विष्णु पोखरेल
घन्टाघरबाट कमलादी जाने सडक पार गरेर दरबारमार्गतर्फ लाग्दा केही घर कटेपछि आउँछ, कश्मीरी जामे मस्जिद । मस्जिदको गेटभित्र पस्नेबित्तिकै बायाँतर्फ अवस्थित छन्, दुई दरगाह । प्यागोडा र शिखर शैलीका मन्दिर धेरै देखिने काठमाडौंमा यिनको बनावट भिन्न छ । फरक शैलीमा निर्मित दरगाहभित्र छन्, मजार अर्थात् समाधिस्थल ।
गत माघ २० गते शनिबार अपराह्न मस्जिद परिसर पुग्दा दुवै दरगाहमा हुँदै थियो सरसफाइ, टाँगिदै थिए रंगिचंगी बत्ती । एउटा दगरगाह भने सेतो र हरियो पेन्ट मिसाएर गरिएको रंगरोगनले टलक्क टल्केको थियो । मूल द्वारमा लेखिएका अरबी अक्षरलाई धुलाले धमिल्याउन नभ्याएकाले केही दिनअघि मात्र रंगरोगन गरिएको प्रस्टिन्थ्यो ।टल्केको दरगाहको मूल द्वार अगाडिबाट केही खुट्किला झरेर बायाँतर्फ लागेपछि भेटिए, मौलाना कारी फाजेर आलम कादरी । लामालामा काला दारी पालेका कादरी कालो ज्याकेट र कालै ऊनीको टोपीमा सजिएका थिए । प्लास्टिकको कुर्सीमा बसेका उनी दुई महिलाको स्वास्थ्यलाभका लागि दरगाहतर्फ नै फर्केर दुवा माग्दै (प्रार्थना गर्दै) थिए ।
‘दुवै मजार सुफीबाबाका हुन्,’ महिलालाई बिदा गरिसकेपछि दरगाहबारे सोध्दा कादरीले भने, ‘उहाँहरू मामा–भाञ्जा हुनुहुन्थ्यो ।’ दरगाहको सरसफाइ, सजावट र रंगरोगनले कुनै उत्सव आगमनको संकेत गरिरहेको थियो । नभन्दै कादरीले भन्न भ्याइहाले, ‘भोलि शाह मिस्किन बाबाको उर्स (स्मृति दिवस) छ, त्यसैले सजावट गर्दै छौँ ।’ कादरीका अनुसार दरगाहका दुई सुफी सन्तमध्ये शाह मिस्किन मामा हुन् भने नजिकै उनकै भाञ्जा शाह गयासुद्दीनको समाधि बनाइएको छ ।
सजावटले झकिझकाउ दरगाहमा गत माघ २० गते आइतबार भने राजधानीमा बसोबास गर्ने मुसलमानको भीड लाग्यो । उनीहरूमध्ये कसैले नमाज पढेर शाह मिस्किनप्रति समर्पण भाव प्रकट गरे भने कसैले मजारमा फूल र हरियो कपडा चढाएर । कतिपयले मजारमा दुवै हात राखेर तिनलाई चुमे, केहीले मजारतर्फ फर्काएका हात आँखामा ल्याई आरती तापेझैँ गरे । मौलाना र धर्मगुरुहरूले शाह मिस्किनको प्रशस्ति गाए ।
उर्समा सहभागी कतिपय महिला र पुरुष भावुक देखिन्थे । तिनका आँखामा आँसु टिलपिलाएका थिए । सायद उनीहरू मिस्किन बाबासँग कुनै पीडाबाट मुक्तिको दुवा मागिरहेका हुँदा हुन् ।
कश्मीरी मस्जिदमा गरिएको यो पहिलो उर्स थिएन, न त अन्तिम नै । यो दरगाहमा हरेक वर्ष १७ जमादिल अल–औवल अर्थात् हिजरी संवत्अनुसार पाँचौँ महिनाको १७ गतेका दिन यस्तै उर्स आयोजना गरी मजारमा दफन मिस्किन शाहको सम्झना गरिन्छ । साथसाथै हिजरी संवत्को छैटौँ महिना अर्थात् जमादिल अल–आखिरको १३ गतेका दिन नजिकैको अर्को मजारमा राखिएका उनैका भाञ्जा शाह गयासुद्दीनको उर्स मनाइन्छ ।
हुन त दरगाहको मूलद्वारमा लेखिएका अरबी शब्दले नै हरेक वर्ष जमादिल अल–औवलको १७ गते उनको उर्स मनाइन्छ भन्ने संकेत गर्छन् । दरगाहको मूलद्वारमा लेखिएका अरबी शब्दहरू देखाउँदा लाजिम्पाट निवासी ८४ वर्षे ख्वाजा मोअज्जम् शाह नियालीले यसरी उच्चारण गरे, ‘१७ जमादिल अल–औवल उर्स मुवारक’ अर्थात् जमादिल अल–औवलको १७ गते स्मृति दिवसका अवसरमा शुभकामना ।
अघिल्लो साता उर्स मनाइएका शाह मिस्किन तिनै हुन्, जसलाई काठमाडौं आउने पहिलो सुफी सन्तका रूपमा लिइन्छ । संयुक्त राज्य अमेरिकाको पेन्सलभेनियास्थित गेट्टिसबर्ग कलेजकी सहायक प्राध्यापक मेगन एडम्सन् सिजापतीले आफ्नो पुस्तक ‘इस्लामिक रिभाइभल इन् नेपाल रिलिजन् एन्ड अ न्यु नेसन’मा शाह मिस्किनलाई काठमाडौं भित्रिने पहिलो मुसलमान भनी लेखेकी छन् । पुस्तकमा शाह मिस्किनले दिव्य शक्ति प्रयोग गरी १६औँ शताब्दीका मल्ल राजालाई प्रभावित पारेर तपस्या गर्ने र मस्जिद बनाउने स्थान प्राप्त गरेको उल्लेख छ, (पृ.२१–२२)। जग्गा प्राप्त गरेपछि मुसलमानहरूले सन् १५२४ मा कश्मीरी मस्जिद बनाएको पुष्टि हुने सिजापतीको तर्क छ ।
पुस्तकको पादटिप्पणीमा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशले सन् १७३७ र ३८ मा घासी शाह नामक मुसलमान फकिरका नाममा आदेश जारी गरेको उल्लेख छ । त्यसमा फकिरसँग टकिया र जमिन रहेको विवरण पाइने सिजापतीले लेखेकी छन् । सरकारी कागजपत्रमा कश्मीरी मस्जिदको नाम अहिले पनि पञ्च कश्मीरी टकिया रहेको छ । यसले मल्लकालमा उपत्यका भित्रिएका सुफी सन्तलाई राजाहरूले जग्गा प्रदान गरेका थिए भन्ने देखाउँछ ।
शाह मिस्किनबारे हालसम्म कसैले स्वतन्त्र अध्ययन, अनुसन्धान नगरेकाले उनी कहिले काठमाडौं उपत्यका प्रवेश गरेका थिए भन्ने यकिन छैन । उनलाई राजा प्रताप मल्लले तपस्या गर्न र मस्जिद बनाउन ठाउँ प्रदान गरेको जनश्रुति भने काठमाडौंको मुसलमान समुदायमा प्रचलित छ ।
यसबारे ताम्रपत्रमा उल्लेख भएको र ताम्रपत्र नेवारी एवं फारसी भाषामा लेखिएको बताउँछन्, कश्मीरी मस्जिदका मौलाना कादरी । मस्जिदसँग यसको प्रति भए पनि इराकमा १२ नेपाली मारिएको घटना र त्यसपछि राजधानीमा भएको तोडफोड एवं आगजनी (१६ भदौ, २०६१) पछि त्यसलाई सुरिक्षत स्थानमा राखिएको दाबी छ उनको ।
खोजी नगरिएकैले हुन सक्छ, कश्मीरी मस्जिद परिसरमा दफन दुई व्यक्ति को थिए ? भन्नेबारे लामो समयसम्म धेरैलाई पत्तो थिएन । मस्जिद छेउमा दुई सुफी सन्तको मजार रहेको भन्दै काठमाडौंका मुसलमान त्यसलाई तीर्थस्थल जस्तै मान्थे । तथापि उनीहरूलाई न ती सन्तको नाम थाहा थियो, न त जन्म र मृत्यु तिथि नै । ‘आजभन्दा त्यसै डेढ÷दुई सय वर्षअघि शाह समसुद्दीन अन्द्राबी नामका अर्का सुफी सन्त नेपाल आउनुभएछ,’ मौलाना कादरीले उपत्यकाका मुसलमान समुदायमा प्रचलित मौखिक इतिहास (किवंदन्ती ?) सुनाए, ‘उहाँले नै यी दरगाह शाह मिस्किन र गयासुद्दीनका हुन् भन्ने पत्ता लगाउनुभएको हो ।’
कादरीले भनेझैँ शाह मिस्किनबारे उपत्यको मुसलमान समुदायमा मौखिक इतिहास मात्र जीवित छ । त्यसमा कति ‘फ्याक्ट’ र कति ‘फिक्सन’को मात्रा छ, हालसम्म कसैले पत्ता लगाउने कोसिस गरेको छैन ।
मुसलमान समुदायमा प्रचलित मौखिक इतिहासअनुसार दलबलसहित काठमाडौं आएका शाह समसुद्दीन अन्द्राबी कश्मीरी मस्जिद पुग्नेबित्तिकै छुट्टै सुगन्ध छायो । उनले सुगन्ध पछ्याउँदै ध्यान गर्न बसे । ध्यानकै माध्यमबाट मजारमा शरीर दफन गरिएका शाह मिस्किन र गयासुद्दीनसँग संवाद गरे, अनि दरगाहमा उनीहरूको नाम लेख्न लगाए ।
समसुद्दीनले मिस्किन र गयासुद्दीनबारे पत्ता लगाएको कुरा ‘फ्याक्ट’ नजिक देखिन्छ भने उनले ध्यानबाटै मृतक सन्तसँग संवाद गरेको भने ‘फिक्सन’ लाग्छ । त्यसो त भारतबाट आएका शाह समसुद्दीन अन्द्राबी र उनको समूहबारे पनि लिखित विवरण पाउन मुस्किल छ ।
मौखिक इतिहास पुस्तान्तरण हुँदै जाँदा तिनको नाम समेत फरक परेको हुन सक्छ । नाम फरक परेको मान्ने हो भने मिस्किनको दरगाह पत्ता लगाउने व्यक्ति कश्मीरका सइदी समसुद्दीन अन्द्राबी हुन सक्छन् । तर, सइदी समसुद्दीन समेत सुफी सन्त नै थिए वा कश्मीरमा कादरी सुफी पन्थ स्थापना गर्ने सइद निमातुल्लाह साह कादरीका चेला सेख मिराक मिरका पिता मात्र, यकिन गर्ने आधार छैन ।
हमिद नसिम राफियबादीले ‘सेन्टस् एन्ड सेभियर्स अफ इस्लाम’मा सइदी समसुद्दीन अन्द्राबीलाई सेख मिराक मिरका पिता भनी लेखेका छन् (पृ. २३९) । पुस्तकमा अन्द्राबीका पुर्खा इरानको खोरासानस्थित अन्द्राबबाट सुल्तान सिकन्दरको शासन (सन् १३८९–१४१३)का बेला कश्मीर आइपुगेको उल्लेख छ ।कश्मीरसहित दक्षिण एसियाभर अन्द्राबबाट आएका मुसलमानका सन्तानले अन्द्राबी लेख्ने चलन अहिलेसम्म चलिरहेकै छ । यस आधारमा शाह मिस्किनको दरगाह पत्ता लगाउने भारतीय सुफी सन्त पनि अन्द्राबी मूलकै थिए भन्ने आधारचाहिँ मौखिक इतिहासले दिएको छ ।
कश्मीरी मस्जिद परिसरका दुई दरगाहबारे यथार्थ पत्ता लगाउन लिखित दस्तावेजको खोजीका साथै उपत्यकाका किंवदन्तीलाई समेत पछ्याउनुपर्ने देखिन्छ । उपत्यका र विशेष गरी पहाडी मुसलमान समुदायमा शाह मिस्किनबारे एउटा किंवदन्ती प्रख्यात छ । त्यसलाई वृद्ध मुसलमानले मौखिक रूपमै पुस्तान्तरण गर्दै आइरहेका छन् ।
लाजिम्पाट निवासी ८४ वर्षे नियालीले सुनाएको किंवदन्तीअनुसार कुनै बेला (मल्लकाल ?) हालको रानीपोखरी, दरबारमार्ग, बागबजारलगायत क्षेत्रमा घना जंगल थियो । त्यही घना जंगलमा कतैबाट आएर तपस्या गर्न बसेका थिए, एक फकिर । उनले हाल रानीपोखरीको दक्षिणपट्टि किनारामा रहेको ढुंगाको हात्ती भएकै स्थानलाई अस्थायी मुकाम बनाए । त्यहाँ मृगको छालामा बसेर तपस्या गरिरहेका फकिरलाई कसैले वास्ता गरेका थिएनन् ।
एकदिन उनले आफ्नो दैवी शक्ति प्रदर्शन गर्ने सोच बनाए । तन्त्रमन्त्र र दैवी शक्तिमार्फत तत्कालीन राजाले प्रयोग गर्ने ऐरावत (सेतो हात्ती)लाई आफूसामु उपस्थित गराए । हात्तीलाई आफ्नो जालमा पारेका सन्तले त्यसलाई सानो बनाएर एउटा कचौराले छोपिदिए ।दरबारमा राजाको सवारी चलाउने बेला हात्तीको खोजी भयो । सबैतिर खोजी गर्दा पनि हात्ती भेटिएन । आजित सिपाही र भारदारले फर्कंदै गर्दा सन्तलाई देखे । उनीहरूले तिनलाई हात्तीबारे सोधे । सन्तले हात्ती आफूसँग भएको बताए । त्यहाँ हात्ती भने देखिएन । सिपाहीले सन्तको कुरा बेलिविस्तार लगाएपछि राजा स्वयं सन्तसामु उपस्थित भए ।
राजाले सन्तलाई सोधे, ‘तपाईंले मेरो हात्ती मसँग छ भन्नु भएछ, कहाँ छ देखाउनुस् ।’ सन्तले जवाफ फर्काए, ‘हात्ती मसँग छ, तपाईंलाई चाहियो भने फिर्ता दिन्छु ।’ राजालाई सन्तको कुरा विश्वास लागेन । उनले सन्तसँग सर्त राखे, ‘तपाईंले मलाई हात्ती दिनसक्नुभयो भने म तपाईंले जे माग्नुहुन्छ त्यही दिन्छु, सक्नुभएन भने तपाईंले मलाई म जे माग्छु त्यही दिनुपर्छ ।’
सर्त मञ्जुर गरेका सन्तले कचौरा खोलेर हात्ती देखाइदिए । मुसाजस्तै सानो बनेको हात्तीलाई पुरानै अवस्थामा फर्काइदिए । यो देखेर चकित राजाले सन्तलाई सर्तअनुसार केही कुरा माग्न आग्रह गरे । ‘म तिम्रो मुलुकमा तपस्या गर्ने अलिकति स्थान चाहन्छु,’ सन्तले भने । राजाले कति चाहनुहुन्छ त्यत्ति नै लिनुहोस् भन्दा सन्तले आफूले ओछ्याइरहेको मृगको छाला घुमाएर फाले । छाला हालको रानीपोखरीदेखि डिल्लीबजार–बागबजार–टेकु हुँदै इन्द्रचोक–असनसम्म पुगेर उनी भएकै स्थानमा फर्कियो । राजाले सन्तलाई रानीपोखरी दक्षिणको भू–भाग तपस्या गर्न दिए ।
त्यही क्षेत्रमा उनले एउटा मस्जिद बनाए र तपस्या गर्दागर्दै कुनै दिन अल्लाहको शरणमा गए । सन्तले फालेको मृगको छाला घुमेका स्थानमा पछि मुसलमान बस्ती बसे, जसमध्ये केही बस्ती अहिलेसम्म पनि कायम छन् ।यो किंवदन्तीको सबैभन्दा रोचक पक्ष के छ भने उपत्यकाका विभिन्न किंवदन्तीमा उपस्थित हुने ऐरावत हात्ती यसमा पनि उपस्थित छ । अहिले पनि उपत्यकाका विभिन्न जात्रा पर्वमा यस्तो हात्तीको प्रतिमा बनाएर नाच निकाल्ने चलन छ ।
काठमाडौंको किलागल टोलको नामसम्बन्धी किंवदन्तीमा समेत सेतो हात्ती नै जोडिन आइपुग्छ । हात्तीलाई नेवारी भाषामा ‘किसी’ भनिन्छ भने वासस्थानलाई ‘गः’ भनिन्छ । यस आधारमा हात्तीको वासस्थान भएकाले किसीगःबाट किलागः हुँदै यो टोलको नाम किलागल हुन पुगेको किंवदन्ती छ (नरेन्द्र महर्जन, देवीचान एक परिचय, पृ. २)। इन्द्रजात्राका बेला किलागलबाट निकालिने देवीचानमा सेतो हात्तीको प्रतिमा बनाएर नचाउने चलन अहिले पनि कायमै छ ।उपत्यकाका अन्य किंवदन्तीमा झैँ शाह मिस्किनको किंवदन्तीमा पनि जोडिन आइपुग्ने सेतो हात्तीको कथाले कुनै ऐतिहासिक पुस्ट्याइँ भने दिँदैन । उनी को थिए र कहाँबाट आएका थिए ? भन्ने इतिहास खोतल्न भने किंवदन्ती सहायक हुन सक्छ ।
उपत्यका मुसलमान समुदायमा प्रचलित मौखिक इतिहासअनुसार कश्मीरी मस्जिद परिसरको अर्को दरगाहमा समाधिस्त शाह गयासुद्दीनलाई भने मिस्किनले नै बोलाएका थिए । ‘उहाँले तपस्या गर्ने ठाउँ पाइसकेपछि तान्त्रिक विधिबाट यही बसीबसी कश्मीरमा रहेका भाञ्जालाई बोलाउनुभएको थियो भन्ने अनुश्रुति छ,’ मौलाना कादरी भन्छन्, ‘यस आधारमा उहाँका भाञ्जा कश्मीरी हुनुहुन्थ्यो भन्ने पत्ता लाग्छ तर मिस्किन बाबा स्वयं कहाँको हुनुहुन्थ्यो त्यसबारे कसैलाई थाहा छैन ।’
नेपाली मुसलमानबारे हालसम्म लेखिएका पुस्तक र अध्ययन अनुसन्धानको विवरणले देखाउँछ, उनीहरूबारे हालसम्म खासै अध्ययन भएको छैन । न मुसलमान समुदायले आफ्नो इतिहासको यथार्थ खोतल्न गहन अध्ययन, अनुसन्धानको पहल गरेको छ, न त सरकारले नै । अहिलेसम्मका अध्ययन पनि दातृ निकायलाई रिझाउन तिनैद्वारा सञ्चालित विकासे कार्यक्रममार्फत गरिएको देखिन्छ ।
अध्ययनकै कमीका कारण कश्मीरी मस्जिद परिसरको दरगाहमा दफन दुई सुफी सन्तको समेत यकिन विवरण स्वयं मुसलमानलाई थाहा छैन । यसको थप अध्ययन गरेर प्रचार–प्रसार गर्ने हो भने, शाह मिस्किन र शाह समसुद्दीन बाबाका मजार र दरगाह पनि भारतको दिल्लीस्थित निजामुद्दीन वा राजस्थानको अजमेर सरिफजस्तै मुसलमानका प्रसिद्ध तीर्थस्थल पो बन्ने थिए कि ?
-नागरिकदैनिक बाट
प्रतिक्रिया दिनुहोस