काठमाडौं । चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ ।
रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेका छन् ।
नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै उनीहरुले नाका खुलाउन नचाहको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
उनका अनुसार नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्याउँदै गर्दा चीनको केन्द्रीय सरकारको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको छ । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको खड्काले बताए ।
माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर(दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई छ । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको खड्काले बताए ।
नेपाल भारत खुल्ला सीमा र भारतमा तीब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको तातोपानी भन्सार कार्यालयका एक अधिकारीले बताए ।
चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय नेपाल सरकारले चैत १२ गते गरेको भएपनि चिनियाँ पक्षले आनाकानी गरिरहँदा आजसम्म सञ्चालनमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल–चीन सीमा विवाद समाधान गर्न विज्ञ समूह सक्रिय