सगरमाथा संवाद : एक बहुआयामिक बहस

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, ११ : ००
सगरमाथा संवाद : एक बहुआयामिक बहस

काठमाडौँ । नेपालसँग समस्यामात्र छैन । धेरै उपलब्धि र आविष्कारका सफलता पनि छन् । जुन कुरा अन्तर्राष्ट्रिय सतहमा ओझेलमा परेका छन् । 

विगतको राजनीतिक संक्रमणकाल र अर्को दश वर्ष त्यसको व्यवस्थापनमा खर्चनुपर्दा आर्थिक विकासको हिसाबले नेपालको अवस्था सन्तोषजनक रहेन । तथापि विगत तीन वर्षको अन्तरालमा प्राप्त गरको ६ र ७ प्रतिशतको आर्थिक वृद्धि विश्वभर उत्कृष्ट देशभित्र पर्छ । 

देशभित्रको आन्तरिक द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्य होस वा विश्व शान्तिका लागि निलो हेल्मेट पहिरिएर सेवा गर्ने मामलामा किन नहोस् नेपालको अनुभव र अभ्यास उदाहरणीय छ । सहभागितामुलक विकासको अवधारणामा प्राप्त गरेका कयौँ सफलताका ठेली बनेका छन् । परम्परागत ज्ञान र सीपको खानीसँगै प्राकृतिक स्रोतसाधन एवम् जैविक विविधताले भरिपूर्ण यहाँको भौगोलिक अवस्थितिको उपयुक्त प्रचार प्रसार हुन सकेका छैनन् ।

यस्तै धेरै आफ्ना अनुभव अन्तरराष्ट्रिय समुदाय सामु प्रस्तुत गर्ने र ज्वलन्त विश्वव्यापी समस्यामा साझेदारी गर्ने मनसायले नेपाल सरकारले सगरमाथा संवादको अवधारणा ल्यायो । जसअनुसार आगामी चैत २० देखि तीन दिन सगरमाथा संवादको पहिलो संस्करण हुँदैछ । त्यस संवादको पूर्वअभ्यासका रुपमा आइतबारमात्र सगरमाथा राष्ट्रिय संवादको आयोजना राजधानीमा भयो । जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्यको नारासहित आयोजित राष्ट्रिय संवादले चैतमा हुने सगरमाथा संवादको मुख्य श्रृंखलाको आधारशीला तय गरेको छ ।
प्रष्ट धारणा प्रस्तुत गर्नुपर्छ

विश्वका समग्र समुदायको उपस्थिति रहने संवादमा नेपालको आफ्नो प्रष्ट धारणा प्रस्तुत गर्नुपर्छ । विश्वमा आफ्ना अनुभव आदानप्रदान गर्दै राष्ट्रिय विकासमा साझेदारी गर्ने लक्ष्य सगरमाथा संवादका माध्यमबाट पूरा विश्वास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले व्यक्त गरे । उनले संवादबाट नेपाल लगायत विश्वले भोगीरहेको समसामयिक समस्या र चुनौतीको समाधान गर्न योगदान पुग्ने उल्लेख गरे ।

चैतमा हुने सगरमाथा संवादमा नेपालले प्रस्तुत गर्ने अवधारणापत्रको खाका राष्ट्रिय संवादले तयार पारेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत बताउँछन् । ‘जलवायु परिवर्तनको असर, न्यूनीकरण र अनुकुलनका साझा राष्ट्रिय एजेण्डालाई राष्ट्रिय संवादले मूर्त रुप दिएको छ,’ उनले भने, ‘हरित अर्थतन्त्रको जग बसाल्न समेत बाटो खुला गरेको छ ।’ आयोजकका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको सम्भावना पहिल्याउँदै आर्थिक समृद्धिको लक्ष्य भेट्न सगरमाथा संवादले मियोको काम गर्ने धारणा राख्छन् ।

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम न्यून राख्दै कसरी कम विकसित पर्वतीय र तल्लो तटीय मुलुकले एकिकृत साझेदारी गर्ने भन्ने मार्ग संवादले प्रसस्त पार्ने दाबी उनी गर्छन् । “एक बहुआयामिक बहसका रुपमा सरकारले सगरमाथा संवादलाई स्थापित गर्न खोजेको छ,” उनले भने, “पहिलो श्रृंखलामा जलवायु परिवर्तनसँग जोडिएर विश्वमञ्चमा नेपाल प्रस्तुत हुनेछ ।” अन्य श्रृंखलामा अन्य समसामयिक बिषयमा नेपालले पहल लिनेछ । आफूमात्र फाइदा लिने हैन । सानो देशले पनि चाहेको खण्डमा विश्वको फाइदामा योगदान दिनसक्छ भन्ने उदाहरण संवादले दिने उनको ठम्याइ छ ।

संवादको समापनमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले विभिन्न चारवटा समानान्तर सत्र र एउटा छुट्टै अन्तरक्रियाबाट आएका निष्कर्षलाई नेपालको साझा अवधारणाका रुपमा सगरमाथा संवादमा प्रस्तुत गर्ने जानकारी दिए । पहिलो सत्रमा ‘अनुकुलन, सहजपन र जीविका’ शिर्षकमा छलफल भयो । यस सत्रमा खाद्य तथा जल सुरक्षा र जलवायु परिवर्तनले ल्याउने विपत्तीका बारेका बहस भयो ।  

त्यस्तै  समानान्तर अर्को सत्रमा ‘हरित अर्थव्यवस्था र उर्जा’ शिर्षकमा छलफल भयो । जसमा जनताका लागि आवश्यक नीति, समृद्धि र विविध क्षेत्रका बारेमा विज्ञले बहस गरे । त्यस्तै ‘परिवर्तनकारी समाधानहरु’ शिर्षकमा बिशेष बहस भयो ।

जसअन्तर्गत रही प्रविधिमा लगानी र आविष्कार तथा प्राकृतिक पद्दतीमा आधारित समाधान एवं परम्परागत ज्ञानको चर्चा गरिएको थियो । अर्को एक समानान्तर सत्रमा ‘विश्वव्यापी साझेदारी र क्षेत्रीय सहयोग’ शिर्षकमा पनि सत्रहरुमा बिज्ञले बहस गरे ।

यसअन्तर्गत उच्च पर्वतीय भूभागलाई साना टापुराष्ट्रसँग जोड्दै जलवायु न्याय र महिला एवं युवाको त्यसमा भूमिकाको खोजी गरीएको थियो । एउटा छुट्टै पूर्ण अन्तरक्रियामा ‘१.५ डिग्री सेल्सियस तापक्रमको महत्वाकाँक्षा : हिमालका लागि तत्काल कार्ययोजना र मानव जातिकोे भविष्यका लागि मार्गनिर्देशन’ सम्बन्धि बिषयमा बहस भयो ।

त्यसका लागि आवश्यक उपाय र अवसरको चर्चा विज्ञले गरे । राष्ट्रिय संवादमा विभिन्न मन्त्रालयका मन्त्री, सरकारी पदाधिकारी, विज्ञ समुदाय, पर्वतीय तथा पर्यटनको क्षेत्रका अध्यता तथा अभियन्ता सहित झण्डै तीनसयजनाको सहभागिता थियो । समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा सगरमाथा संवाद हुनेछ । सगरमाथा संवाद आयोजना गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा स्थायी प्रकृतिको १० सदस्यीय सगरमाथा संवाद निर्देशक समिति गठन भएको छ । 
 

प्रतिक्रिया दिनुहोस