लकडाउनले वीरगन्ज भन्सारको राजस्वमा भारी गिरावट

बुधबार, २४ बैशाख २०७७, १८ : १३
लकडाउनले वीरगन्ज भन्सारको राजस्वमा भारी गिरावट

वीरगन्ज । कोरोना भाइरसका कारण भएको लकडाउनले वीरगन्ज भन्सारको राजस्वमा भारी गिरावट आएको छ । 

चैत ११ देखि लकडाउन भएपछि देशको मुख्य नाका वीरगन्ज भन्सार कार्यालय आइसिपी र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयकोे राजस्व असुलीमा भारी गिरावट आएको हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाका अनुसार लकडाउन भए यता तेस्रो मुलुकबाट १० प्रतिशत मालवस्तु मात्र आइरहेको छ ।  जसका कारण राजस्व संकलनमा भारी गिरावट आइरहेको छ । 

 सरकारले गरेको लकडाउनका कारण मालवस्तुको आयात–निर्यातमा नेपाल वा भारत सरकारले कुनै अवरोध वा रोक नलगाए पनि मालवस्तुको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ । 
वीरगन्जमा रहेका दुवै भन्सारले चैत महिनामा मात्र ७ अर्ब ३९ करोड ७५ लाख मात्र राजस्व संकलन भएको छ । 

भन्सार विभागले दुवै भन्सार कार्यालयलाई चैतमा १८ अर्ब ४१ करोड १८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । लक्ष्यको आधा पनि राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । चैत महिनामा दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ११ अर्ब १ करोड ४३ लाख कम राजस्व संकलन गर्न सकेका छन् । 

चैतमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा झन्डै १० अर्ब कम राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सारलाई विभागले चैतका लागि १५ अर्ब ७ करोड १८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । 

यस्तै, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत चैत महिनामा विभागले दिएको लक्ष्यभन्दा १ अर्ब ३१ करोड कम राजस्व संकलन गरेको छ । चैतका लागि उक्त भन्सार कार्यालयलाई विभागले ३ अर्ब ३४ करोडको लक्ष्य दिएको थियो । 

सामान्य अवस्थामा वीरगन्ज भन्सार र आइसीपी नाकाबाट दैनिक औसतमा ७ सय मालवाहक गाडी आउँथ्योु, तर लकडाउनपछि दैनिक औसतमा ५० गाडी मात्र आइरहेका छन् । भन्सारमा आइपुगेका सामान पनि सहज रुपमा जाँचपास हुन सकेका छैनन् । 

चालक, कामदार, कर्मचारीमा पनि कोरोनाको मनोवैज्ञानिक त्रास छ, सामान जाँचपास गर्न भन्सारसम्म आउने एजेण्टलाई सुरक्षाको नाममा प्रहरी प्रशासनबाट ठाँउ ठाउँमा अवरोध छ, यी सब कारणले पनि भन्सारको राजश्व संकलनमा असर परेको हो ।

प्रतिक्रिया दिनुहोस