'जनचेतना एवं पुर्वाधारको अभावमा ‘खुल्ला दिशामुक्त क्षेत्र’ घोषणा नारामै सिमिति'

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १३ : ०२
'जनचेतना एवं पुर्वाधारको अभावमा ‘खुल्ला दिशामुक्त क्षेत्र’ घोषणा नारामै सिमिति'


काठमाडौँ । आज ‘सातौं विश्व शौचालय दिवस’ । विश्व भरि नै मनाईएको यो दिवश आज नेपालमा पनि मनाईएको छ । मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका छन् ।

दिवसकै अवसरमा काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरिसंगै विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।  प्रभातफेरी पछि आयोजित कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । 


नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले वातावरण प्रदुषण हुन नदिन दिसापिसावहरुको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । प्रभातफेरीमा सहभागी भएकाहरुले शौंचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।

नागरिकको स्वास्थ्यको लागि पनि शौचालयको सफाईमा जोड दिनुपर्ने भएकाले घरघरमा शौचालय सफाई गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको छ । सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था गर्न सकेको छैन् ।

राज्यले खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि विभिन्न जिल्लामा करोडौं रकम खर्चिएको छ तर जनचेतना एवं पुर्वाधारको अभावमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा नारामा मात्र सिमिति हुन पुगेको छ । देशका विभिन्न शहरहरुमा पर्याप्त सार्वजनिक शौचालय निर्माणमा सरकारको ध्यान पुग्न नसक्दा अहिले पनि बाटोघाटो तर्फ खुल्ला शौच गरेको देखिन्छ । 


नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुको चर्को समस्या झेल्नु परेको छ ।  विश्वमा सन् २००१ देखि चलेको शौचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ अर्थात् आजको दिनलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्ष ‘शौचालयको प्रयोगमा कोही पनि नछुटाऔँ’ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस