एजेन्सी । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिनुभयो । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ । अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो ।
उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताउनुभयो । उहाँले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताउनुभयो । उहाँले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिनुभयो ।
चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्रा्ष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ । चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि