नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट शुक्रबार १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेका हुन् । कोही भागेर रुखमा चढेर लुकेका थिए भने कोही कुलोमा गएर सुतेका थिए । स्थानीयका अनुसार केही व्यक्ति दशगजाको खाल्डोमा गएर बसेका थिए ।
छिटो आइसोलेसन सेन्टरमा पुर्याउनु पर्ने संक्रमित भागेको खबरले जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको थियो । संक्रमित भगाउन परिवार र स्थानीय एकजुट भएका थिए । प्रहरीका अनुसार आसपासका गरेर एक हजारभन्दा बढी स्थानीय व्यक्ति क्वारेन्टाइन घेर्न पुगेका थिए । उनीहरूले शुक्रबार साँझ नेपालगन्जबाट संक्रमितलाई लिन पुगेको एम्बुलेन्स पनि घेराउ गरेका थिए । स्थानीयले सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि संक्रमित भाग्न सफल भएका थिए ।
रातभरि सम्पर्कविहीन भएका संक्रमितको खोजीका लागि नेपालगन्जबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहान मात्र उनीहरू भेटिए । यसअघि मंगलबार नरैनापुरका ५७ जना कोरोना संक्रमितले नेपालगन्जस्थित आइसोलेसन सेन्टरमा आउन मानेका थिएनन् । त्यसबेला पनि संक्रमित रहेको क्वारेन्टाइन वरिपरि करिब पाँच सय स्थानीय जम्मा भएर नेपालगन्ज लैजान नपाउने अडान राख्दै विरोधमा उत्रिएका थिए ।
जसका कारण संक्रमित २४ घण्टा क्वारेन्टाइनमै बसे । परिवारले घर लैजाने अडान राखेपछि सुरक्षाकर्मीले क्वारेन्टाइन घेरा हालेर बस्नु परेको थियो । शनिबार यही गाउँपालिकामा २७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूलाई ल्याउँदा तनाव हुने देखेर सुरक्षा सतर्कता अपनाइएको छ । नरैनापुरका संक्रमितहरू उपचार गराउन छोडेर क्वारेन्टाइनबाट भाग्नुमा अनेक कारण छन् । ‘कोरोना संक्रमित व्यक्तिहरू मानसिक रूपमा तनावमा छन् ।
परिवारका सदस्य क्वारेन्टाइन पुगेर रुन्छन् । यहीं उपचार होस् भन्ने चाहन्छन् । स्थानीय भावनामा बगेर विरोधमा उत्रिन्छन्,’ गाउँपालिकाका अगुवा युवा विनय दीक्षितले भने, ‘गाउँमा भ्रम पनि फैलिएको छ । नेपालगन्ज लगेपछि खान दिइन्न । कोठामा थुनेर राखिन्छ । किड्नी पनि झिक्न सक्ने भन्दै अनावश्यक अफवाह फैलाइएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ जेठ २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन