– लाफ्टर बाबा
संसार दुःखको सागर हो । यहाँ केही प्राप्त भए पनि दुःख छ । प्राप्त नभए पनि दुःख छ । यो विज्ञानको युग हो । विज्ञानले अनेकौं भोगविलासका साधन निर्माण गरेका छन् । धेरै मानिसहरु सुखका लागि अन्धभक्त भएर विज्ञानको पछि लागेका छन् । जति धेरै भोगविलासको साधन मिल्छ उति नै आनन्द प्राप्त हुन्छ भन्दै त्यसका पछि लागेका छन् । अपसोच ! भोगविलासका साधनहरूले क्षणिक सुख दिए पनि अन्ततः मान्छे दुःखमै छन् । भोगविलासका कुनै पनि साधनहरूले मानिसको दुःख पूर्ण रूपमा टाल्न सकिरहेका देखिन्न । बरु मानिसहरुको दुःख दिन प्रतिदिन बढ्दो देखिन्छ । झट्ट हेर्दा बाहिरबाट सम्पन्नता बढेको देखिन्छ, तर भित्रभित्रै खोक्रिरहेका छन् उनीहरू । यसको ज्वलन्त उदाहरण हो संसारको सबैभन्दा बढी आत्महत्या विकसित देशहरुमा नै हुनु ।
एकातिर भौतिकवादको अति छ । अर्कातिर अध्यात्मवादको अति । केही व्यक्तिहरु संसार भ्रम हो, मात्र परमात्मा सत्य हो भन्दै गुफाकन्दरामा साधना गर्दै आफैँमा मस्त छन् । उनीहरू बाहिरी संसारसँग केही पनि चासो राख्दैनन् । उनीहरु बाहिरबाट झट्ट हेर्दा भिखारीजस्ता देखिन्छन् । उनीहरुसँग भौतिक स्रोतसाधन केही पनि हुँदैन ।
दुवै अतिको बीचमा केहि व्यक्तिहरू अरूलाई अनेक भ्रम छर्दै भगवान् देखाउँछु, म भगवान्को दूत हुँ, सबैजना मैले भनेअनुसार चल्नुपर्छ, आफूलाई संसारको रक्षा गर्न भगवान् स्वयम्ले पठाएका हुन् भन्दै सोझासाझा मानिसलाई ठगिरहेका छन् । कोही जादुचटक देखाउँदै मानिसहरूलाई भ्रममा पार्दै आफू नै भगवान् हुँ भन्दै ठगिरहेका छन् । यी दुवै अतिवादबाट बाहिर निस्किएर भौतिक(बाहिरी) रुपमा सम्पन्न र भित्री रुपमा शान्त मानव निर्माण गर्न आवश्यक छ । जो भित्र शान्त र बाहिर सम्पन्न छ त्यो नै पूर्ण मानव हो । दुवै अतिको समुद्रमा फसेकाहरूलाई त्यसबाट पार गराउँदै पूर्णतातिर लाने राम्रो चालक हुँ म ।”
एकजना व्यक्ति मान्छेहरुको बीचमा देखा पर्छन् र मानिसहरूलाई मोहित पार्ने यस्तो प्रवचन प्रस्तुत गर्छन् । उनले सबै मानिसहरुका अगाडि घोषणा गर्छन् कि म सबै मानिसलाई दुःखबाट मुक्ति दिलाउनेछु । अब हजुरहरूका दुःखका दिन गए । म हजुरहरुलाई दुःखको सागरबाट पार गराउँदै परम् आनन्दको शिखरमा पु¥याउने छु । जो यस यात्रामा सहभागी हुन्छ, उसले भौतिक सफलता र आध्यात्मिक सफलता (आफूभित्रको परम् शान्ति) एकैसाथ प्राप्त गर्छ । जसरी भोकले कमजोर भएर बसेका बालकहरु आमाको आवाज सुनेपछि आवाजतर्फ लम्कन्छन् त्यसैगरी दुःखमा छट्पटिएका मानिसहरु उनीतर्फ लम्कन्छन् । उनले ती मानिसहरुलाई परम्शान्तिको बयान गर्छन् । निबुवामा नुनखुर्सानी मिलाएर साँधेको बयान सुन्दा जसरी हाम्रो मुख रसाउँछ त्यसैगरी शान्ति र आन्नदको बयान सुन्दा उनीहरुको रोमरोममा शक्तिको सञ्चार हुन्छ । उनीहरुले आफूले अहिलेसम्म गरेका उपलब्धीहरू व्यर्थै ठान्छन् । सारा कुराहरु छाडेर उनीहरु ती व्यक्तिसँगै यात्रा गर्ने निर्णय गर्छन् । यात्राका लागि ठूलो तयारी आवश्यक हुन्छ । चालक आफूले कमाएको सम्पत्तिको केही भाग जहाज बनाउनमा लगानी गर्ने मनसायका साथ भन्छन् – “यो बन्दै गरेको जहाज संसाररुपी सागरबाट मुक्ति दिलाउनका लागि हो । यो हामी सबैको साझा हो ।” उनले यसरी घोषणा गर्दै त्यो तयार गर्ने जिम्मेवारी हामी सबैको हो भन्छन् । सबै यात्री उत्साहित हुदै दिनरात भोकतिर्खा नभनी निर्माण कार्यमा जुट्छन् । चालक पनि हरतरहले यात्रा सफल बनाउने उद्देश्यका साथ निर्माण कार्यमा लागि पर्छन् । सबैको मिहेनतले जहाज तयार हुन्छ । यात्रीहरुमा खुसीको सीमा नै हुँदैन ।
चालकले परमानन्द र भौतिक सफलताको शिखरमा एकैसाथ पु¥याउने दिव्यजहाज चल्न सुरm भएको उद्घोष गर्छन् । सबैमा एकैसाथ हाँसो गुञ्जिन्छ । सबैजना आफूले कहिल्यै कल्पनासमेत नगरेको दिव्य आनन्द प्राप्त भएको अनुभूति गर्छन् । यात्रा अघि बढ्दै जाँदा समुद्रमा एक्कासि आँधी चल्न सुरm गर्छ । राम्रो अनुभव नभएका कारण त्यस आँधीमा जहाज सही तरिकाले अघि बढाउन सक्तैनन् चालकले । त्यस आँधीका कारण धेरै यात्रीहरु घाइते हुन्छन् । चालक यात्रीहरूलाई हौसला प्रदान गर्दै भन्छन् – “महान् उपलब्धीका लागि दुःख अनिवार्य कुरा हो । जति धेरै दुःख हुन्छ त्यति नै ठूलो उपलब्धी प्राप्त हुन्छ । जहाँ दुःख हुँदैन, त्यहाँ उपलब्धी हुँदैन (लय उबष्ल लय नबष्ल) । चालकको कुरा सुनिसकेपछि यात्रीहरूमा हौसला बढ्छ । उनीहरू आफ्नो दुःख बिर्सिएर महान् सुखको कल्पनामा मग्न हुन्छन् ।
समुद्रको ठाउँठाउँमा रहेका टापुहरुमा ठक्कर खाँदै बडो कष्टका साथ यात्रा अगाडि बढिरहेको हुन्छ । यात्रीहरू जस्तोसुकै दुःखका बाबजुत पनि आफूलाई महान् उपलब्धीतर्फ अघि बढिरहेको भाग्यमानी व्यक्ति ठानिरहेका हुन्छन् । फेरि पनि जहाज कतै गएर ठूलो सामुद्रिक जीवमा ठोक्किन पुग्छ । यात्रीहरुलाई धेरै चोट लाग्छ । अब यात्रीहरुमा शंसय (शङ्का) पैदा हुन्छ ।
यात्रीहरुबीच कुरा चल्छ – “के हामी बलिरहेको बत्तीप्रति मोहित भएर बत्तीको आकर्षणमा झुम्मिएका पुतलीहरु नष्ट भएझैं नष्ट हुने त होइनौँ ?”
यस्तो चर्चा यात्रीहरूमा चलिरहेको चालकले सुन्छन् । चालक यात्रीहरुलाई सम्झाउँदै भन्छन् – “माटोभित्र पस्ने आँट नगर्ने बीजहरुलाई चराचुरmङ्गीले खाएर समाप्त गरिदिन्छन् । माटोभित्र प्रवेश गर्न राजी भएका बीजहरूमा आफू समाप्त भइयो कि भन्ने भ्रम पैदा हुनु स्वभाविक कुरा हो । आफ्नो पुरानो स्वरुप नष्ट भएर नयाँ वृक्षका रुपमा प्रकट हुँदा उनीहरु आफ्नो धन्यता देखेर आफैँ चकित हुन्छन् । हजुरहरु पनि ठूलै उपलब्धीतर्फ अघि बढिरहनुभएको छ । हजुरहरुको चमत्कारपूर्ण दिन नजिकै छ । यात्रीहरू चालकको कुराप्रति विश्वस्त हुन्छन् । धेरै कष्टका बाबजुद आफूलाई सम्हाल्छन् । उनीहरूले जति दुःखकष्ट भोग्नुपर्छ उति नै उपलब्धी भएको ठान्छन् । ठूलै उपलब्धी भएको र आफू सत्यनजिक पुगेको गर्व गर्दै पीडा बिर्सिएर सबैमा हर्षोलास छाउँछ । यात्रा बडो रौनकताका साथ अघि बढिरहेको हुन्छ । जहाज अघि बढ्दै गर्दा फेरि ठूलो ढुङ्गामा ठोक्किन पुग्छ । यात्रीहरूमा चोटमाथि फेरि अर्को ठूलो चोट थपिन्छ ।
उनीहरु दुःखका कारण आफूलाई सम्हान सक्ने स्थितिमा छैनन् । “के हँुदैछ जिन्दगी ? भ्रम नै भ्रम छरेर चालकले हाम्रो जिन्दगी बर्बाद गर्दै त छैनन् ?” – यस्तै कुराहरु आपसमा चलिरहेका बेला चालक यात्रीहरुलाई सम्झाउँदै भन्छन् – “संसारको सबैभन्दा सस्तो वस्तुमध्येको पंक्तिमा पर्ने कोइला जब ताप र चापमा बस्छ त्यो नै संसारको सबैभन्दा मूल्यवान वस्तु हीरा भएर निस्कन्छ । ताप र चापमा नपरेका कोइलाहरू सधैं कोइला नै रहिरहन्छन् । त्यसकारण हजुुरहरु जति ताप र चापमा परिरहनुभएको छ त्यति नै मूल्यवान बन्दै हुनुहुन्छ ।”
यात्रीहमा खुसीको सीमा नै हुदैन । उनीहरुमा दुःखभन्दा पनि आफू संसारको महान् उपलब्धीको नजिक पुगेको भावना जाग्छ । सबै उपलब्धी प्राप्त भइसकेको अभिनय गर्दै हाँस्न थाल्छन् । हाँसो सर्वत्र गुञ्जिन्छ । वरिपरिबाट नियालिरहेका मानिसहरू पनि उनीहरुको खुसी देखेर मोहित भइरहेका हुन्छन् ।
यात्रा अगाडि बढ्दै जान्छ । चालक पनि आफ्नो सम्पूर्ण विवेक र शक्ति प्रयोग गर्दै उनीहरुलाई सही गन्तव्यमा पु¥याउने भावका साथ अघि बढेका हुन्छन् । यात्रा अनेक उतारचढावका साथ अघि बढिरहेको हुन्छ ।
चालकले सही बाटो ठम्याउन सक्तैनन् । उनले नचाहँदानचाहँदै जहाज ठूलो सामुद्रिक टापुमा ठोक्किन पुग्छ । जहाजका सबै यात्री घाइते हुन्छन् । चालक पनि आफूले कल्पनासमेत नगरेको दुर्घटना हुँदा विक्षिप्त हुन्छन् । चालक आफ्नो अहङ्कार (घमण्ड)का कारणले आफ्नो दोष स्वीकार गर्दैनन् । संस्कारहीन यात्री परेका र उनीहरु आफ्नो निर्देशनमा शान्तसँग नबसेर हल्लिएका कारण दुर्घटना भयो भनेर यात्रीहरूलाई दोष दिन्छन् । उनले घाइते छटपटाइरहेका यात्रीहरूलाई उपचार गर्नु त परै जाओस् सान्त्वनासमेत दिँदैनन् ।
यात्रीहरुलाई उनले भन्छन् – “मैले कसैलाई पनि बन्धनमा पारेर कमजोर बनाउन चाहन्नँ । हजुरहरु स्वतन्त्र जीवन ज्युन सक्नुहुन्छ ।”
यति सुनेपछि घाइते यात्रीहरु ठूलो छाँगाबाट झरेजस्ता हुन्छन् । उनीहरू एकैसाथ प्रश्न गर्छन् – “यात्राअघि हामीलाई कस्तो वचन दिनुभएको थियो ? अहिले के भन्दै हुनुहुन्छ ?”
चालक आफ्ना यात्रीहरुलाई दिएको आश्वासन ढाकछोप गर्दै भन्छन् – “त्यो त केवल अनुसन्धानका (एक्पेरिमेन्ट)लागि पो भनेको थिएँ ।”
यस्तै बहाना गर्दै ती पीडाले छट्पटाएर चिच्याइरहेका यात्रीलाई उनले हतारहतार समुद्रको बीचमै अलपत्र छाडिदिन्छन् । समुद्रको बीचमा छाडिएका घाइते यात्रीहरु मर्नु या त आफूले सक्दो प्रयास गर्नुबाहेक दोस्रो विकल्प हुदैन । उनीहरू सुरक्षित ठाउँमा पुग्नका लागि आफ्नो पूर्ण क्षमता प्रयोग गर्छन् । केही यात्रीहरुको अगाडि बढ्न खोज्दाखोज्दै डुबेर मृत्यु हुन्छ । केही यात्री अघि बढ्दै जाँदा समुद्रको कुनै भागमा रहेको टापुमा पुग्छन् । उनीहरु त्यहीँ आफ्नो जीवन रक्षा गर्छन् । उनीहरु दुर्घटनामा लागेको चोटको उपचार गर्दै नयाँ जिन्दगीको सपना बोकेर बढिरहेका छन् । केही यात्री चालकले दिएको धोका स्मरण गर्दै आफूलाई झन्झन् बर्बाद गरिरहेका छन् । केही यात्रीले सुरक्षित ठाउँ फेला पार्न सक्दैनन् । उनीहरू ठूलाठूला सामुद्रिक जीवहरुको ढाडमा जोखिमपूर्ण तरिकाले आफूलाई बचाइरहेका छन् । साथसाथै सुरक्षित ठाउँको खोजीमा छन् ।
एकजना कुशल चालकले समुद्रमा डुबेका यात्रीहरूलाई देख्छन् । उनीहरुको हालत देखेर उनमा प्रेमभाव जाग्छ । उद्दार गर्ने उदेश्यका साथ उनले यात्रीहरुलाई त्यहाँबाट बाहिर निकाल्न खोज्छन् । केही यात्री उनीसँग जान तयार हुन्छन् र उनीहरूको जीवन धन्य हुन्छ । तर केही पीडित यात्री अघिल्लो चालकले दिएको धोका स्मरण गर्छन् । परम्शान्तिको यात्रामा हिँडेको तर झन्झन् भ्रान्ति मिलेको र आफू पहिलेको स्थितिभन्दा झन्झन् तल गिरेको तस्बिर उनीहरूको दिमागमा आउँछ । फेरि पनि आफू सुरक्षित ठाउँमा पुग्ने आसमा योभन्दा झन् बर्बाद होइने त हैन भन्ने शङ्का पैदा हुन्छ उनीहरुमा । बरm दुःख भए पनि यहीँ मर्छौं भन्दै सोच्नै नसक्ने पीडामा छट्पटिएर बसिरहन्छन् ।
चालकले जहाजबाट निकालिदिए पनि केही यात्री अझै उनीबाट केही प्राप्त गर्न सकिन्छ कि भनेर त्यस जहाजको पछाडिको भागमा समातेर जोखिमपूर्ण र अनिश्चित यात्रा गरिरहेका छन् । कुनै यात्री जहाज निर्माणका क्रममा शरीरमा लागेको चोटले पलपल दुःख दिइरहेको बेलामा अझै ठूलो बज्रपात परेकोमा पीडित छन् ।
केही यात्री यो सबै दुर्घटना घट्नुको कारण आफ्नै जन्मजन्मको कर्मको कारण हो भन्छन् । यसमा धेरै दुःख, कष्ट त भयो नै तर पनि यसले आफ्नो जन्म जन्मको संस्कार काटेको ठान्छन् । दुर्घटना हुनु आफँैमा दुःखद् घटना हो र दुःखबाट भए पनि आफूले धेरै ज्ञान सिकेको महसुस गर्छन् ।
चालक दुःखबाट आफूलाई सम्हाल्दै यात्रीसहित मिलेर बनाएको जहाज उनीहरुको कल्याणमा लगाउने विचार गर्छन् । अपसोच चालकको सहयात्रीलाई यो कुरा मन पर्दैन । चालक सहयात्रीको कुरा सुनेर संसारको मुक्ति दिलाउने सपना देखाएर बनाएको जहाज व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने निर्णय गर्छन् । ती चालकले अहिले त्यो जहाजलाई अलिअलि मर्मत गरेर व्यक्तिगत व्यवसायमा प्रयोग गर्छन् । पहिलाकै सपना तर अलि फरक शैलीबाट फेरि अन्य व्यक्तिहरूलाई आनन्दको मार्गमा अगाडि बढाउँदैछन् । पहिला धोका खाएका यात्रीहरू भने उनको यस्तो चाला देखेर सोच्छन् कि फेरि त्यो जहाज कहाँ गएर ध्वस्त हुने हो ।
यस घटना नजिकबाट नियालिरहेका एक प्रत्यक्षदर्शीले यसरी आफ्नो दुःख व्यक्त गर्दै भन्छन् – “महान् सपना देखाएर तुच्छ मनको वशमा परेर यात्रीहरुसहित सबैको साझा भनिएको सम्पत्तिलाई व्यक्तिगत व्यवसायका रुपमा लगाउनु साह्रै निकृष्ट कार्य हो । पिचाशीय कार्य हो । यस्ता कार्य गर्नेहरु आफ्नो कार्य सच्याएर अगाडि नबढेसम्म गुफाकन्दरा जहाँ पुगे पनि भट्किरहन्छन् । महान् सपना बाँडेर अन्तिममा अनुसन्धानका लागि हो भनेर भाग्नु सोझासाझा व्यक्तिहरुको जिन्दगी बर्बाद गर्नु हो । यो अक्षम्य अपराध हो ।“
अहिले चालक पुरानो दुर्घटना बिर्सिन्छन् र पुराना घाइते यात्रीहरुलाई वास्ता नगरी नयाँ यात्रीहरुलाई महान् सपना बाँड्नमा मस्त छन् ।
“हाम्रो जिन्दगी बर्बाद गरेजसरी फेरि अरुको जीवनसँग खेलबाड गर्दै त छैनन् यी चालक ?” एक पीडित यात्रीको मनमा बारम्बार यस्तो विचार आइरहन्छ ।
“चालकले स्वार्थवश जहाज कब्जा गरे पनि त्यसबाट अनवरत रुपमा यात्रीहरुको ध्वनि निस्किरहेको छ – “यो हामी सबैको हो ।”
चालक लोभमोहको बुझोले कानसमेत टालिएर यो कुरा सुनिरहेका छैनन् । सबैको साझा भनेर घोषणा गरेको जहाजसमेत व्यक्तिगत प्रयोजनमा लगाएको देखेर जहाज निर्माणको क्रममा यात्रीहरुको निस्किएको पसिना र रगत भित्तामा लतपतिएर बसेका भूतपूर्वक यात्रीहरु चालकको गतिविधि नियाल्दै भन्दै छन् – “हे चालक, बुद्धिविलासबाट संसारलाई झुक्याउन सजिलो होला । संसारको कानुन छल्दै पानीमाथि ओभानो बन्न धेरै सजिलो हुन्छ । तर ईश्वरको कानुन बोल्न सक्ने नसक्ने, देख्न सक्ने नसक्ने, सोच्न सक्ने नसक्ने सारा संसारका लागि बराबर हुन्छ । आफूले गरेका कार्यबाट भागेर आफू सुरक्षित भएको ठान्नु भ्रम हो । आफूले गरेको हरेक कर्मको फल अवश्य भोग्नुपर्छ । अझै पनि सचेत नभएर अरुको रगत र पसिनामाथि खेलबाड गरिन्छ भने प्रकृति स्वयम्ले कर्मको हिसाब गर्नेछ । धेरै दुःख पाएपछि अन्तिममा बोध हुनेछ – महान् सपना बाँडेर अरुलाई भ्रममा पार्नुभन्दा आफैँ यथार्थको खोजीमा लाग्नु ठूलो कुरा हो । आफूले पूरा नगरेको ज्ञान अरुलाई सिकाएर अरुको जिन्दगी बर्बाद गर्नुभन्दा आफू ज्ञानप्राप्तिको बाटोमा लाग्दा आफुलगायत धेरैको कल्याण हुन्छ । आफु अर्धनिद्रामा रहेर अरुलाई जगाउने सपना देख्नुभन्दा आफैँ जाग्ने बाटोमा लाग्दा धेरैको कल्याण सम्भव हुन्छ । जुन दिन आफू जागृत भइन्छ त्यस दिन पूरा हुनेछ ‘आफू जागे सिङ्गो संसार जाग्छ’ भन्ने नारा ।“
यो कथा सबै पीडितहरूको आवाज हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
पर्यटन प्रवर्द्धनका लागि शुरू भयो सुनौली-मुक्तिनाथ धार्मिक यात्रा
नेपालगन्जको पर्यटन प्रबर्द्धन गर्न साइकल यात्रा