आइसोलेसनमा बसेको १४ दिन पुगेपछि  परीक्षण नै नगरी डिस्चार्ज

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०७७, १० : ४९
आइसोलेसनमा बसेको १४ दिन पुगेपछि  परीक्षण नै नगरी डिस्चार्ज

वीरगञ्ज । आइसोलेसनमा बसेको १४ दिन पुगेपछि पर्सामा पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको छ । तीमध्ये चार जनाको कोरोना नै परीक्षण गरिएको छैन । एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

गण्डक कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहका अनुसार शुक्रबार बेलुका पोखरिया नगरपालिका वडा नं. ९ का २१, ३९, ४२ र ३७ वर्षीय पुरुष तथा जगरनाथपुरका ३७ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

पीसीआर परीक्षण नै नगरी डिस्चार्ज गरिएको पर्सामा पहिलोपटक हो । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा राखेपछि परीक्षण नै नगरी उनीहरुलाई घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

थोरै केसमा बाहेक यसअघि अधिकांश संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि संक्रमणमुक्त भएको अनुभव उनले सुनाए । अस्पतालबाट डिस्चार्ज भएपछि १४ दिन परिवारका सदस्यभन्दा बेग्लै होम क्वारेन्टिनमा बस्न उनीहरुलाई भनिएको छ ।

प्रतिक्रिया दिनुहोस