धमाधम खुल्न थाले कावासोती बजारका पसल

सोमबार, २६ जेठ २०७७, ११ : ४०
धमाधम खुल्न थाले कावासोती बजारका पसल

- नारायण शर्मा 
नवलपरासी । पूर्वीनवलपरासीको सदरमुकामाकावासोतीमा लकडाउनका कारण बन्द भएका पसलहरु धमाधम खुलेका छन् । पसल खुलेपछि बजारमा स्थानीयको चहलपहल बढेको छ । महेन्द्र राजमार्गका अधिकांश पसल खुलेका हुन् । 

पसल ब्यबसाय खोलिएपनि ब्यक्तिगत दुरी कायम राख्न ब्यबसायी सजग देखिएका छन । उद्योग वाणिज्य महासंघ कावासोतीका महासचिव बैकुण्ठप्रसाद अर्यालले ७५ दिनसम्म कोरोना संक्रमणको त्रास र लकडाउनको पालना गरेका ब्यबसायीहरु पसल खोल्न बाध्य भएको बताए । ब्यक्तिगत दुरी कायम राखेर ब्यबसाय संचालन गर्दै जाने सहमति भएको उनले बताए । 

किराना, फेन्सी, हार्डवेयर, पुस्तक पसल खुलेपनि होलसेल तरकारी पसल, होटल, रेष्टुरेन्ट र लज खुलेको छैन । भिडभाड र जमघट हुने बाहेकका पसल क्रमशः खोल्दै जाने मानसिकतामा ब्यापारीहरु रहेको अर्यालले सुनाए । ब्यापार ब्यबसाय खोलिएपछि बजारमा किनमेल गर्ने र हेर्नेको भिड बाक्लिँदै गएको छ । राजमार्ग र भित्री सडकमा सार्वजनिक बसबाहेक सबै यातायात निर्बाध संचालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस