हेटौँडा । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।
आलु फल्ने समयमा अधिक वर्षा भएर आलु उत्पादनमा ह्रास आएको भन्दै उनले भने, बढी पानी पर्दा खाद्यान्न, तरकारीलगायतका सबै बालीमा नोक्सनी भएको छ । आलु उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा कृषकले आलुमा यो वर्ष राम्रो मूल्य पाएका छन् । गत वर्ष प्रतिहेक्टर २० टन आलु उत्पादन भएकोमा यो वर्ष थाहा नगरमा प्रतिहेक्टर १५ टन मात्र आलु उत्पादन भएको अनुमान छ । यो वर्ष नौ हजार टन आलु उत्पादन भएको अनुमान छ, तिवारीले भने ।
कृषकले गत वर्ष आलु प्रतिकेजी १८ देखि ३० रुपियाँसम्ममा बिक्री गरेकोमा यो वर्ष सुरुमा प्रतिकेजी १८ रुपियाँमा बिक्री भएकोमा पछि सेतो आलु प्रतिकेजी ४० रुपियाँ र रातो आलु प्रतिकेजी ४४ रुपियाँसम्ममा बिक्री गरेका छन् । दामन, पालुङ र वज्रवाराही क्षेत्रको आलु उत्पादन भई बिक्री अन्तिम चरणमा पुगेको र आग्रा क्षेत्रको आलु निस्कँदा अहिलेको मूल्यलाई हेर्दा प्रतिकेजी ५० रुपियाँ बारीमा नै पर्ने आकलन गरिएको उनले बताए ।
गत माघ–फागुनमा खेतबारीमा लगाएको आलु असारको पहिलो सतासम्म निकाल्न स्थानीय कृषक व्यस्त रहेका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, आग्रा, वज्रवाराही, चित्लाङलगायतका स्थानको अधिकांश क्षेत्रमा स्थानीयले आलु खेती गर्दै आएका छन् ।
थाहा नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत तिवारीले आलु खनेर मकै र तरकारी लगाइएको जानकारी दिए । यो वर्ष अधिकांशले आलु लगाएको खेतबारीमा मकै र केहीले तरकारी लगाएका छन् । उनले भने, बन्दाबन्दीका कारण स्थानीयले उत्पादन गरेको तरकारी बिक्री नभएको उचित मूल्य नपाउने समस्याका कारण यो पटक अधिकांशले मकै खेती गरेका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० असार २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा