- यलु जोशी
काठमाडौँ । नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ ।
माघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
उहाँले माघे सङ्क्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भन्नुभयो, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । ”
नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थप्नुभयो, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ । ”
टोखाका चाकु उत्पादक राजकुमार श्रेष्ठलाई माघे सङ्क्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उहाँ भन्नुहुन्छ, “चाकु बनाउ १५ दिन अघिबाटै व्यस्त हुनुपर्छ । ” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिनुभयो ।
यता पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिनुयभो । उहाँ बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिनुहुन्छ ।
बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उहाँले बताउनुभयो । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव उहाँको छ । यता संस्कृतविद् ओम धौभडेलले पुस महिनामा हुने यःमरि पुन्हिमा नेवार समुदायले चाकुको यःमरि खाने चलन छ । मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको जानकारी उहाँले दिनुभयो ।
“यःमरि पुन्हिमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो”, धौभडेलले भन्नुभयो, “माघे सङ्क्रान्तिमा भने काँचो घ्यू र चाकु खाइन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ । ”
उहिले उहिले बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको उहाँले जानकारी दिनुभयो ।
अन्य समुदायमा पनि माघे सङ्क्रान्ति आआफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ । त्यस्तै थारू समुदायले ‘माघी’ भनेर मनाउँछन् । बाहुन तथा क्षत्रीले तिलको लड्डुका साथै विभिन्न खाले तरुल र खिचडी खाएर मनाउने गर्छन् ।
यसरी बन्छ चाकु
व्यवसायी श्रेष्ठका अनुसार कसौँडी आकारको तामाको भाँडामा सक्खर–पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउने । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ । त्यसपछि यो दह्रो भएर चाकुजस्तै आकारमा आइसकेको हुन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर सरसर तानिन्छ । - गाेरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ पुस २०७६, ०८ : ००
लेखकबाट थप