जुत्ता नभएपछि खुट्टामा ब्यान्डेज बाँधेर दौडिंदा पनि  रियाले जितिन् तीन स्वर्ण पदक

एजेन्सी

बुधबार, ०२ पुस २०७६, १३ : ५३
जुत्ता नभएपछि खुट्टामा ब्यान्डेज बाँधेर दौडिंदा पनि  रियाले जितिन् तीन स्वर्ण पदक

एजेन्सी । फिलिपिन्सकी ११ वर्षकी एथलिटको सफलता आजकाल सोसल मिडियामा भाइरल भइरहेको छ । उनले जुत्ता नलगाइकनै खुट्टामा ब्यान्डेज बाँधेर स्वर्ण पदक जितिन् । वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा अन्तर विद्यालय एथलिट्स मिटको आयोजना गरिएको थियो । यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाइकनै स्कूलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौडमा भाग लिइन् । यी तीनै खेलमा उनले स्वर्ण पदक जितेर सबैलाई अचम्मित पारिदिइन् ।

रियाको यो सफलतालाई इलोइलो स्पोर्टस् काउन्सिल मीटका कोच प्रेडिरिक बी वेलेनजुएलाले सोसल मिडियामा सेयर गरे । पोस्टमा रियाले जुत्ता लगाएकी छैनन् । उनले जुत्ताको साटो खुट्टामा ब्यान्डेज बाँधिरहेको देख्न सकिन्छ । कोचका अनुसार उनीसँग जुत्ता थिएन । ब्यान्डेजमा नाइकी लेखिएको थियो ।

कोच प्रेडिरिक बी वेलेनजुएलाको पोष्ट भाइरल भएपछि सयौं प्रयोगकर्ताले रियाका लागि नयाँ जुत्ताको प्रस्ताव दिए । एक प्रयोगकर्ताले फोटो सेयर गर्दै  बालिकाको मद्दतको लागि नाइकीलाई नै अग्रसर हुन आह्वान गरेका छन् । त्यसपछि एक बास्केटबल स्टोरका मालिकले ट्वीटर प्रयोगकर्तासँग एथलिटको नम्बर मागे र रिया बुलोससम्म मद्दत पुर्‍याए ।

प्रयोगकर्ताले गरे तारिफ :

रियोका तस्बिर ट्वीटर र इन्स्टाग्रामसमेत अन्य सोसल मिडियो प्लेटफर्ममा पनि हज्जारौं पटक सेयर भएको छ जसमा प्रयोगकर्ताले रियाको साहसको तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस