यी हुन् भावना सिंह श्रेष्ठ जसले बागबजारमा किनिन् एक अर्ब २० करोडको जग्गा

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, ११ : १९
यी हुन् भावना सिंह श्रेष्ठ जसले बागबजारमा किनिन् एक अर्ब २० करोडको जग्गा

काठमाडौं । सिंगापुरको पीआर होल्डर भावना सिंह श्रेष्ठले बागबजारमा ६ रोपनी जग्गा एक अर्ब २० करोड रूपैयाँमा खरिद गरेकी छन् । 

शाह परिवारको स्वामित्वमा रहेको जग्गामा अहिले आराधना कम्प्लेक्स सञ्चालनमा छ। यही कम्प्लेक्स र यसैसँग जोडिएको जग्गा श्रेष्ठले खरिद गरेकी हुन्।

श्रेष्ठ एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरस् प्रालिकी एकमात्र लगानीकर्ता समेत हुन्। एनसेलमा सुनिभेराको २० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ८० प्रतिशत सेयर मलेसियाको टेलिकम कम्पनी एक्जियटासँग छ। 

श्रेष्ठका श्रीमान् सतीशलाल आचार्य नेपालको टेलिकम क्षेत्रका एक ठूला खेलाडी हुन्। आचार्यले नेपालको आफ्नो अधिकांश व्यापार श्रीमति भावनाको नामबाट सञ्चालन गर्दै आएका छन्। 

ताहाचलमा माइती भएकी श्रेष्ठले काठमाडौं मनपा(३ का सोनिला मल्ल शाह, धनेन्द्रबहादुर शाह र नभेन्द्रबहादुर शाह समेतबाट छुट्टाछुट्टै ८ कित्ता जग्गा खरिद गरेकी हुन्।

सोनिला, धनेन्द्र र नभेन्द्रका जेठा दाजु राघवबहादुर शाहकी श्रीमती हुन्। राजदरवार सेवामा रहेका उनको युवा उमेरमै निधन भएको थियो। धनेन्द्रबहादुर शाह अहिले पनि नेपाली सेनाका पाइलट हुन् भने नभेन्द्र पनि पाइलट हुन्।

सोनिला मल्ल शाहबाट श्रेष्ठले एक रोपनी ९ आना २ पैसा एक दामको एउटा कित्ता र ३ आना एक पैसा ३ दामको अर्को कित्ता गरि एक रोपनी १० आना २ पैसा जग्गा किनेकी छन्। जसको मूल्य २९ करोड ५३ लाख ४७ हजार ५६३ रूपैयाँ छ।

त्यसैगरि धनेन्द्र बहादुर शाहबाट श्रेष्ठले ८ आना १ पैसा ३ दामको एउटा कित्ता, ११ आना ३ पैसाको एउटा कित्ता र ३ आना २ दामको एउटा कित्ता गरि एक रोपनी ७ आना एक पैसा एक दाम जग्गा किनेकी छन्। जसको मूल्य ३५ करोड १५ लाख २२ हजार ५ सय ६६ रूपैयाँ छ।

त्यसैगरि नभेन्द्रबहादुर शाहबाट श्रेष्ठले एक रोपनी २ आनाको एउटा कित्ता र ३ आना २ पैसा २ दामको अर्को कित्ता गरि एक रोपनी ५ आना २ पैसा २ दाम जग्गा किनेकी छन्। जसको मूल्य ३१ करोड ८८ लाख ७७ हजार १ सय ८९ रूपैयाँ छ।

त्यसैगरि नभेन्द्रबहादुर शाहसमेत गरि ३ जनाको नाममा रहेको एक रोपनी ४ आना ३ पैसा जग्गा श्रेष्ठले २३ करोड ४२ लाख ५२ हजार ३ सय ८२ रूपैयाँमा किनेकी छन्। यी सबै कित्ताको कुल जग्गा ५ रोपनी १४ आना २ पैसा ३ दाम हुन्छ। 

उक्त ठाउँमा जग्गाको न्युनतम मूल्यांकन प्रतिआना ४४ लाख रूपैयाँ छ। श्रेष्ठले भने प्रतिआना एक करोड ४२ लाख रूपैयाँका दरले जग्गा किनेकी हुन्। करिब ८५ आना जग्गाको सरकारी मूल्यांकन करिब ३७ करोड रूपैयाँमात्रै हुने भए पनि श्रेष्ठले चलनचल्तीको मूल्यमै किनेकी हुन्।

श्रेष्ठले एक अर्ब २० करोडको जग्गा किन्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५२ करोड रूपैयाँमात्रै ऋण लिएकी छन्। बाँकी ६८ करोड रूपैयाँ भने उनले आफ्नै आयआर्जनलाई सम्पत्तीको स्रोत देखाएकी छन्।

स्रोतका अनुसार ५२ करोड रूपैयाँ ऋण पनि जग्गा आफ्नो नाममा आइसकेपछि धितो राख्ने सहमतिमा बैंक ग्यारेन्टी लिइएको हो।

टेलियाबाट एक्जियटाले एनसेलको स्वामित्व लिएपछि श्रेष्ठले एनसेलबाट तीन आर्थिक वर्षका लागि नौ अर्ब रूपैयाँभन्दा बढी नगद लाभांश पाएकी छन्। 

एनसेलले आर्थिक वर्ष २०७२र७३ देखि २०७४र७५ सम्म ४७ अर्ब ५० करोड रूपैयाँ लाभांश घोषणा गरेर वितरण गरेको थियो। लाभांश कर घटाएपछि २० प्रतिशत स्वामित्वका लागि एनसेलले सुनिभेरालाई नौ अर्ब दुई करोड ५० लाख रूपैयाँ वितरण गरेको छ।

स्थानीय साझेदारबीच सेयर खरिद बिक्री गर्दा भएको लाभमा खरिदकर्ता सुनिभेराले दुई अर्ब ८३ करोड रूपैयाँ लाभकर भुक्तानी गरेको थियो। बैंकबाट ऋण लिएर कर कार्यालयलाई भुक्तानी गरिएको लाभकरको बैंक दायित्व लाभांश वितरणपछि सेटल गरिएको थियो। एनसेलको स्थानीय साझेदारसँग यो लाभांशको भुक्तानीबाहेक पनि ६ अर्ब रूपैयाँभन्दा बढि नगद रिजर्भ छ। 

श्रेष्ठले किनेको जग्गाको राजिनामा दस्तुरमात्रै थैली अंकको ५ प्रतिशतका दरले ६ करोड रूपैयाँ हुन्छ। त्यसैगरि बागमती सभ्यता कोषमा ०.५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने भएकाले उनले थप ६० लाख रूपैयाँ कर तिरेकी छन्। 
बिक्रेताले सरकारलाई पुँजीगत लाभकर एक करोड ६८ लाख रुपैयाँ बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस