काँग्रेस मुख्यालयमा विश्वप्रकाशको यस्तो दुस्प्रयास !

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, ०८ : ५६
काँग्रेस मुख्यालयमा विश्वप्रकाशको यस्तो दुस्प्रयास !

फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका वौद्धिक नेता मानिन्छन्, विश्वप्रकाश शर्मा । उनै विश्वप्रकाश अहिले काँग्रेस प्रवक्ताको भूमिकामा छन् । विगतमा काँग्रेस सभापति शेरबहादुर देउवाको आलोचकको रुपमा चिनिएका उनलाई देउवाले गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मुखमा प्रवक्ताको टाँसो लगाइदिएसँगै उनी देउवा निकट देखिएनन् मात्रै देउवाको बेलगाम बोलीको बचाउ गर्ने जिम्मेवारी पनि उनलाई आइलाग्याे ।

कहिले नेकपा सरकारले काँग्रेसको हत्यारालाई समात्यो भनेर अभिव्यक्ति दिने त कहिले कालापानी नै ओलीको सहमतिमा भारतले मिचेको भनेर अभिव्यक्ति दिने देउवाको बोलीलाई सच्याउने फुर्सद छैन विश्व प्रकाशलाई । 

सरकारको स–सना गल्तीलाई केलाएर सामान्य विषयलाई पनि ठूलो जस्तो देखाउन खप्पिस विश्वप्रकाशको पछिल्लो एक हर्कतले भने सबैलाई चकित बनाइदिएको छ । 

सन्दर्भ हो, उपनिर्वाचनको मौन अवधिमा काँग्रेसले शुक्रबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन । सरकारको गलत क्रियाकलाप र चुनावी आचारसंहिता उलंघन भएको विषयमा काँग्रेसको पत्रकार सम्मेलन थियो । त्यसमा आफू चोखो रहेको र नेकपाले सत्ताको प्रयोग गरेर मनपरी गरेको देखाउनु थियो काँग्रेसलाई । 

सो पत्रकार सम्मेलन आचारसंहिता विपरित थियो भन्नेचाहिँ सोचेनन् विश्वप्रकाश र काँग्रेसका अरुले । अझ टिठलाग्दो त के थियो भने पत्रकार सम्मेलनस्थल नै मौन अवधिमा काँग्रेस उम्मेदवारको चुनावी प्रचार व्यानरमा थियो । जसमा काँग्रेसलाई विजयी गराऔं भन्ने प्रष्ट उल्लेख थियो । जब विश्वप्रकाश सरकारको आलोचना गर्नेगरी बोल्न तयार भए त्यतिबेला पत्रकारहरुकै विरोधको स्वर सुनियो । तपाई आचारसंहिताको कुरा गर्ने अनि मौन अवधिमा पनि प्रचार गर्ने ? एक पत्रकारले यसो भनेपछि अल्मलिए विश्वप्रकाश र केहीबेरमा ब्यानर हटाएर पत्रकार सम्मेलन गरे । 

यसले के प्रष्ट पार्दछ भने काँग्रेस आफूले आचारसंहिता पालना भन्दा पनि सरकारको बेतर्की आलोचनामा  व्यस्त छ । हुन पनि शुक्रबारको पत्रकारसम्मेलनमा काँग्रेसले सरकारको चर्को आलोचना गरेको थियो । 

उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षका कार्यकताबाट बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ का काँग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि भौतिक आक्रमण भएको,  नेकपाका कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएको भन्दै चितवनमा पार्टीका कार्यकर्ता टेकबहादुर परियारमाथि आक्रमण भएको काँग्रेसले आरोप लगायो । 
यस्तै महोत्तरीको पिपरामा बम विस्फोटपछि मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधि भएको पनि काँग्रेसको दावी थियो । 

यसैगरी कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको विषयमा सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगरेको पनि आरोप काँग्रेसले लगायो । 

पत्रकार सम्मेलनमा शर्माले भने, ‘नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ । प्रमुख प्रतिपक्षीसहित सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका वावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो ।’

यस्तै काँग्रेसले आचारसंहिता विपरीत सरकारी साधन–स्रोतको दुरूपयोग गरेर केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको आरोप पनि लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस