सरकार गठनका लागि प्रधानमन्त्री देउवाले राजीनामा दिईरहन पर्दैन : सुवास नेम्वाङ

विहीबार, २५ माघ २०७४, १४ : १०
सरकार गठनका लागि प्रधानमन्त्री देउवाले राजीनामा दिईरहन पर्दैन : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिईरहन नपर्ने टिप्पणी गरेका छन् ।
नेता नेम्वाङले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिइरहन नपर्ने प्रष्टयाएका हुन् ।

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भईरहेको छ । तर, नेता नेम्वाङले जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाएको आरोप समेत लगाए ।

 बिहीबार समुदायमा आधारित वन सहजकर्ता संजाल, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै नेम्वाङले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरेपनि प्रधानमन्त्री देउवाले त्यस अनुसारको आचरण देखाउन नसकेको आरोप पनि लगाए । नेता नेम्वाङले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन हुने पनि स्पष्ट पारेका छन् ।

नेता नेम्वाङले जनताको सहभागिताविना मुलुकको वन सम्पदाको संरक्षण र दीगो विकास सम्भव नहुने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस