त्यतिबेला ओली र म मुर्ख थियौं : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १७ : ०५
त्यतिबेला ओली र म मुर्ख थियौं : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली मुर्ख भएको बताएका छन् ।

शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता हुन्छ भन्ने नै धेरैले पहिला नपत्याएको भन्दै आफू र केपी ओली त्यतिबेला मुर्ख भएर हाम्फालेपछि मात्रै सम्भव भएको बताएका हुन् । 

‘दुइजना मुर्ख कमाण्डर मिल्यौँ । दुईजना मुर्खले हामफाल्दियौं । त्यसलाई सबैले मानिदिए । एउटा मुर्ख केपी ओली एउटा मुर्ख म । हामीले दायाँबायाँ नसोचेर यो नै राष्ट्रवादको आवाश्यक्ता हो भनेर हामफालियो । एकता भयो,’ प्रचण्डले भने । 

उनले केपी ओली, प्रचण्ड र ईश्वर पोखरेल के हुन् भन्ने कार्यकर्ताले बुझ्नुपर्ने पनि बताए । उनले नयाँ प्रकृयाबाट कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने आकांक्षामा आफूहरु रहेको भन्दै समाजवादको आधार निर्माण गर्ने सबैको साझा लक्ष्य भएको बताए ।

उनले पार्टी एकता प्रकृयाले पूर्णता पाउन केही ढिलाइ भएको स्वीकार पनि गरे । ‘प्रधानमन्त्री केपी ओलीजी र म २–४ घण्टा केन्द्रीत भएर काम गर्न सक्यौँ भने टुङ्ग्याउछौँ,’ प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस