पाँच घन्टाको सफल शल्यक्रिया पछि ट्युमर झिकियो

पत्रपत्रिकाबाट

सोमबार, १६ मंसिर २०७६, ०७ : ०१
पाँच घन्टाको सफल शल्यक्रिया पछि ट्युमर झिकियो

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।

उपचारको लागि सात महिनासम्म विभिन्न अस्पतालमा भौंतारिएकी उनी गएको साता भक्तपुर क्यान्सर अस्पतालमा आएको डा. शाहले जानकारी दिए। अस्पतालको अन्तरंग विभागमा आएकी उनको स्वास्थ्य परीक्षणको क्रममा उक्त ट्युमर अति रक्तस्राब हुने अवस्थामा रहेको उनको भनाइ थियो।

डा. शाहले करिब पाँच घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरिएको बताए। शल्यक्रियामा न्यूरो विभागका डा. शाहसँगै डा. विशाल पोखरेल, टाउको तथा घाटी विभागका डा. विवेक खनाल, डा. रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा. दीपेश धितालसहित नर्सहरुको टोली सहभागी भएको अस्पतालले जनाएको छ।

शल्यक्रिया बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा. शाहले जानकारी दिए। ‘शल्यक्रियापछि दुईदिन आईसीयूमा राखेर उपचार गरेका थियौं’, उनले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सारेका छौं।’ उनका अनुसार शल्यक्रिया गरेर निकालिएको ट्युमरको नमुना परीक्षणको लागि प्रयोगशाला पठाइएको छ। उक्त परीक्षणको रिपोर्टको आधारमा क्यान्सर भए नभएको पुष्टि हुने उनको भनाइ थियो। क्यान्सर पुष्टि भए सोहीअनुसार उपचार गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ। अन्नपुर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस