करको भुक्तानी गर्ने समय २५ जेठसम्म

विहीबार, १८ बैशाख २०७७, १७ : ४०
करको भुक्तानी गर्ने समय २५ जेठसम्म

काठमाडौं । सरकारले करको भुक्तानी गर्ने समय बढाएको छ । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको समयावधि २५ जेठसम्म  लगेको छ ।

१४ वैशाखको मन्त्रिपरिषद्ले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको हो । यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि करदाता बैङ्क वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । लकडाउनकै अवधिमा समेत चेक लिएर आउने करदातालाई भने आन्तरिक राजस्व कार्यालयहरूले सहजीकरण गरेका छन् । 

सरकारले चालु आर्थिक वर्ष २०७६र७७ मा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये कर राजस्व मात्र १० खर्ब ९ अर्ब उठाउने लक्ष्य रहेको छ । तर, लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएसँगै सरकारका आर्थिक परिसूचक भने अधुरै रहने भएको छ ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ(फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अन्तशुल्क ऐनअनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने अवधि २५ जेठसम्म सरेको छ ।

आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ। आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत २५ जेठसम्मका लागि थपिएको छ ।

कर अधिकृतले गरेको कर निर्धारण उपर चित्त नबुझे कर पुनरावलोकनका लागि दिन सकिने म्याद समेत लकडाउन सकिएको १५ दिनसम्म थप हुने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस