भरतपुर महानगरमा गरिमा धानपीडित किसानलाई क्षतिपूर्ति, प्रतिकठ्ठा ६०३ रुपैयाँ

मंगलबार, ०२ असार २०७७, १५ : २९
भरतपुर महानगरमा गरिमा धानपीडित किसानलाई क्षतिपूर्ति, प्रतिकठ्ठा ६०३ रुपैयाँ

file photo

चितवन । भरतपुर महानगरपालिकाले गरिमा धानपीडित किसानलाई क्षतिपूर्ति वितरण गरिरहेको छ । महानगरले नक्कली गरिमा धानको क्षतिपूर्ति वितरण कार्यलाई अन्तिम चरणमा लगेको छ । 

भरतपुर महानगरपालिकाले एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्रबाट क्षतिपूर्ति वितरण गरिरहेको छ । ‘क्षतिपूर्ति वितरण अब एक÷दुई दिनमै सक्छौँ, लगभग सबै किसानको हातमा क्षतिपूर्ति पुगेको छ’ भरतपुर महानगरपालिकाका कृषि तथा पशुपक्षी शाखाका शाखा अधिकृत विनोद लामिछानेले भने ।

नक्कली बीउका कारण बाला लाग्न नसकेको गरिमा धानबाट पीडित कृषकलाई सरकारले लागत मूल्यको २० प्रतिशत राहत भरतपुर महानगरमा पठाएको थियो । 

भरतपुर महानगरले कृषि सेवा केन्द्रबाट गरिमा धानको क्षतिपूर्ति वितरण गरिरहेको शाखा अधिकृत लामिछाने बताउँछन् । महानगरको तीन ठाउँमा रहेको कृषि सेवा केन्द्रबाट क्षतिपूर्ति वितरण भइरहेको छ । महानगरको वडा नं–२०, गुञ्जनगर र वडा नं–१६, मंगलपुरमा र भरतपुर ६ गीतानगरमा कृषि सेवा केन्द्र रहेको छ । भरतपुर महानगरका अनुसार पीडित किसानलाई प्रतिकट्ठा ६०३ रूपैयाँका दरले क्षतिपूर्ति वितरण गरिएको छ ।

भरतपुर महानगरपालिकाका २३३ हेक्टरमा लगाइएको गरिमा धानमा बाला नलागेको अधिकृत लामिछाने बताउँछन् । उनले भने, ‘८० प्रतिशतभन्दा बढी किसानले क्षतिपूर्ति पाइसकेका छन्, यतिबेला क्षतिपूर्ति वितरण अन्तिम चरणमा पुगेको छ, अब एकदुई दिनमा सकिन्छ ।’ भरतपुर महानगरलाई कृषि मन्त्रालयले गरिमा धानपीडित किसानका लागि २५ लाख ९५ हजार रूपैयाँ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस