राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

एजेन्सी

विहीबार, ३० कार्तिक २०७४, १३ : ०५
राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो , मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।  उहाँले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनमा बताउनुभयो । आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उहाँले पटक पटक पानी पिउनुभयो र त्यति नै पटक उहाँले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाउनुभयो ।  

उहाँ एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा जानुभएको थियो । उहाँले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताउनुभएको थियो ।विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उहाँले दिनुभएको थियो ।

उहाँले आफु पुगेका प्रत्येक स्थानमा त्यहाँका नागरिकले आफू र अमेरिकी नागरिकलाई ठूलो सम्मान र सद्भाव दर्साएको अनुभव पनि सो अवसरमा व्यक्त गर्नुभयो ।  साथै ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उहाँले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ ।
 
सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आपूmले निकालेको पनि उहाँले बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान गर्नुभएको थियो । त्यसपछि भने उहाँ उत्तरको निकै आलोचक बन्नुभयो ।  
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदमा गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो ।

सो आग्रहपछि राष्ट्रपति चिनफिङले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताउनुभएको समाचारमा जनाइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भन्नुभएको थियो– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।  बिहीबार उहाँहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्नुभएको बताइएको थियो ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । उहाँहरुबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस