भोलि अपर तामाकोसीको सुरुङ ब्रेक थ्रु !

शनिबार, ०२ मंसिर २०७४, १४ : २७
भोलि अपर तामाकोसीको सुरुङ ब्रेक थ्रु   !

 बहुप्रतीक्षित अपर तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ भालि ब्रेक थ्रु हुने भएको छ ।

४ सय ५६ मेगावाटको आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । अपर तामाकोसी स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो ।

आयोजनाको अडिटसहित सुरुङको कुल लम्बाइ १८।२ किलोमिटर रहेको छ । मुख्य सुरुङ ८।५ किलोमिटरको काम अन्तिम अवस्थामा पुगेको र अन्य सुरुङको काम पूरा भइसकेको उनले बताए । मुख्य सुरुङको केही मिटर छेडिन बाँकी रहेको र आइतबारसम्म ब्रेक थ्रु हुने उनले बताए ।

हालसम्ममा समग्र आयोजनाको काम ९२ प्रतिशतभन्दा बढी पूरा भएको र तोकिएको समयसीमामै आयोजना सम्पन्न हुने श्रेष्ठले बताए । आयोजनाले ४ मंसिरलाई सुरुङको ब्रेक थ्रु हुने दिन तोके पनि त्योभन्दा एक दिनअघि ३ मंसिरमै काम सकिने उनले जानकारी दिए ।

२०६७ भदौमा निर्माण सुरु गरेर २०७२ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको निर्माण अवधि २०७२ वैशाखमा गएको भूकम्प र भारतीय नाकाबन्दीका कारण दुई वर्ष लम्बिएको हो । समयसँगै आयोजनाको लागत पनि थप भएको छ । सुरुमा आयोजना निर्माणको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिए पनि अहिले ६० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट २०७५ पुसमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । ६० अर्ब रुपैयाँ पुगे पनि प्रतिमेगावाट लागतका हिसाबले आयोजना निकै सस्तो हुनेछ । तामाकोसीको प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ मात्र हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि ४७ किलोमिटरको दूरीमा निर्माण हुने २२० र १३२ केभिए प्रसारण लाइन न्यू खिम्ती सबस्टेसनमा जोडिनेछ । सो प्रसारण लाइनका १ सय २७ टावरमध्ये अधिकांशको निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको उनले बताए । अहिले आयोजनास्थलमा सुरुङको सफाइ, प्लास्टर, कंक्रिडलाइनको काम र सामग्रीहरूको फिटिङ गर्ने काम भइरहेको छ । यसअघि मुख्य सुरुङको सुरुको भाग, भैँसे अडिट सुरुङ, पनेस्टक अडिट सुरुङ, टेलरेस सुरुङका काम सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस