लकडाउनमै सुन पसल खुल्यो, सरकार कहाँ चुक्यो ?

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १३ : ११
लकडाउनमै सुन पसल खुल्यो, सरकार कहाँ चुक्यो ?

काठमाडौं । सरकारी घोषणा अनुसार पनि लकडाउनको अवधि अझै एक साता बाँकी छ । तर, ७५ दिनदेखि लगातारको लकडाउनबाट देश सँगसँगै जनताको पनि आर्थिक अवस्था बिग्रन थालेको भन्दै लकडाउनलाई केही खुकुलो बनाउन आमनागरिकको माग बमोजिम सरकार पनि केही नरम रुपमा प्रस्तुत भएको हो । 

सरकारले एकआपसको दूरी कायम राख्ने, एकसाथ अथवा भिडभाड नगर्ने गरी व्यवसाय सञ्चालनको लागि मौन स्वीकृती दिएको अवस्था छ, जेष्ठ ३२ सम्मका लागि र त्यसपछि त अवस्थालाई सामान्यकरण तर्फ लैजाने गरी लकडाउनलाई ७ चरणमा बर्गिकरण गरिएको छ । यसै परिवेशमा आइतबारदेखि सुन पसल समेत खोल्ने भनेर सम्वन्धित व्यवसायीको प्रतिनिधित्व गर्ने निकाय (नेपाल सुनचाँदी व्यवसायी महासंघ)ले विज्ञप्ति नै जारी गरेको छ ।

तर, स्वयम् सबै सुन व्यवसायी भने अहिलेको अवस्थामा पसल सञ्चालन गरिहाल्नु पर्छ भन्ने मान्यता राख्दैनन् । उनीहरु आआफ्ना समस्या पनि तेस्र्याइरहेका छन् ।

यहाँनेर आश्चर्यको विषय कुनै पनि सुन पसल १, २ जना मात्र कर्मचारीको वा पसल सञ्चालकको रेखदेखमा सञ्चालन हुनै सक्दैन, सुरक्षाका दृष्टिकोणबाट पनि । सुन पसलमा आउने ग्राहकको नियत एकैथरीको हुँदैन, त्यहाँ आउने सबै इमानदार पनि हुँदैनन् । यस अवस्थामा सुरक्षागार्डदेखि पसलमा ५, ७ जनाको संख्या चाहिन्छ नै । त्यसमाथि पनि सुन पसलको क्षेत्रफल त्यती फराकीलो पनि हुँदैन ।

सुन पसल सञ्चालकको आफ्नै गुनासो छ, गहना बिक्री भए वा नभए पनि कर्मचारी राख्नै पर्यो, कर्मचारीलाई काममा बोलाएपछि पारिश्रमिक दिनै पर्छ । तर, अहिलेको अवस्थामा गहना खरिद भन्दा पनि बिक्री गर्न आउनेको संख्या बढी हुन सक्छ । कारण पछिल्लो समयमा सुनको मुल्यमा भारी वृद्धी भएको छ भने कोरोनाको महामारीले जनताको आयस्रोत सुक्दै गएको छ ।

रह्यो खरिदकर्ता सुन पसलमा जाने अवस्था । खाद्यान्न वा तरकारी अथवा अन्य बस्तु खरिद गरेजस्तो होइन, सुनका गहना खरिद प्रक्रिया । सर्वप्रथम त सुनका गहना खरिद गर्न जाँदा प्रायः परिवार, नातागोता, साथीसँगीको समूह नै जाने गर्छ । पसलमा पुगेका ग्राहकले गहना हेर्दैमा खरिद गर्छन् भन्ने पनि छैन । आधा दर्जन बढी पसलमा गएर हेर्ने, आफूलाई सुहायो वा सुहाएन लगाएर जाँच गरिसकेपछि मात्र कुनै एउटा पसलको गहना उनीहरुको रोजाईमा पर्छ ।

यस परिवेशलाई हेर्दा दुई वा तीन थरी ग्राहक पसलमा छिरेको खण्डमा जत्रोसुकै पसल भए पनि त्यहाँका कर्मचारी समेतको संख्या गणना गर्दा त्यहाँ सामाजिक दूरी कायम रहेको देखिन्न । यदी त्यहाँ मध्ये कसै वा कोहीलाई संक्रमण भइसकेको अवस्था छ भने गहना रोज्ने नाममा, पसल चाहार्ने क्रममा, नापजाँच तथा गहनाको परिक्षण गर्ने क्रममा अरु कयौं संक्रमित हुनसक्ने अवस्था रहन्छ ।
आशय, सुन पसल खोल्न दिनु हुन्न भन्ने होइन, तर कसरी व्यवस्थापन गर्न सकिएला ? यो हो मुल जिज्ञासा ।

हुनत अहिलेको कोरोना संकटको अवस्थामा सुनका गहना विगतमा जस्तै खरिद हुन्छ नै भन्ने लाग्दैन । किनकी, यतीका दिनको लकडाउन अनी भविष्यको अन्योलताले गर्दा सुन न खान मिल्ने, नत जहाँतहिँ बेचीहाल्न मिल्ने बस्तु भएकाले पनि लकडाउनको कुनै चरणमा सुन व्यवसाय सञ्चालनको अनुमति दिइनु पर्नेमा ख्वै राज्य केमा, कोसँग चुक्या हो कुन्नी ? राम जानून् ।