मिटर ब्याजले तराई आक्रान्त

पत्रपत्रिकाबाट

विहीबार, २४ पुस २०७६, ०७ : ३३
मिटर ब्याजले तराई आक्रान्त

काठमाडौं ।  तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ । केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । सो घटना सेलाउन नपाउँदै सर्लाहीमा भएको मिटर ब्याजको अर्को धन्दाले तराई–मधेसमा यसको बिगबिगी रहेको खुलासा भएको हो ।

तराईका विभिन्न जिल्लामा हजारौंको संख्यामा मिटर ब्याजी रहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन् । ‘यो त सामान्य टे«लर मात्रै हो, यसरी ब्याजमा ठगी गर्नेहरू हजारौं छन्,’ जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक अधिकृतले भने ।

सर्वसाधारणलाई ऋणबापतको रकम दिएपछि महाजनहरूले उनीहरूबाट करोडौं मूल्यबराबरको जग्गासमेत आफ्नो नाममा कब्जा गर्ने गरेको पाइएको छ । यसरी ऋण दिँदा नै उनीहरूले तीन गुणा बढी रकमको ऋणी कागज गराउनदेखि ऋणीको जग्गा धितो राख्न लगाउने मात्र होइन, जग्गा नै आफ्नो नाममा पास गर्नेसम्मको ठगी गरेको पाइएको हो ।

यसरी ठगी गरेर पीडितबाट ऋणबापतको रकम असुली गरिसकेपछि पनि ऋण दिने व्यक्तिले ऋणीको जग्गा फिर्ता गर्ने गरेका छैनन् । बरु उल्टै कतै उजुरी गरे जग्गा फिर्ता नगर्नेदेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । २२ माघ २०६९ मा सर्लाहीका महाजन सञ्जय रौनियारबाट १ करोड ऋण लिएका रवीन्द्र कुशवाहले ७५ लाखका दरले चारवटा ३ करोडको कागज बनाएको बताए ।

यस्तै, ऋण लिएबापत उनले सर्लाही बयलवासको ३ कट्ठा ८ धुर र अन्य ३४ कट्ठासमेत रौनियारको नाममा गरिदिएको जानकारी दिए । रौनियारले आफ्नो नाममा गरेको जग्गा बेचेर २ करोड ५५ लाख उठाइसकेको पीडित कुशवाहले बताए ।

तर, बाँकी जग्गा भने अझैसम्म फिर्ता नपाएको र आफूले नगद मात्रै ३८ लाख रौनियारलाई बुझाएको जानकारी दिए । ‘मैले १ करोड ऋण लिएको हुँ । तर, कागज तीन गुणा बढीको बनाइयो । ३८ लाख त ६ महिनामै तिरें । २ करोड ५५ लाख मेरो जग्गा बेचेर असुल भएको छ, अहिलेसम्म जग्गा फिर्ता भएन,’ पीडित कुशवाहले भने ।

यस्तै, मिटर ब्याजको मारमा सर्लाहीका निरगुण राय पनि परेका छन् । उनले मिटर ब्याजी राजपाका नेतासमेत रहेका रामबाबु यादवसँग १४ साउन २०५९ मा २ लाख र २०६० मा थप २ लाख ऋण लिएको बताए । उनले यादवले भने त्यसको तीन गुणा बढीको तमसुक बनाएर २ बिघा १ कट्ठा जमिन आफ्नो नाममा गराएको जानकारी दिए । ‘मेरो भएको जायजेथा नै डुब्यो, महाजनसँग लिएको ऋणको तमसुक तीन गुणा बढी भयो । भएको जग्गा पनि उसकै नाममा पास गरेर दिएँ,’ रायले भने ।

पीडित रायले आफूले पास गरेर दिएकोमध्ये १६ कट्ठा जमिन २०६१ सालमा महाजन यादवले बेचेर १६ लाख असुल गरिसकेको जनाए । ‘पास गरिदिएको जग्गा पनि बेच्यो, बाँकी जग्गा पनि अहिलेसम्म फिर्ता भएन, प्रहरी प्रशासन सबैतिर धाइयो, कतै उजुरी गरे मार्नेसम्मको धम्की दिएको छ,’ रायले भने ।
तराई–मधेसका सर्लाही, महोत्तरी, धनुषा, रौतहट, सिराहा, सप्तरीलगायत जिल्लामा मिटर ब्याजीले धन्दा गरिरहेको सूचना गृह मन्त्रालयले पाएको छ । सर्लाहीमा मात्रै करिब १५ सय परिवार पीडित भएको पीडितहरूले बताएका छन् । गृह मन्त्रालय र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि प्रहरीले ५ अर्ब बढी ठगी गरेको आरोपमा पक्राउ गरेर रामबाबु यादवमाथि छानबिन सुरु गरिसकेको छ ।

अर्का मिटर ब्याजी रौनियारको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । सर्लाही मलंगवा–१ का यादव र सोनबर्साका रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको हो । रौनियार भारतीय नागरिकताधारी समेत रहेको खुलेको छ । उनी भारतको सीतामढीमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस