चुनाव

भोलि ६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुने, शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी

मंगलबार, २३ माघ २०७४, १२ : १२
भोलि ६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुने, शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । मुलुकका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा मात्रै राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुने जनाएको छ ।
बुधबार बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सवै व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।  २ नम्बर प्रदेश अरु प्रदेशमा दुई वटाका दरले १२ वटा मतदान केन्द्र तोकेको निर्वाचन आयोगले जनाएको छ ।

‘२ नम्बर बाहेकका अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र बुधबार निर्वाचन हुने आयोगले जनाएको छ । आयोगका अनुसार ३२ सदस्य पदका लागि ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने यो निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोग स्रोतका अनुसार बुधबार निर्वाचन सकिएपछि बेलुकीसम्म परिणाम घोषणा भइसक्नेछ । त्यसपछि शुक्रबार नै राष्ट्रिय सभाको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने र प्रतिनिधिसभामा राजनीतिक दलहरुले प्राप्त गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिटअनुसार नामावली दिन पत्राचार गर्ने आयोगको तयारी छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले ३३ प्रतिशत महिला पुर्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस