रातको १२ बजे गायक दीपक बज्राचार्यको अर्को धमका

बुधबार, ०७ फागुन २०७६, १४ : ४७
रातको १२ बजे गायक दीपक बज्राचार्यको अर्को धमका

काठमाडौँ । मन मगनपछिकै सिक्वेलमा गायक दीपक बज्राचार्यले रातिको भिडियो भएको गीत सुनन... सार्वजनिक गरेका छन् । उनको नयाँ गीत रातिको भिडिओलाई उनी मन मगन पछिकै कामको निरन्तरता मान्छन्। यो राति दीपकले निर्देशन गरेको पहिलो भिडिओ हो। यो गीतको कथासँग मन मगनको कथा जोडिएको उनको भनाइ छ । 

रातको बाह्र बजे हरर ध्वनिसहित भिडिओ सुरू हुन्छ। जंगलबीच सुन्दर युवती बाथट्यूबमा नुहाइरहेकी हुन्छिन्। कालो पहिरनमा उनी एलओडी लर्ड अफ द ड्रिंक्स क्लबमा पुग्छिन्, जहाँ दीपक गितार बजाएर गुनगुनाइरहेका हुन्छन्–

राति राति अप्ठ्यारो छ दिनमै भेट्नु, सारै गाह्रो लाग्दो रैछ मनलाई छेक्नु...

गायकलाई मोहनी लाएर आफ्नो पासोमा पार्नु ती युवतीको उद्देश्य हुन्छ। गायकको वरिपरि घुमिरहेका लाखे र झाँक्रीले युवतीको नियत बुझेका छन्। भिडिओ निर्देशक दीपकका अनुसार, यी दुई पक्षको द्वन्द्वमार्फत् उनले आफ्नो र पराइको फरक छुट्याउन खोजेका हुन्।

गीतमा फ्रेन्च युवती मार्गट अरनाउडको मुख्य अभिनय छ। विदेशी पात्रलाई नेगेटिभ इनर्जीको र लाखे झाँक्रीलाई मौलिक परम्पराको सुरक्षा कवचको प्रतिनिधि बनाइएको छ। गायकलाई वशमा पार्ने युवतीको उद्देश्यबाट लाखे र झाँक्रीले जोगाउन सफल भएका छन्, तर नेगेटिभ इनर्जी पूर्णतः नाश नभएको सन्देश पनि दिइएको छ। ती युवतीले भाग्ने क्रममा आफ्नो सल छुटाउँछिन्, जसको माध्यमबाट नेगेटिभ इनर्जी अर्को युवतीमा सर्छ। 

एकातिर गीतले बोकेका सन्देश र अर्कातर्फ पहिलोपटक निर्देशक बनेकाले उनी रातिलाई विशेष मान्छन्। भन्छन्, गाउन थालेको तीस वर्ष भयो। मनोरञ्जनबाहेक संगीतमार्फत् समाज र संस्कृतिको पक्षमा पनि केही योगदान दिन सकूँ भनेर काम गरेको छु। यो गीत भिडिओ उनलाई खास लाग्नुको अर्को कारण छ - भिडिओ परिकल्पना उनकी छोरी चेरिसा बज्राचार्यले गरेकी हुन्।  यतिबेला भिडिओले खुब चर्चा पाइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस