राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको जनाउनुभएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताउनुभयो ।
सरकारले मधेशी आदिवासी, जनजाति र पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
उहाँले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो । समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभयो ।
प्रदेश नं २ का प्रदेश सभा सदस्य एवम् राजपा पार्टीका महासचिव मनिस सुमनले मधेश आन्दोलमा शहीद भएकाको सपना पूरा गर्न राजपा नेपाललाई उपनिर्वाचनमा जिताउनुपर्ने बताउनुभयो । यही मङ्सिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदैछ । (रासस)
प्रतिक्रिया दिनुहोस