सडक मर्मत कार्यको छड्के अनुगमनमा किन कस्सिए मन्त्री नेम्बाङ ?

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, ०९ : २९
सडक मर्मत कार्यको छड्के अनुगमनमा किन कस्सिए मन्त्री नेम्बाङ ?

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सडक मर्मत कार्यको छड्के अनुगमन गर्नु भएको छ । माइतीघरदेखि तीनकुनेसम्म मर्मत भईरहेका सडकको शनिबार अनुगमन गर्नु भएको हो ।  मन्त्री नेम्बाङ आफ्नो नीजि गाडी आफै ड्राइभ गरेर अनुगमनमा सुटुक्क निस्किनु भयो ।

मध्यान्ह सवा ४ बजे नयाँ बानेश्वर, मीनभवन अगाडी सडक मर्मत भइरहेको स्थानमा सेतो गाडी रोकियो । जहाँ ट्राफिक डाइभर्सनका लागि डोरी टाँगिएका थिए ।  डोरी टाँगिएकै अगाडी प्राइभेट नम्बरको गाडी रोकिएपछि एकछिन त सडक निर्माणमा खटिएका कर्मचारीहरु अलमलमा परे । जब ती कर्मचरीहरुले विभागीय मन्त्री नै अनुगमन आएको थाहा पाए, हत्तपत्त डोरी खोले । 

गाडीबाट ओर्लिएर मन्त्री नेम्बाङले मर्मत भइरहेको स्थानमा अवलोकन गर्नुका साथै निर्माणमा खटिएका कर्मचारीबाट जानकारी लिदैं बिछ्याइएको अस्फाल्टको परिक्षण समेत गरिए । अस्फाल्टको तह ६ सेन्टिमिटर रहेका थिए । निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको जानकारी मन्त्रीलाई गराए । 

अघिल्लो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार सम्म निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । त्यस्तै मन्त्री नेम्बाङले लाखौ सेवाग्राहीले समस्या झेलिरहनु परेको स्मार्ट लाइसेन्स छपाईको समेत छड्के अनुगमन गर्नु भएको छ । यातायात व्यवस्था विभाग पुगेर स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे समेत जानकारी लिनुभयो । 

ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरि सहज रुपमा लाइसेन्स वितरण गर्न उहाँले पहल थाल्नु भएको छ । अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक दश हजार प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले लाइसेन्स पाएका छैनन् ।  


 

प्रतिक्रिया दिनुहोस