सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापनका लागि भारतसँग पहल गर्न इन्सेकको आग्रह

शनिबार, २२ चैत्र २०७६, १९ : ४३
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापनका लागि भारतसँग पहल गर्न इन्सेकको आग्रह

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यक परेको अवस्थामा भारत सरकारसमक्ष आवश्यक पहलकदमी लिन सरकारसँग आग्रह गरेको छ । 
       
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस विषम परिस्थितिमा नेपाल–भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेकाको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । 
       
दार्चुला सीमा नाकामा ६०० भन्दाबढी, बैतडीको झुलाघाट नाकामा २२७, कञ्चनपुरको सीमानाका वनबासामा ११४, भैरहवा सिमानामा बेलहियास्थित नौतुनहवा इन्टरकलेजमा ३०५ जना नेपाली क्वारेन्टाइनमा भएको पाइएको इन्सेकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
       
नेपालीको सिमानामा रहेका भारतीय नागरिकलाई नेपाल सरकारले र भारतमा अलपत्र परेका नेपाली नागरिकलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने सहमति दुई देशबीच भए पनि भारतीय सिमानामा नेपाली नागरिकको दैनिकी कष्टकर भइरहेको इन्सेकले जनाएको छ । धारचुलाको क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरुलाई विद्यालयमा सामूहिकरुपमा सुताउने गरेको र खानाको प्रबन्धमा समेत समस्या रहेको गुनासो गरेको उल्लेख छ । (रासस)

प्रतिक्रिया दिनुहोस