देवघाटमा सदबिउ छर्न हालसम्मकै बढी भक्तजन

शुक्रबार, ०१ मंसिर २०७४, ११ : १३
देवघाटमा सदबिउ छर्न हालसम्मकै बढी भक्तजन

 


चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा सद्बीज छर्नेहरुको भीड लागेको छ । पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा रहेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार आज बिहान देवघाटमा एक लाखभन्दा बढी भक्तजन आएका छन् । बिहीबार दिउँसो २ बजेदेखि भक्तजनले जाग्राम दीप प्रज्वलनका लागि नदी किनार र आश्रम क्षेत्रमा स्थान सुरक्षित गर्न थालेका थिए ।

पौडेलका अनुसार तनहुँतर्फको वेणी, गलेश्वर आश्रम, मैयादेवी ट्रस्ट, अघोरी आश्रम लगायतका क्षेत्रमा जाग्राम दीप प्रज्वलन गर्नेहरुको भीड लागेको थियो । रातभर जाग्राम बस्ने र बिहान सबेरै नारायणी, कालीगण्डकी नदी किनार हुँदै मठमन्दिर र आश्रमहरु वरपर सद्बीज छर्ने गरिन्छ ।

आज बिहान २ बजेदेखि बिहान आउने दर्शनार्थीको ओइरो लागेको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा एक पटकमा सयजना मात्रै आवतजावत गर्नुपर्नेमा यो सङ्ख्या २५० नाघेको पौडेलले बताउनुभयो ।

निर्वाचनले गर्दा प्रहरीको सङ्ख्या कम रहेकाले व्यवस्थित गर्न कठिन भएको उहाँले बताउनुभयो । देवघाटमा देशका विभिन्न स्थानका साथै भारतलगायत तेस्रो मुलुकबाट पनि भक्तजन सद्बीज छर्न र मेला हेर्न आउने गर्दछन् । अध्यक्ष पौडेलले विगतका वर्षको तुलनामा यस वर्ष अहिलेसम्मकै बढी भक्तजन आएको बताउनुभयो । (रासस)

 

प्रतिक्रिया दिनुहोस