शिक्षा नीतिमा सुधार आवश्यकः अध्यक्ष प्रचण्ड

रासस

शनिबार, ०९ कार्तिक २०७६, २१ : ११
शिक्षा नीतिमा सुधार आवश्यकः अध्यक्ष प्रचण्ड

फाईल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि शिक्षा नीतिमा व्यापक सुधार आवश्यक रहेको बताउनुभएको छ ।  

चन्द्रागिरि नगरपालिका–१५ तीनथानमा आज आयोजित ‘वडाध्यक्ष शौक्षिक विकास कोषको दोस्रो वार्षिक उत्सव तथा साधारणसभा’को उद्घाटन कार्यक्रममा उहाँले शिक्षामा बजेट पर्याप्त नभएकाले शिक्षाको नीतिमा आमूल सुधार गर्न नसकिएको बताउनुभयो । “हामीले देशको शिक्षा प्रणालीलाई वैज्ञानिक तवरबाट आयआर्जन र विकासमुखी बनाउनकै लागि शिक्षामा पर्याप्त लगानी आवश्यक छ, देशको विकास र सुधार शिक्षाबाटै हुन्छ, नीतिगत सुधार र बजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धितर्फ उन्मुख हुने निश्चित छ,” अध्यक्ष दाहालले भन्नुभयो । 

अध्यक्ष दाहालले विरोधीहरु पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहको भन्दै एकताको रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको उल्लेख गर्नुभयो । सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको उहाँको भनाइ थियो ।  

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्ने बताउनुभयो । “हामी आफैले ल्याएको व्यवस्थाको रक्षा र कार्यान्वयन गर्न  गम्भीर हुनुपर्छ,” उहाँले भन्नुभयो । चन्द्रागिरि नगरपालिका–१५ का वडाध्यक्ष उत्तमबहादुर राउतले प्राप्त उपलब्धिलाई संस्थागत गर्न अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका १५ जना, एसइईमा उत्कृष्ट अङ्क ल्याउने तथा खेलकूदका माध्यमबाट  महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस