चितवन । पर्यटन वर्ष–२०२० लाई लक्षित गरी चितवनको निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी बढाएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य बनिरहेको चितवनको पर्यटनमा लगानी बढिरहेको छ । पछिल्लो समय निजी क्षेत्रले चितवनमा होटलमा लगानी थपिरहेका छन्, नयाँनयाँ होटलहरु खुलिरहेका छन् ।
चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु, सौराहा, मेघौली, पटिहानी, शक्तिखोरलगायतका क्षेत्रहरुमा पर्यटन वर्ष २०२० लाई लक्षित गरी साना तथा ठूला होटलहरु क्रमशः खुलिरहेका छन् । चितवनका प्रमुख बजार नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनीमा पनि एकपछि अर्को होटलहरु खुल्नेक्रम जारी छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पर्यटकीय प्रमुख गन्तव्य चितवनका होटलमा निजी क्षेत्रले २० अर्ब लगानी गरेको बताउनुभयो । उहाँका अनुसार पर्यटन वर्ष २०२० लाई लक्षित गरी चितवनमा साना तथा ठूला होटल खुल्नेक्रम जारी छ ।
सौराहामा मात्र सात अर्ब लगानी
जंगल सफारीको लागि देशकै पहिलो गन्तव्य बनेको चितवनको सौराहाका होटलमा सात अर्ब लगानी छ । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहा क्षेत्रमा साना लगानी बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सौराहाको क्षेत्र बढाइने योजना बनिरहेको छ, त्यसको लागि निजी क्षेत्र होटलमा लगानी गर्न आकर्षित भइरहेका छन् ।
सौराहा क्षेत्र फराकिलो पार्दै लोथरसम्म पु¥याउने योजनालाई अगाडि बढाइएको चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रेटर सौराहाको अवधारणालाई अगाडि बढाइएको छ ।’
व्यवसायीहरु सौराहाको क्षेत्र फराकिलो हुनसाथ अझ लगानी बढ्नेमा विश्वस्त छन् । चितवनमा आउने ७० प्रतिशत सौराहा पुग्ने गरेका छन् । सौराहामा मात्र १५० भन्दा बढी साना तथा ठूला होटलहरु छन् । करीब ३५ प्रतिशत वनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउनकै लागि बर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन् ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो । सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । क्षेत्रीय होटल व्यवसायी संघका अनुसार गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए ।
मेघौलीमा पनि लगानी बढ्यो
संघीय सरकारको एक सय पर्यटकीय गन्तव्यमा चितवनको मेघौली नपरे पनि प्रदेश ३ सरकारले उत्कृष्ट पर्यटकीय क्षेत्र घोषणामा मेघौलीलाई पारेको छ । योसँगै मेघौलीमा थप सुविधा सम्पन्न पर्यटकीय होटलमा लगानी बढिरहेको छ । पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले मेघौलीका होटलमा निजी क्षेत्रको साढे तीन अर्बको लगानी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेघौलीमा होटलमात्र होइन, होमस्टे खुल्नेक्रम पनि बढेको छ, साना ठूला गरी मेघौलीमा एक दर्जन होटलहरु सञ्चालनमा छन् ।
चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको मेघौली नारायणी र राप्तीको दोभानमा रहेकाले जङ्गल सफारी र सूर्यास्त अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायीहरू लगानी गर्न आकर्षित भएका हुन् ।
पोखराको होटल बाराहीले यसअघि नै मेघौलीमा होटल सञ्चालनमा ल्याइसकेको छ । चौधरी गु्रपको मेघौली सेराई ताज सफारी सञ्चालन गरेको छ । यसका अलवा मेघौली रिसोर्ट, गोलाघाट रिसोर्ट, होटल सराईलगायतका १५ भन्दा बढी पर्यटकीय होटल यहाँ छन् । नयाँ होटल स्थापनाका लागि व्यवसायीहरूको जग्गा खरिद गरेका पर्यटन विकास समितिका महासचिव सुवेदी बताउनुहुन्छ ।
सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको व्यवसायीहरु बताउँछन् ।
पटिहानीमा पनि होटल थपिए
संघीय सरकारको एकसय पर्यटकीय गन्तव्यभित्र परेको पटिहानीमा पनि होटल थपिएका छन् । होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष कमल शर्माले पटिहानीमा पनि होटलहरु खुल्ने क्रम बढेको बताउनुभयो । उहाँले पटिहानीमा होटलमा मात्र चार अर्बको लगानी रहेको बताउनुभयो । उहाँका अनुसार पटिहानीमा १५ भन्दा बढी होटलहरु छन् ।
पटिहानीमा ६ वटा ठूला होटल छन् । जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन् । अरु साना पर्यटकीय होटल पनि उत्तिकै संख्यामा रहेका छन् । थ्री स्टार लेभलका होटलमा ९८ बेड क्षमताको नारायणी सफारी रिसोर्ट, ६८ बेड क्षमताको कसरा रिसोर्ट, ५५ बेड क्षमताको जंगल भिल्ला रिसोर्ट, ५८ बेड क्षमताको जगतपुर लज, ६५ बेड क्षमताको टाइगर ल्यान्ड होटल रहेका छन् ।
साना ठूला बैठक, वार्षिकोत्सव, अधिवेशन हुँदै विभिन्न चाडपर्वमा इष्टमित्र, साथीभाइ र कर्मचारीबीचमा होटलमा बसेर खाजा खाना खाने चलन पनि बढेको छ । विदेशीसँगै आन्तरिक पर्यटक घुमफिर गर्न आउने प्रचलन पटिहानीमा बढिरहेको व्यवसायीहरु बताउँछन् ।
पटिहानीमा ‘रिभरसाइट रोयल गार्डेन रिसोट’ (आरआरजीआर) मा सार्क सम्मेलन गर्न मिल्ने गरी सुविधासम्पन्न सात भिल्ला सहितको होटल निर्माणाधीन छ । पटिहानी क्षेत्रमा रु पाँच करोड लागतमा थारु सङ्ग्रहालय, रु दुई करोड ५० लाख लागतमा ‘सन सेट भ्यू प्वाइन्ट विथ अम्ब्रेला स्ट्रिट’ निर्माण हुँदैछ । यस्तै मौलिकता जगेर्ना गर्न ‘थारु कल्चरल भिलेज थारु सांस्कृतिक गाउँ)’ बनाउने योजना बनेको छ ।
सिटीमा पनि होटल बढ्दै
चितवनको प्रमुख पर्यटकीय गन्तव्यमा मात्र होइन, भरतपुर, नारायणगढ क्षेत्रको सिटीमा पनि होटल खुल्नेक्रम बढेको छ । होटल व्यवसायी विकास सापकोटाले दुई करोडको लगानीमा भरतपुरको मालपोतचोक अगाडि आहार स्पाइसी किचेन एण्ड रेष्ट हाउस सञ्चालनमा ल्याउनुभएको छ ।
उहाँले पत्रकार सम्मेलन गरी चितवनमा होटलको संख्या बढिरहेको समयमा सिटीमा आफूले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेको बताउनुभयो ।
११ वटा एयर कण्डिसन लजिङ रुम, फास्टफुड तथा बारसमेत भएको यस होटलका सम्पूर्ण रुमहरु एटेच बाथरुमसहितका सानदार छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटल निर्माण गरिएको सञ्चालक सापकोेटाले बताउनुभयो । उहाँका अनुसार होटलमा २० जनाले रोजगार पाएका छन् ।
होटल व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष केशव हडखोलेले चितवनमा होटल खुल्ने क्रममा आहार स्पाइसी किचेन एण्ड रेष्ट हाउस नयाँ भिजनका साथ गुणस्तरीय सेवा सुविधा प्रदान गर्न आएको बताउनुभयो । उहाँले चितवनको सिटीहरुमा पनि होटल खोल्ने क्रम बढेको बताउनुभयो ।
चितवनको हालसम्मको ठूलो होटल ४० करोडभन्दा बढी लगानीमा भरतपुर यज्ञपुरीमा होटल ग्यालेक्सी निर्माणको क्रममा रहेको छ । दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको यस होटल अन्तर्राष्ट्रिय मापदण्डलाई टेकेर निर्माण गरिँदैछ । भरतपुर महानगरपालिका–१ ठिमुरामा ठिमुरा रिभरसाइड रिसोर्ट बनिरहेको छ । यसबाहेक चितवनका विभिन्न ठाउँमा साना तथा ठूला होटलहरु खुलिरहेका छन् ।
चितवनमा दुई सय बढी पर्यटकीय होटलहरु रहेका छन् । चितवनको थारु संस्कृति हेर्न, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, पवित्र तीर्थस्थल देवघाट, सिराइचुलीलगायतका पर्यटकीय ठाउँ घुम्नका लागि यहाँ बर्सेनि दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज विश्व पर्यटन दिवस मनाइँदै
पर्यटन बोर्डअगाडि अपाङ्गता भएका व्यक्तिको प्रदर्शन
लयमा फर्कियाे इलामको पर्यटन, पर्यटकको सङ्ख्यामा वृद्धि
लयमा फर्किन थाल्यो पर्यटन व्यवसाय
पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव हुने
पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव