अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमन लगातार दोस्रो पटक विजयी

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, १८ : ५३
अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमन लगातार दोस्रो पटक विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज भएको खेलमा ओमनले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरसथित टीयू मैदानमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य ओमानले ३ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको हो ।

ओमानका लागि अकिब इल्यासले सर्वाधिक ७२ रन बनाए । उनले ११० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । ओपनर खावर अलीले ३१ रन जोडे । ओपनर जतिन्दर अली तेस्रो ओभरमा ४ रन मात्र बनाएर आउट भएपछि खावर अली र अकिबले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

नेपालविरुद्ध म्यान अफ दि म्याच बनेका मोहमम्द नदिमले अविजित ५५ रन बनाए । उनले ८५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै सुरज कुमारले ३५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३३ रन बनाए ।

नदिम र सुरज कुमारले पाँचौ विकेटका लागि अविजित ६३ रनको साझेदारी गरे ।

त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २१३ रन बनाएको हो ।

अमेरिकाका लागि इयान हल्यान्डले अर्धशतकीय पारी खेले । हल्याण्डले पाँचै विकेटका लागि अक्ष होमराजसंग ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासे । ५४ रन हुँदा ४ विकेट गुमाएको अमेरिकाको लागि हल्यान्ड र होमराजले अर्धशतकीय साझेदारी गरे ।

इयान अलान्डले ७८ बल खेल्दै ७ चौका मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अक्ष होमराजले ४४ रन बनाए । उनले ५३ बल खेल्दै ३ चौका २ छक्का प्रहार गरे ।

यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन बनाए । उनले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

ओमानका लागि मोहम्मद नदिमले ३ विकेट लिए भने कप्तान जिसन मक्सुद, उपकप्तान अकिब इल्यास र विलाल खानले २(२ विकेट लिए ।

८ ओभर बलिङ गरेका नदिमले ४३ रन खर्चेर ३ विकेट लिएका हुन् । कप्तान जिसन मक्सुदले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । उपकप्तान अकिब इल्यासले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । यस्तै बिलाल खानले ९ ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए । कलिमुल्लाहले १ विकेट लिए ।

यससँगै ओमानले लगातार दोस्रो जीत हात पारेको छ । ओमानले पहिलो खेलमा नेपाललाई १८ रनले पराजित गरेको थियो । लगातार दोस्रो जीतपछि ओमानले लिग २ मा अमेरिका समान १२ अंक जोडेको छ । अब शनिवार नेपाल र अमेरिका भिड्ने छन् ।