- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका २० भुवनवस्तीमा प्रकाश पन्तले फूल खेती गर्दै आएको १८ वर्ष भइसकेको छ । १० कठ्ठाबाट सुरु गरेका उनले अहिले ८ बिघा जमिन भाडामा लिएर फूल फुलाइरहेका छन् । गतवर्षसम्म २० बिघा क्षेत्रफलमा फूलखेति गरेका उनले यस वर्षबाट आधुनिक प्रविधिको प्रयोग गरी जग्गाको क्षेत्रफल घटाएका हुन् । प्रविधिको प्रयोगपछि ८ बिघा जमिनबाटै २० विघामा उत्पादन भइरहेको परिमाणमा फूल उत्पादन हुने पन्त बताउँछन् ।
माटोको सट्टा गमलामा कोकोपिट राखेर फूल फुलाउने प्रविधि उनले प्रयोग गरेका हुन् । उनको फुलबारीमा कुनै फूल गमलामा रोपिएका छन् भने कुनै सिधै बारीमै रोपिएका छन् । केही गमलामा माटो राखेर फूल रोपिएका छन् भने केहीमा कोकोपिट राखेर । पन्त स्थानीय स्तरमा बिक्री गर्ने फूल उत्पादन गर्न गमलमा माटोको प्रयोग गर्छन् भने काठमाडौंलगायतका बाहिरी शहरमा पठाउने फूललाई कोकोपिटको प्रयोगबाट उत्पादन गर्छन् । कोकोपिट हलुका हुने हुँदा ढुवानी गर्न पनि सजिलो हुन्छ ।
उनले प्रविधिको प्रयोगसँगै जनशक्तिको प्रयोगमा कमी ल्याएका छन् । गत वर्षसम्म ६० जनाले रोजगारी पाइरहेको उनको बारीमा अहिले २० जनामात्र छन् । गतवर्ष तीन करोड रुपैयाँको कारोबार गरेका पन्तले यस वर्ष साढे तीन करोडको कारोवार हुने अपेक्षा राखेका छन् । फूल व्यवसायबाट भएको कमाइलाई प्रविधि विकास र संरचनाहरु निर्माण गर्नमै बढी खर्च गरिरहेको पन्तले बताए ।
एब्लम फ्लोरा फार्म प्रालिका नामले सञ्चालित उनको फूलबारीमा ग्लाडीओलस, गोदाबरी र जिप्सीलगायतका फूल धेरै रोपिने गरेको भएपनि उनले थारैमात्रामा थुप्रै प्रजातिका फूल रोपेका छन् ।
यसअघि बारीबाटै होलशेलमा फूल बेच्दै आएका पन्तले खुद्रा रुपमा पनि व्यापार गर्नका लागि ८ महिना अघिदेखि क्षेत्रपुरमा ड्रिम्स गार्डेन नामक फूल विक्री केन्द्र (नर्सरी) खोलेका छन् । सो केन्द्रमा पन्तले आफ्नै बारीमा फूलेको फूल ल्याई साथै अन्य किसानले फुलाएका फूललाई खरिद गरी बिक्री गर्ने गर्छन् । उनले त्यहाँ पनि सात कठ्ठा जग्गा भाडामा लिई नर्सरी बनाएर गमलामा कोकोपिट राखेर फूल पनि फुलाइ रहेका छन् ।
पछिल्लो समय घरघरमा गमलामा फूल राखेर सजाउने चलन बढ्दै गएको छ । पन्तको नर्सरीमा गृह सजावटका लागि फूल लिन आउने ग्राहकहरु धेरै छन् । साथै विवाहका लागि चाहिने सम्पूर्ण सजावटका लागि, बुके, बास्केटलगायतका पुष्प गुच्छाहरु, दुबो र सयपत्रीका माला, सबै प्रकारका कटफ्लावरहरु, विभिन्न फूलका विरुवा, तरकारी र फलफूलका बिरुवाहरु खरिदका लागि पन्तको नर्सरीमा ग्राहकहरु आउने गर्छन् । यसका साथै उनले उत्पादन गरेका फूलहरु काठमाडौं, पोखरासम्म पनि पुग्छन् ।
अरु किसानहरुले पनि यस पेसालाई अँगाल्न सकून् भनेर पन्तले धेरै जसो किसानलाई फूल खेती गर्न सिकाएका छन् । उनले किसानहरुलाई फूलका बिरुवा उपलब्ध गराउनुका साथै आवश्यक सल्लाह सुझाव दिँदै आएका छन् । आफूले कतिपय फूलका बिरुवा यहीँ उत्पादन गर्ने र कतिपय बिरुवाहरु नेदरल्याण्डबाट ल्याएर यहाँ त्यसलाई विकास गर्ने गरको उनले बताए ।
फूल व्यवसायबाट सन्तुष्ट रहेको बताउने पन्तले फूल व्यवसाय गरेका कारण आफ्नो जीवन सफल भएको ठान्छन् । सुरुका वर्षहरुमा काम नजान्दा घाटा नै व्यहोर्नुपरेको भएपनि हार नखाई कामलाई निरन्तरता दिएका कारण आफू अहिले सफल भएको उनले बताए । कुनैकुनै वर्ष असिना र पानीले नोक्सान गर्ने गरेको भए पनि अर्काे वर्ष राम्रो हुने गरेको उनले सुनाए ।
गुल्मीको छत्रकोट गाउँपालिका ३ मा जन्मिएका हाल भरतपुर महानगर–२ क्षेत्रपुरका स्थायी बासिन्दा ४५ वर्षीय पन्तले वि.सं. २०५७ सालमा अङ्ग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरेका थिए । अङ्ग्रेजी पढेकाले जागिरका थुप्रै अवसरहरु भएपनि आफूलाई उद्यम गर्न मन लागेका कारण जागिर नखाएको उनले सुनाए । २७ वर्षको उमेरदेखि फूल खेतीमा होमिएका पन्तले त्यसअघि किराना पसल र अगरबत्ती उद्योग पनि सञ्चालन गरेका थिए ।
नेपालमा बिक्री हुने सबैजसो फूल विदेशबाट आयात हुने थाहा पाएपछि आफूले नेपालमा फूल खेती गर्ने सोच बनाएको उनले विगत सुनाए । उनी बुटवलमा सञ्चालित अगरबत्ती उद्योगलाई छाडेर फूल खेती गर्न चितवन आएका थिए । फूलका लागि हावापानी र सबैतिरबाट पायक पर्ने ठाउँ चितवन भएकाले यो ठाउँलाई रोजेको उनले बताए ।
२०६८ सालमा पन्तले नै नेपालमै पहिलोपटक ग्रीन हाउस भित्र्याएका हुन् । त्यसपछि नेपालमा ग्रीनहाउसको प्रयोग गर्न थालिएको हो । चितवनमा फूलको व्यवसायिक खेती गर्नेमा पन्त दोस्रो नम्बरमा पर्छन् । उनीभन्दा अघि रत्ननगरमा नारायण आचार्यले फूल खेती गरेका थिए । अहिले पनि चितवनमा धेरै क्षेत्रफलमा फूलखेती गर्ने पन्त नै हुन् ।
पन्त फ्लोरिकल्चर एशोसियशन नेपाल चितवनका अध्यक्ष पनि हुन् । उनका अनुसार अहिले चितवनमा नर्सरी र पुष्प व्यावसायी गरेर २५ जनाले व्यवसायिक रुपमा स्थायी तवरले बाह्रैमास फूल खेती गरिरहेका छन् । सिजन अनुसारको फूल उत्पादन गर्ने किसानहरुको एकिन तथ्यांक नभए पनि ४० जनाको हाराहरीमा रहेका उनले बताए । विशेष गरी उनीहरुले तिहारको बेलामात्र सयपत्रीको व्यावसायिक खेती गर्छन् ।
प्रणय दिवसमा रोपेनन् गुलाब
प्रणय दिवसमा पन्तले गुलाब फूल फुलाउन सक्दैनन् । उनलाई यहाँको हावापानीले गुलाब फूल फुलाउन साथ दिएको छैन् । चैत बैशाख महिनामा उनले गुलाब फूल फुलाएर बेच्दै आएका छन् । उनले गत वर्षभरि आफ्नो बारीमा उत्पादन गरेर एक लाख स्टिक गुलाब बेचेको बताए ।
‘गुलाब फूललाई बढी उज्यालो चाहिन्छ, पुस, माघ र फागुनमा जतिबेला प्रेम दिवस पर्छ, त्यो बेला चितवनको गुलाब फूललाई उत्पादन हुने हावापानी हुँदैन’ उनी भन्छन्, ‘प्रेम दिवसमा गुलाब फूलको अत्याधिक माग हुन्छ, त्यो बेला चितवनको मौसमले गुलाब फूललाई साथ दिँदैन ।’
गत वर्ष उनले प्रेम दिवसमा गुलाब फूल बेचेका थिए, तर यहाँको होइन, बेङ्लोरबाट आयात गरेर । यो वर्षको प्रेम दिवसमा पनि उनले भारतको बैङ्गलोरबाट गुलाब आयात गरी उनले बेचिरहेका छन् ।
अर्काे वर्ष नयाँ गुलाबको नयाँ प्रजाति ल्याएर लगाउने योजना उनले बनाएका छन् । चितवनमा प्रणय दिवसका बेला मात्र करिव ४० हजार गुलाब फूलको स्टिक आवश्यक पर्ने उनी बताउँछन् ।
नेपालमा फूल खेतीको सम्भावना
धेरै किसानका गुरु बनिसकेका र लामो समयसम्म फूल खेती गरी अनुभवले विज्ञ जस्तै बनेका पन्तले नेपालमा फूल खेतीको प्रचुर संभावना देख्छन् । जन्ममा होस या मृत्युमा र मन्दिर होस् या घाटमा सबैतिर जहिले पनि आवश्यक पर्ने फूल नेपालको उत्पादनले नधानेर विदेशबाट आयात भइरहेको छ । यसैले पनि नेपालमा व्यावसायिक फूलखेतीलाई विस्तार गर्दै जान सके फूल खेतीले राम्रो आम्दानी दिन सक्छ ।
पन्तको भनाइअनुसार भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा धेरै किसिमका फूलहरु फुलाउन सकिन्छ । कतिपय फूलहरुलाई मौसम, तापक्रम र सूर्यको प्रकाशले साथ नदिने भए पनि ती फूलहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न सकिन्छ । यस्तै, सिजनअनुसारका फूलहरु लगाउन सके साधारण तरिकाले पनि फूलखेती गर्न सकिन्छ ।
पन्तले नेपालमा उत्पादित फूलले बजार मागको करिव ७० प्रतिशत जति धान्ने बताए । ‘फूल र सिजनअनुसार आयात निर्यातमा फरक पर्छ । एउटै जातको फूल कुनै सिजनमा आयात गर्नुपर्दैन भने कुनै सिजनमा गर्नुपर्छ । कुनै सिजनमा निर्यात पनि भएको हुन्छ’ उनले भने ।
सरकारलाई प्रकाशको आग्रह
प्रकाशले किसानलाई दिइने ठूलठूला रकमको अनुदानलाई बन्द गरी सकेसम्म बिना व्याज नसके सहुलियत दरमा भएपनि सबैलाई ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
‘अनुदानमा सबैको गिद्धे नजर लाग्छ । कोहीले पाउँछन्, कोहीले पाउँदैनन् । कोही अनुदान पाउनकै लागि कृषक बन्छन् र पाएपछि कृषि पेसा छाड्छन् । उनी भन्छन्, ‘फिर्ता गर्ने भएपछि अनुदान लिनजस्तो गाह्रो पनि हुँदैन् । सबैले पाउँछन् ।’
सानासाना गरिब किसानहरुलाई भने थोरै रकम (१ लाखभन्दा कम) अनुदान दिनु राम्रो हुने उनले बताए । प्रकाशका अनुसार साना किसानले अनुदान पाएदेखि आफ्नो व्यवसाय बढाउँदै जान्छन् । व्यवसाय बढाएर अलिअलि कमाएपछि उनीहरुलाई अनुदान नदिई ऋण दिनुपर्छ । फेरि लगानीको अभावमा तड्पिएका गरिब कृषकलाई अनुदान दिनपर्छ । यसरी काम गरेमा धेरै किसानले व्यावसायिक खेती गर्छन् । धेरै किसानहरुले व्यावसायिक खेती गरेपछिमात्र देश कृषिमा आत्मनिर्भर बन्न सक्ने उनले बताए ।
पन्तले ६९/७० सालमा प्लाष्टिक र बीउ किन्नका लागि ३८ लाख रुपैयाँ अनुदान पाए । त्यसपछि उनले केही पाएका छैनन् । उनका अनुसार केहीसीमित किसानहरुलाईमात्र त्यही पनि वर्षेनि नभई कहिलेकाँही मात्र दिइने अनुदानले केही काम गर्न सक्दैन । लगानीको अभाव र जोखिम बहन क्षमता नभएकै कारण नेपालमा धेरै किसानहरुले व्यावसायिक खेती गर्न सकेका छैनन् । त्यसैले फिर्ता गर्ने गरी वर्षेनि सबै किसानहरुलाई सरकारले आर्थिक सहयोग गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
बुधबार, २९ माघ २०७६, १३ : ५०
लेखकबाट थप