- रामचन्द्र अधिकारी
विश्व कोरोना भाइरस (कोभिड १९) को कारण आक्रान्त छ । सैन्य शक्तिको आडमा विश्व सर्वशक्तिमान घोषणा भएका देशहरु, स्वास्थ्य क्षेत्रमा सात जना जनता बराबर एक चिकित्सक, उच्च प्रविधियुक्त अस्पताल, शत प्रतिशत शिक्षित जनसमुदाय भएका देशहरुमा हजारको संख्यामा दैनिक मानिस मर्ने गरी महामारीले छोपेको छ । हजार प्रयास गर्दा समेत यसलाई नियन्त्रणमा लिन सकेको देखिँदैन । कसैले यसलाई चाइनिज भाइरस भने, कसैले यसलाई अमेरिकी सेनाले बनाएको हतियार भने ।
विश्व अहिले महामारीले गर्दा आर्थिक, सामाजिक, साँस्कृतिक र समग्र क्षेत्रमा जाम भएको छ । दैनिक जीवन प्रभावित भएको छ । गरीबदेखि धनीसम्म, शक्तिहीनदेखि शक्तिशालीसम्म कसैलाई पनि कोरोनाले छोडेको छैन । ठूला ठूला आणविक हतियार फिक्का भएका छन् । अहिलेसम्म स्वास्थ्य विज्ञान फेल खाएको छ । कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर पुगेको छ । यसले सबैलाई समान व्यवहार गरेको छ । पुँजीवादी व्यवस्था, अभ्यास र तयारी कमजोर देखिन्छ । राज्य नियन्त्रित व्यवस्था नहुँदा युरोप, अमेरिका कमजोर शक्ति भएका छन् तर चिनियाँ प्रणाली राज्य नियन्त्रित प्रणाली र व्यवस्थापनको कुशलताले महामारी नियन्त्रण गर्न सफल भएको छ ।
आजको मितिसम्म आइपुग्दा कोरोना संक्रमण दुई सय दस देशमा फैलिएको छ, सवा लाख मानिस मरेका छन् । १७ लाख मानिस संक्रमित भएका छन् । युरोप, अमेरिकाहुँदै कोरोना संक्रमण अब एसियातिर लागेको छ । कोरोना महामारीकै कारण विश्वको राजनीतिक शक्ति बदलिने सम्भावना देखिन्छ ।
विश्वको सात अर्ब ७७ करोड जनसंख्याको झण्डै आधा हिस्सा भारत र चीन केन्द्रित देखिन्छ । त्यसको बीचमा सानो मुलुक नेपालमा पनि १२ जना संक्रमित भेटिएका छन् । विश्व बजारमा रोजगारी र अध्ययनका लागि गएका नेपालीहरुमा पनि केही संक्रमण देखिएको छ ।
नेपालमा यो महामारीको बारेमा कार्यशैलीका विषयमा विभिन्न टिप्पणी हुन थालेका छन् । सकारात्मकभन्दा नकारात्मक आवाज बढी उठेको देखिन्छ । हजारौँ मजदुर, किसानलाई आफ्नो घर फर्कनबाट रोकिएको छ । भारतको कालापत्थरमा काम गर्न गएका नेपाली सिमानामा रोकिएका छन् । समस्यालाई कसरी हल गर्ने, कुन विधि प्रयोग गर्ने, कसरी देशका नागरिक सुरक्षित राख्ने, व्यवस्थित गर्ने ? नेपाली जनसमुदायको, किसान, मजदुर, गरीब, निमुखा जनताको पक्षमा के निर्णय भयो ? बुर्जुवाले जति पनि काम गर्न नसक्ने यस्तो कम्युनिष्ट सरकार किन जरुरी ? हामीले यसमा बहस गर्न जरुरी छ ।
यसको बुझाईमा एकरुपता हुनु पर्दछ । कसरी लैजाने ? यस्तो योजना निर्माण संघ, प्रदेश र स्थानीय सरकारलाई समन्वय कसरी गर्ने ? स्वास्थ्य क्षेत्र व्यवस्थापन नै आजको आवश्यकता हो । यसको तयारी र लगानीले नै भविष्य सुन्दर बनाउँछ । यो क्षेत्रलाई आधारभुत, प्राथमिकता र संवेदनशील क्षेत्रका रुपमा परिभाषित गर्न जरुरी छ । यसको सम्बन्धको आयाम मानिसको अमूल्य जीवन र भविष्यसँग जोडिएको छ । यसका बारेमा राखिने धारणा बनाउने, नीति र योजनासाथै कार्यान्वयनको पक्ष, विधि निर्माण गर्ने विषय सरकार, संघसंस्था वा व्यक्तिद्वारा गरिने कुनै पनि निर्णय विशेष सावधानी र सतर्कता अपनाएर विशेष अध्ययन, अनुसन्धान गरेर गर्नु पर्दछ । यसको व्यवस्थापन र महामारीविरुद्धको लडाइँमा सफलता र असफलतासँगै समाजवादउन्मुख राजनीतिक व्यवस्था र यसको आलोकमा विजय हासिल गरी दुईतिहाईको सरकार संचालनसहित अपनाएको राजनीतिक, आर्थिक, सामाजिक प्रणालीले दिइने सेवा नै मान्नु पर्दछ ।
केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा कम्युनिष्ट सरकार छ । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य नीति र योजनाको साथै व्यावहारिक अभ्याससम्म आइपुग्दा स्थानीय सरकारको प्रत्यक्ष फिल्ड कमाण्डमा उत्रनु पर्दछ । खुला उदारवादी अर्थतन्त्रको कारण स्वास्थ्य क्षेत्रलाई पनि राज्यको दायित्वमा नराखेर खुला बजारको प्रतिष्पर्धाको सैद्धान्तिक प्रस्तावनामा अभ्यासमा छोडेको कारण गाउँ र शहरको भिन्नता, शहरभित्र सुविधासम्पन्न र सुविधारहित सेवा ५० प्रतिशतदेखि ६० प्रतिशत स्वास्थ्यकर्मी शहरी क्षेत्रमा केन्द्रित, निजीकरण, व्यापारीकरण, माफियाकरण र दलालीकरणको भद्दा रुप स्वास्थ्य क्षेत्र देखियो । जनताको सेवाप्रति केही स्वास्थ्य क्षेत्र प्रतिवद्ध नै छन् तर मूल ट्रेण्ड खुला बजार अर्थनीति नै चपेटामा परेको छ ।
यसरी हेर्दा कता कता केन्द्र, प्रदेश, स्थानीय सत्ताको दायित्वविहीन, जिम्मेवारीविहीन र कमजोर व्यवस्थापन देखिन खोजेको त छ तर भरतपुर महानगरपालिकाको हकमा कोरोना विश्वभरि फैलिँदै आएको समाचारसँगै पूर्वतयारीको लागि भरतपुर मेयर रेनु दाहालको सक्रियता तीब्र गतिमा देखियो । स्थानीय सरकारको काम, कर्तव्य, अधिकार र अभिभावकत्वको नेतृत्व गर्दै सबै पक्ष, राजनीतिक दलहरु, माननीयहरु, उद्योग वाणिज्य संघ, उद्योग संघ, भरतपुर अस्पताल, मेडिकल कलेजहरु, समन्वय समिति र स्वास्थ्य संस्थाहरुको साझा संस्था अपिनसहितको सक्रिय सहभागितामा कोरोना विशेष अस्थायी अस्पताल ७२ घण्टामा तयार गरी चितवनवासी, वरिपरिका जिल्लाहरुका सम्भावित कोरोना संक्रमित मानिसहरुको चेकजाँच, आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको देखिन्छ । यो कार्य सामान्य कार्य नै होइन, जिम्मेवारी र कर्तव्यबोधले काम गरेको छ ।
हामीलाई यतिखेर चितवनवासी भएको नाताले गर्व गर्न लायक पनि भएको छ । कतिपय सन्दर्भ र समयमा केही मान्छेहरुको टिप्पणीहरु पनि सुनियो । विपद्को बेला, महामारीको बेला मान्छेले वेद पढ्दैन । जे आवश्यकता अगाडि आउँछ त्यही गर्छ । भरतपुर महानगरपालिका, मेयर रेनु दाहाल, आमनागरिक समाज, राजनीतिक दलहरु, निर्वाचित जनप्रतिनिधिहरु र निजी क्षेत्र सबै एक ठाउँमा रहेर कोरोना विशेष अस्पताल, पीसीआर प्रविधिबाट स्वाब परीक्षण ल्याब स्थापना भएको छ । केन्दीय सरकारको प्राथमिकताको विषय नबन्दा नबन्दै पनि चितवनवासीहरुको एकता, सद्भाव र सहकार्यले यो सम्भव भइसकेको छ । मुख्यतः पहलकर्ता र समन्वयकर्ताका रुपमा मेयर रेनु दाहालको भूमिका अहम् देखिन्छ । अरु सम्पूर्ण पक्षहरु एकतावद्ध भएका छन् । एउटै यात्रा तयार भएको छ ।
यसरी स्थापना भएको कोरोना अस्पताल, ल्याब र यहाँ अस्पतालहरुको जिम्मेवारीपूर्ण व्यवहारले चितवनबाट एउटा गतिलो सन्देश दिएका छौँ । कुनै पनि संकटमा चितवनवासी एक ठाउँमा छौँ । कोरोनाजस्ता सबै महामारी आए पनि राजनीतिक सुझबुझ, एकता, साँस्कृतिक धार्मिक एकता, सद्भाव र सहकार्यको सिद्धान्त अपनाएका र अभ्यास गरेका छौँ । यहाँ कुनै राजनीतिक दल, संस्था र समुदायको भिन्न मत र भिन्नतासहित सोच देखिँदैन ।
स्थानीय सरकार र निर्वाचित प्रतिनिधि, प्रशासनले निभाएको सकारात्मक भूमिकाले चितवन राम्रैसँग सफल भएको छ । भरतपुरमा ७२ घण्टामा हस्पिटल तयार पार्ने कुरा सामान्य विषय थिएन, चिनियाँ मोडेल नै थियो । यसले संकटमा स्थानीय सरकार भएको अनुभूति जनताले गर्न पाए । यतिखेर चितवनका सबै अस्पतालले सेवा प्रभावकारी बनाएका छन् । कोरोना विशेष अस्पतालले स्क्रिनिङ, आइसोलेसन, क्वारेन्टाइन र ल्याब टेष्ट रिपोर्ट समेत दिने गर्दछ ।
महानगरपालिका, नगरपालिका र गाउँपालिकाले समेत मजदुर, किसान, गरीब र निमुखालाई केही कमजोरीका बावजुद राहत वितरणलाई प्रभावकारी बनाएका छन् । स्थानीय ९८ वटै वडाले सक्रियता देखाएका छन् । यसले सकारात्मक सन्देशसहित भरतपुर र चितवनले विश्व र नेपालभरि सन्देश दिएको छ । सहयोगी मनहरु, सामाजिक अभियन्ताहरु सहयोगमा केन्द्रित भएका छन् ।
एउटा जबरजस्त तयारी र कार्यान्वयन व्यवस्थित रुपमा भएको छ । लकडाउनको पालना गर्दै घरमा बसेका जनता अनुशासित नै देखिन्छन् । अबको केही समस्यालाई पार लगाउनु पर्दछ । जस्तो कि, भारतमा बढ्दै गएको संक्रमणको त्रास यहाँसम्म नभित्रियोस् । आकस्मिक सेवा प्रभावकारी होस् । किसानको उत्पादन बजारसम्म लैजाने वातावरण र उपभोक्तामा भएको अभावको पूर्ती होस् । अस्पतालहरुबीचको समन्वय र सहकार्य प्रभावकारी बनोस् ।
प्रतिक्रिया दिनुहोस
आरसी अधिकारी
सोमबार, ०१ बैशाख २०७७, १४ : १६
लेखकबाट थप