउँथे । तर यस पटक लकडाउनका कारण आफैं भारत जान नसक्दा मल ल्याउन नसकेकाले उनीहरू दोधारा चाँदनीमा भारतबाट अवैध रूपमा भित्रिएको मल ल्याउन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलको अभाव हुँदा खेती गर्न समस्या
मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन
सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…