प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली समवेदना व्यक्त गर्न प्रचण्ड निवासमा

सोमबार, ०४ मंसिर २०७४, १३ : ५०
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष  ओली समवेदना व्यक्त गर्न प्रचण्ड निवासमा

 नेकपा माओवादी केन्द्रका अध्यक्षको परिवारमा परेको पुत्र शोकमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुगेका छन । नेताद्वय एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेको हो ।

अध्यक्ष प्रचण्ड तथा पार्टीका सल्लाहकार सीता दाहाललाई समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनबाट देशले होनहार र इमान्दार छोरा गुमाएको बताए । “प्रकाश निकै सरल थिए, निकै मेहनती र इमान्दार पनि । म निकै भावविह्वल बनेको छु । मन सम्हालेर धैर्य धारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।” प्रधानमन्त्री देउवा चुनावी प्रचार अभियानका क्रममा गृह जिल्ला डडेल्धुराबाट समवेदना दिन काठमाडौं आईपुगेको हो ।

प्रधानमन्त्री देउवाभन्दा केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विमानस्थलबाट सोझै लाजिम्पाट पुगेकाे थियो । अध्यक्ष ओलीले प्रकाशको निधनले राष्ट्र र पार्टीमा क्षति पुगेको बताउँदै धैर्यधारणका लागि कामना गरेको थियो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीसँगै आएका पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष प्रचण्डको परिवारलाई धैर्यधारण गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस