काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सतर्कता अपनाउने निर्णय गरेको छ। कोरोना भाइरस देशभित्र भित्रन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।
कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहीबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ सचेत रहन सीमा नाकामा हुने चेकजाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजनाका साथ अगाडि बढ्ने निर्णय भएको बताउनुभयो। बैठकले अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था गरेको छ।
धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरू सेवा प्रवाहमा भिडभाड कम गर्ने विषयमा बैठकमा छलफल भएको बताउँदै कार्यकारी प्रमुख पोखरेलले भन्नुभयो– ‘मालपोत, विद्युत् प्राधिकरणलगायतका कार्यालयमा सेवाग्राहीको भिड कम गर्न प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र राजस्व बुझाउने कार्यालयहरूसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने विषयमा छलफल भएको छ, सरोकारवाला निकायसँग छलफल गरेर निर्णय हुन्छ।’
कोरोना नेपाल भित्रिन नदिन सरकारले यसअघि नै सीमा नाकामा कडाइ गरेको छ। सरकारले दक्षिणतर्फ मुख्य १४ नाकामध्ये ४ वटा मात्रै सञ्चालनमा ल्याएको छ। सरकारले सीमा नाकामा थप कडाइ गर्ने नीति लिएको छ। गत फागुन २४ गतेदेखि सरकारले ४ वटा नाकामा १ सय ३३ वटा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेक्स) स्थापना गरेर आवतजावत गर्ने यात्रुको चेकजाँच गर्दै आएको छ।
दुई साताको अवधिमा भारतबाट नेपाल आउने र नेपालबाट भारततर्फ जाने ३ लाख १० हजार मानिसको स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीण श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो। भारतसँग सीमा जोडिएका ४ नाकामा रहेको हेल्थ डेस्कमार्फत आशंका लागेका व्यक्तिलाई अस्पतालमा जान सुझाव दिने गरिएको छ। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट