देवघाटधाम । हरेक वर्ष माघको पहिलो दिन अर्थात् माघे संक्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटधाममा संक्रान्ति नुहाउनेहरुको ठूलो मेला लाग्ने गर्छ । मकर संक्रान्तिका नामले समेत प्रसिद्ध माघेसंक्रान्तिका दिन देवघाटमा नेपालका विभिन्न भागबाटमात्र नभई भारतबाट समेत हिन्दू धर्मावलम्बीहरु स्नानका लागि आउने गर्छन् । सूर्य मकर राशिमा प्रवेश गरी उत्तरायण हुने माघको पहिलो दिन पवित्र कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटधामस्थित वेणीमा माघेसंक्रान्ति स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रही आएको छ ।
मकर मेलालाई व्यवस्थित पार्न देवघाट क्षेत्र विकास समितिले हरेक वर्ष विशेष व्यवस्था गर्दै आएको छ । बर्सेनी लाखौँ भक्तजन घुम्न र स्नानका लागि आउने देवघाटधाममा यसवर्ष पाँच लाख भक्तजनले माघेसंक्रान्ति मेलामा सहभागिता जनाएका छन् । यसवर्ष माघेसंक्रान्तिको दिन बिहान सबेरैदेखि दिउँसोसम्ममा चार लाखभन्दा बढी भक्तजनले स्नान गरिसकेको र साँझसम्म यो संख्या करिब पाँच लाख पुग्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
माघेसंक्रान्ति स्नान गर्न बुधबार सबेरैदेखि देवघाटधामको वेणी बगरमा भक्तजनको चाप उर्लेको थियो । दिउँसो दुई बजेपछि भक्तजनको चाप थामीनसक्नु गरी बढेको थियो । मकर स्नान गर्न आउनेहरु माघको चिसोलाई बेवास्ता गर्दै त्रिशुली र कालीगण्डकीको पवित्र संगममा डुबुल्की लगाइरहेका देखिन्थे । स्नानका क्रममा कुनै अप्रिय घटना नभएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । स्नान गर्न आउने भक्तजनको संख्या विगतमा भन्दा बढी देखिन्थ्यो ।
विगत वर्षको तुलनामा केही बढी भक्तजन देवघाट आएको अध्यक्ष पौडेलले प्रष्ट पारे । रामनगरदेखि देवघाटसम्मको सडक फराकिलो पारिएकोले साँघुरो बाटोका कारण हैरान हुँदै आएका भक्तजनहरुले यसपटक त्यस्तो समस्या भोग्नु नपरेको उनले बताए । बिहान सबेरै कुहिरो लाग्ने भएकोले नदीमा स्नान गर्ने भक्तजनको सुविधाका लागि मेला आयोजक देवघाट क्षेत्र विकास समितिले पर्याप्त बिजुली बत्तीको व्यवस्था गरेको थियो ।
पवित्र संगमस्थल वेणी
‘मुक्तिनाथबाट प्रवाहित हुँदै आएकी कृष्णगण्डकी र गोसाइँकुण्डबाट प्रवाहित हुँदै आएकी त्रिशुली नदीको पवित्र संगमस्थल वेणीबाट नारायणी नदीले जन्म लिन्छिन्’ देवघाटधामस्थित स्नान स्थल वेणीको महत्व बुझाउँदै हरिहर सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती भन्छन्, ‘माघ महिनाभर वेणीमा नुहाएर पुण्य आर्जन गर्न सकिन्छ ।’ एक महिनासम्म माघेसंक्रान्ति स्नान गर्न सकिने बताउँदै स्वामी ज्ञानानन्दले दुई नदीको संगम देवघाटधाममा आएर पितृलाई तर्पण दिएपछि गया, काशी गइरहन नपर्ने बताए ।
माघ एक गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुने जानकारी दिँदै उनले भने, ‘दक्षिणायन समाप्त हुनु र उत्तरायण सुरु हुनु निकै महत्वपूर्ण हुन्छ । पौराणिक कथा महाभारतमा भीष्म पितामहले उत्तरायण सुरु भएपछि शरीर त्याग गर्नु भएको उल्लेख छ ।’
माघेसंक्रान्तिको दिन कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा स्नान गरे पुण्य प्राप्त गरिन्छ भन्ने धार्मिक विश्वासका कारण हरेक वर्ष देवघाटमा माघेसंक्रान्ति मेला लाग्दै आएको छ ।
धार्मिक पर्यटनको सम्भावना
विश्वमा पर्यटनको सुरुवात धार्मिक पर्यटनबाट भएको मानिन्छ । तीर्थाटनका क्रममा तीर्थालुहरु घुम्दै तीर्थस्थलहरुमा पुग्ने क्रमबाट पर्यटन सुरु भएको हो । मान्छेलेमात्र होइन, पौराणिक कालमा देवताबाट समेत घुमफिर हुने गरेको किम्वदन्ती पाइन्छ ।
हिन्दूहरुको पवित्र तीर्थस्थलमध्ये विशेष महत्व बोकेको देवघाटधाममा बर्षेनी करिब दस लाख श्रद्धालु र तीर्थालु पुग्ने गर्छन् । देवघाटमा माघेसंक्रान्तिबाहेक साउन महिनाभरी बोलबम मेला, हरेक एकादशी र औँसी तथा पूर्णिमामा विशेष चहलपहल हुने गर्छ । देवघाटका कल्पवासीहरु १२ महिना भजन किर्तनमा रमाउँछन् । पौराणिक कालमा देवताहरु समेत भ्रमण गर्न आउने थलो भएकोले देवघाट नाम रहन गएको भन्ने किम्वदन्ती छ ।
देवघाटको पुरानो नाम देवाट हो । देवताहरुले भ्रमण गर्ने भएकोले देवघाटलाई पहिले देवाटन भन्ने गरिन्थ्यो । देवहरुको अटन हुने ठाउँ भन्ने अर्थमा देव र अटन मिलेर देवाटन शब्द बनेको हो । यही शब्द समयान्तरमा देवाटहुँदै देवघाट नाम स्थापित हुन पुगेको धार्मिक मान्यता छ । देवघाट तीर्थस्थलको महत्व स्कन्द पुराणको हिमवत् खण्ड अन्तर्गत गण्डकी महात्म्यमा उल्लेख छ । अन्य पुराणहरुमा पनि देवघाटधामको वर्णन भेटिन्छ । देवघाटले धार्मिक, ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको छ । धार्मिक पर्यटनको हिसाबले देवघाटधाम केन्द्रबिन्दु नै बन्न सक्छ । कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाट तनहुँ जिल्लामा पर्छ ।
देवघाटको आध्यात्मिक महत्वलाई जोगाएर राख्न तनहुँ, नवलपरासी र चितवनको ६२ वर्गकिलोमिटर भू–भाग समेटेर देवघाट क्षेत्र कायम गरिएको छ । देवघाट क्षेत्रको विकासका लागि सरकारले अधिकारसम्पन्न देवघाट क्षेत्र विकास समिति गठन गरी आवश्यक बजेट विनियोजन गर्दै आएको छ । समुद्र सतहबाट दुई सय मिटरदेखि पाँच सय ७५ मिटर उचाईमा रहेको देवघाट उत्तर–दक्षिण फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
बुधबार, ०१ माघ २०७६, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटधाम बाढीको जोखिममा
देवघाटमा मोटरबोट सञ्चालन