देशविदेश घुम्ने, धेरै मानिससँग गीतसंगीतमार्फत सुखदुःख साट्ने गर्दै आएको मेरो जिन्दगी घरमै बस्नुपर्दा जीवनशैली नै फेरिएको जस्तो लागिरहेको छ । पहिले म महिनाको २–४ दिनमात्र काठमाडौं बस्थेँ । धेरै समय संगीतिक कामको सिलसिलामा देशविदेशको विभिन्न स्थानमा पुगिरहेको हुन्थेँ । अहिले बाहिर जाने कुरा भएन । कसैसँग भेटघाट गर्ने कुरा पनि भएन । अहिले दिनको २–३ पटक केही पत्रकारहरुसँग फोनमा कुरा गर्छु ।
२–३ घन्टा संगीतसम्बन्धी अभ्यास गर्छु । गीत लेख्छु । अहिले कोठाभित्र जिन्दगी चलाउनु परेको छ । कतिपयले यो लकडाउन परिवारसँग समय बिताउने अवसर पनि भनेका छन् । परिवारको कामकाजमा समेत सहयोग गरिरहेका छन् । म पनि त्यस्तै गरिरहेको छु ।
पहिले फुर्सद नहुँदा फुर्सद पाए हुन्थ्यो । केही गर्न पाउँथे नि भन्ने लाग्थ्यो । अहिले भएको फुर्सदको भ्यालु भएन । जहिले जे हुँदैन । त्यो चिजको महत्त्व हुँदोरहेछ ।
लकडाउनको समय फिल्म हेर्ने पनि होलान् । तर मेरो फिल्ममा चासो छैन । त्यसैले म फिल्म हेर्दैहेर्दिनँ । अहिले टिभीको केबल पनि काटिएको छ । देशविदेशको समाचार अहिले नेटबाट हेरेर थाहा पाउने गर्दछु । अहिले मेरो दिनको केही घन्टा समाचार पढेर पनि बित्ने गरेको छ ।
बिहान नियमित व्यायाम गर्ने गर्दछु । जगिङ गर्ने ठाउँ छैन । तरकारी किन्न केही समय बाहिर निस्किन्छु । अहिले कोरोनाको कहर छ । संसारमा कुनै पनि चिज स्थायी हुँदैन । यो कोरोनाको कहर पनि स्थायी रहँदैन ।
कोरोनामा आत्तिनु हुँदैन । बाहिरको कोरोनाले भन्दा मनभित्रको कोरोनाले मानिसलाई विक्षिप्त बनाउँन सक्छ । नआत्तिनु, धैर्य गरेर बस्नु, आत्तिदैमा समस्याको समाधान हुने होइन । धैर्य गर्नु नै अहिलेको समय सबैका लागि फाइदाजनक छ भन्ने खालका सन्देशमुलक गीतहरु मैले बनाइरहेको छु ।
केही राष्ट्रिय गीत, केही देशका विषयमा, कोही जनताको पीडा, दुःख पिरमर्काको विषयमा गीतसंगीत श्रृजना गरिरहेको छु ।
विश्वको अवस्था चिन्ताग्रस्त
कोरोनाको कारण विश्वको अवस्था चिन्ताग्रस्त छ । हुनेखानेले त घरमा बसेर खान पाउँछन् । उनीहरुका लागि लकडाउनले समस्या भएको छैन ।
गरिव, दुखी, मजदुर, निमुखा जो दैनिक काम गरेर गुजारा चलाउने गर्दथे । अहिलेको अवस्थामा सबैभन्दा बढी पीडित उनीहरु छन् ।
दुबई, कतार लगायत विभिन्न ठाउँका कम्पनी बन्द भएर अलपत्र परेका हजारौं नेपाली मजदुर छन् । भारतमा पनि नेपालीको अवस्था दयनीय छ । उनीहरु महिना दिनसम्म पनि पैदल हिँडेर नेपालको बोर्डरमा आएर बसेका छन् ।
बेलायतमा दिनको एकजना पूर्व गोर्खासैनिक नेपालीको निधन भएको समाचार आइरहेका छ ।
कोरोनाले कतिको जिन्दगी सिध्याएको छ । धेरैलाई अप्ठ्यारोमा परेको छ । अहिले महासंकटको घडी हो । कोरोना नलागेकोलाई लाग्छ कि भन्ने डर छ । लागेकोलाई मर्छु कि भन्ने त्रास छ ।
यो कोरोनारुपी कहर मानव सभ्याताको लागि नयाँ चुनौती भएर आएको छ । यसले अहिले मानवको अस्तित्त्व नै खतरामा पार्ने देखिएको छ । योबाट भाग्नु भन्दा पनि सबै मिलेर डटेर सामाना गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
अहिलेको कोरोना जस्तो महामारीको समयमा राज्यको कदम चित्त बुझ्दो महसुस भएको छैन । सर्वसाधारणको स्वास्थ्यको विषयमा तीनै तहका सरकारको बीच राम्रोसँग तालमेल नमिलेको भान भइरहेको छ ।
राज्यको कदम जति प्रभावकारी हुनुपर्ने हो । त्यो हुन सकेको छैन । तीनै तहका सरकार बीचमा समन्वयको अभाव देखिन्छ ।
राज्यको निकायबीच नै देखिएको यस्तो अन्यौलमा सर्वसाधारणले राहत पाउँछन् भनेर कसरी विश्वास गर्ने ?
तीनै तहका सरकार बीच उचित समन्वय र राहतको विषयमा आवश्यक कदमको अभाव देखिएको छ अहिले । धेरै कुरा छन् अरु पनि । तर, यस्तो समय ती कुरा गर्ने बेलापनि होइन र गरेर फाइदा पनि छैन ।
अहिले सरकारमा भएकाले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्यो । सरकार बाहिरका दलहरु पनि आफ्नो कतव्र्यबाट बिमुख हुनु भएन ।
समग्र मानवजाती अहिले कृतिम सम्बन्धमा छन् । मानव मानव बीचको आचरण, धनी र गरिव बीचको खाडल, असमानता लगायत छन् । त्यो गलत हो भन्ने मुल सन्देश दिएको छ कोरोनाले । अहिलेको अवस्थामा हामीले सिक्नुपर्ने पाठ पनि यही हो ।
कोरोनाले नयाँ जीवनशैली पनि सिकाएको छ । कोरोनाको कारण मानव सभ्यतामा आमुल परिवर्तन आएर नयाँ सभ्याताको विकास हुने हो वा मानव सभ्यातानै विनासको बाटोमा जाने हो यो भविष्यले बताउँला ।
अहिलेको समयमा मेरो धारणा के छ भने यसले हामी सबैको समानतामा आधारित, सत्यनिष्ठामा आधारित जीवनशैली बनोस् भन्ने चाहना छ ।
प्रतिक्रिया दिनुहोस