चितवनमा महिला उद्यमी मेला सुरु, उद्यमतर्फ प्रेरित हुन महानगर प्रमुख दाहालको आग्रह

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १६ : ४३
चितवनमा महिला उद्यमी मेला सुरु, उद्यमतर्फ प्रेरित हुन महानगर प्रमुख दाहालको आग्रह

चितवन । चितवनमा महिला उद्यमी मेला सुरु भएको छ । मेलाको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको छ  ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजना र महिला उद्यमी विकास समिति चितवनको सक्रियतामा मेला आयोजना भएको हो ।  प्रमुख दाहालले महिलाहरु म गर्न सक्छु भन्ने सोचका साथ अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।  

उहाँले भरतपुर महानगरपालिकाले महिलाहरुको लागि क्षमता अभिवृद्धि, महिला सशक्तिकरण, महिलालाई आत्मनिर्भर बनाउने तथा विभिन्न सीप विकास, रोजगारी र आयआर्जनका कुरालाई प्राथमिकतामा राखेर योजना बनाईरहेको बताउनुभएको छ । उहाँले महिलाहरुको हरेक खालका आवश्यकता , कठिनाई र समस्यालाई नजिकबाट महशुस गरी त्यसको समाधानका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको हो  ।

गाउँपालिकादेखि राष्ट्र प्रमुखसम्म महिला भएकोले हरेक क्षेत्रमा महिलाले आफ्नो भूमिका सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले महानगरले महिलाको निम्ति धेरै कार्यक्रमहरु ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेयरसँग महिलालगायतका कार्यक्रम महानगरले महिलाकै लागि ल्याएको छ, यसबाहेक कृषिका हरेक अनुदानमा महिलालाई प्राथमिकता दिएका छौँ । भरतपुर अस्पतालमा महिलालाई निःशुल्क टिकटको व्यवस्था गरेका छौँ ।’

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उवासंघ–चितवनले महिला उद्यमशिलता विकासको लागि  महिला उद्यमी मेला सञ्चालन गरेको बताउनुभयो । महिला उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउन यस्ता कार्यक्रमले हौसला थप्ने उहाँले बताउनुभयो ।  यस किसिमका कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा. तिलचन्द्र भट्टराई , नेउवामहासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम, महिला उद्यमीद्वय रजनी मास्केलगायतले  मन्तव्य राखेका थिए ।

पुस ७ गतेसम्म हुने उक्त मेलामा घरेलु, साना उद्योग, लघु उद्योग एवम् हस्तकलाका ३५ वटा स्टल रहेका छन् । महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, कास्कीलगायतका महिला उद्यमीको सहभागिता रहेकोे छ । 

प्रतिक्रिया दिनुहोस