प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

शनिबार, ०९ कार्तिक २०७६, १३ : ०३
प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताउनुभयो ।
 
प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उहाँले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भन्नुभयो । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उहाँले नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसका पालामा भएको दाबी गर्नुभयो । अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
युनियनले गत वर्षबाट काग तिहारका दिन सेलरोटी खाएर शुभकामना आदान–प्रदान गर्न शुरु गरेको हो । कागलाई सन्देश वाहकका रुपमा लिइँदै आइएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस